कैलालीमा आफ्नै उम्मेदवार हराउन कांग्रेस नेता- कार्यकर्ताले ‘प्रेम आलेबाट पैसा लिएको’ कुराले खैलाबैला « Khabarhub

कैलालीमा आफ्नै उम्मेदवार हराउन कांग्रेस नेता- कार्यकर्ताले ‘प्रेम आलेबाट पैसा लिएको’ कुराले खैलाबैला

प्रेम आले भन्छन् : निराधार आरोप, कांग्रेसले छानबिन थाल्दै


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलाली क्षेत्र नं. ५ मा फागुन २१ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन पैसाको चलखेल गरिएको सार्वजनिक भएसँगै आरोप-प्रत्यारोप सुरू भएको छ।

कैलाली ५ मा अहिले फागुन २१ को निर्वाचनमा पराजित दुवै उम्मेदवारबीच विवाद चर्किएको हो । कांग्रेस उम्मेदवार नरनारायण शाह ‘मनु’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेम आलेबीचको वाकयुद्धले नयाँ रूप लिएको हो ।

कैलाली-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्दले शाह र आलेलाई पराजित गरेका थिए । चन्दले कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गरेका थिए ।

यस्तोमा लज्जास्पद हार व्यहोरेका कांग्रेस उम्मेदवार शाह र नेकपा उम्मेदवार आलेबीच वादविवाद भएको हो । आलेले आफूलाई हराउन लागेका कांग्रेस नेता-कार्यकर्ताको सूची बुझाएको विवरण सार्वजनिक गरिदिने शाहले बताएसँगै वादविवादले नयाँ रुप लिएको हो । शाहको उक्त भनाइलाई चुनौती दिँदै आलेले हुँदै नभएको कुराबारे बोलेको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा आर्थिक चलखेल भएको आरोपलाई लिएर कांग्रेस र नेकपाबीच तीव्र विवादको कारण हो, कांग्रेसका उम्मेदवार नरनारायण शाह ‘मनु’ ले आफ्नै दलका ५७ जना नेता तथा कार्यकर्ताले धोका दिएको भनेर सार्वजनिक गरेको भनाइ ।

नेकपा उम्मेदवार आलेसँग पैसा बुझेको सूची प्राप्त भएको दाबी शाहले गरेपछि त्यहाँको राजनीतिक वृत्त तरंगित भएको छ। तर यता आलेले त्यसलाई ‘भ्रामक, कपोलकल्पित र आधारहीन’ भन्दै कडा प्रतिवाद गरेका छन् । आलेले प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै झुटो कुरा फैल्याउनेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

शाहको आरोप के थियो ?

निर्वाचनपछि सामाजिक सञ्जालमा सार्वजनिक अन्तर्वार्ता तथा कुराकानीका क्रममा कांग्रेसको प्रदेश महामन्त्रीसमेत रहेका शाह ‘मनु’ ले यसबारे बोलेका थिए ।

‘जो उम्मेदवार तेस्रो स्थानमा आएका थिए, उहाँले मलाई एउटा सूची नै बुझाउनुभयो । ‘तपाईंप्रति मेरो सद्भाव छ’ भन्दै ‘तपाईंका यी मान्छेले मबाट आर्थिक सहयोग लिएका हुन्’ भनेर नाम दिनुभयो’, उनले भनेका थिए ।

आइतबार सार्वजनिक भएको मनुको उक्त अभिव्यक्तिमा जिम्मेवार पद (कांग्रेसको) मा रहेका ५७ जनाले पैसा खाएको सूची आफूसँग रहेको बताएका थिए ।

‘एउटा गजबको कुरा के छ भने जो चुनाव पराजित हुनु भएको थियो, तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले मलाई एउटा लिस्ट नै दिनुभयो’ मनुले भनेका थिए, ‘तपाईंप्रति मेरो सद्भाव छ, सुभेक्षा सधैँ रहिरहने छ । तपाईंका यी यी मान्छेले मसँग थोराबहुत आर्थिक सहयोग लिएका हुन् । तपाईं आइन्दा यी मान्छेबाट सतर्क रहनुहोला । त्यसमा गजबको कुरा के छ भने ५७ जना मान्छेहरू जिम्मेवार पदमै रहेका छन् ।’

शाहले आलेबाट प्राप्त उक्त सूचीका अधिकांश व्यक्ति कांग्रेसकै विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ता रहेका दाबी गरेका थिए । उनले ५७ जनाको नामावली प्राप्त भएको स्पष्ट दाबी गरे पनि सार्वजनिक गरेका थिएनन् । शाहले यो कुरा निर्वाचन मतपरिणाम सार्वजनिक भएपछि बाहिर ल्याएका थिए ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ को मतपरिणाम :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबहादुर चन्द : ३१,९५३ मत (विजयी)
नेपाली कांग्रेसका नरनारायण शाह ‘मनु’ : ११,९५८ मत (दोस्रो)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रेमबहादुर आले : ७,८७६ मत (तेस्रो)

आलेको प्रतिवाद

उता नेकपा नेता आलेले शाहद्वारा सार्वजनिक गरिएको उक्त विवरणलाई पूर्णतः असत्य भनेका छन् ।

‘म विगत २०६४, २०७०, २०७४ र २०७९ मा डोटीबाट उम्मेदवार हुँदै आएको व्यक्ति हुँ । कैलाली क्षेत्र नं. ५ मा उम्मेदवारी दिए पनि यहाँका कांग्रेसका स्थानीय नेताहरूसँग मेरो सामान्य चिनजानसमेत न्यून छ’, उनले भनेका छन्, ‘यस्तो अवस्थामा ५७ जनाको नामावली उपलब्ध गराएको भन्ने कुरा शतप्रतिशत झुटो हो ।’

आलेले अगाडि भनेका छन्, ‘जनताको फैसला सम्मान गर्दै निर्वाचित उम्मेदवारलाई बधाई दिइसकेको छु । तर विपक्षी उम्मेदवारबाट मेरो चरित्र हत्या गर्ने उद्देश्यले मनगढन्ते प्रचार गरिएको छ । यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको वा नामावली बुझाएको प्रमाण छ भने तत्काल सार्वजनिक गर्न चुनौती दिन्छु । अन्यथा यस्ता झुटा आरोप फैलाउनेहरूमाथि कानुनी उपचारको बाटो अपनाउन बाध्य हुनेछु ।’

आलेले शाहको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार’ भन्दै कडा शब्दमा भर्त्सना गरेका छन् । उनले सत्य–तथ्य बाहिर ल्याउन र जनतामा भ्रम नफैल्याउन पनि भनेका छन्।

कांग्रेसको प्रतिक्रिया

नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समितिले यसबारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सभापति नारायणदत्त भट्टले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचनअघि नै पार्टीले उम्मेदवारलाई विजयी बनाउन र समानुपातिक मत बढाउन निर्देशन दिएको थियो । पराजयको कारण, अनुभव र आगामी रणनीतिसहितको प्रतिवेदन पेश गर्न समेत निर्देशन दिइसकेका छौं ।’

भट्टले शाह ‘मनु’लाई कांग्रेस नेता-कार्यकर्तामाथि नै पैसा लिएको भनेर लगाएको आरोपबारे स्पष्ट पार्न र जिम्मेवारी लिन आग्रह गरेका छन् । कांग्रेसले क्षेत्र नं. ५ मा आर्थिक लेनदेनसम्बन्धी आरोपलाई पार्टीको आन्तरिक छानबिनको विषय बनाउने तयारी गरेको छ।

विवाद

यो विवाद निर्वाचन सम्पन्न भएको दुई सातापछि सामाजिक सञ्जालमा फैलिएको हो । शाह ‘मनु’ले आफ्नो पराजयको मुख्य कारण आन्तरिक आर्थिक चलखेल भएको दाबी गरेसँगै विवाद सतहमा आएको हो । तर उता आलेले भने यसलाई आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्र भएको बताएका छन् ।

दुवै पक्षले एकअर्कालाई चुनौती दिइरहेका बेला स्थानीय राजनीतिक वृत्तमा तनाव बढेको छ । कांग्रेस जिल्ला नेतृत्वले अब छानबिन प्रक्रिया अघि बढाउने र आन्तरिक जिम्मेवारी निर्धारण गर्ने बताएको छ । उता आलेले प्रमाण नभए कानुनी कारबाहीमा जाने अडान लिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : ३६ बजे

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई