फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन « Khabarhub

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन् । अझ स्पष्ट भन्नुपर्दा खलनायक जति शक्तिशाली हुन्छ नायक त्यही अनुसार दर्शकका नजरमा महान् हुन्छ ।

अझ नेपाली फिल्म क्षेत्रमा खलनायक सधैँ ओझेलमा पर्छन् । फिल्म हिट हुँदा एकरुपमा नायक–नायिकाको चर्चा हुन्छ । फिल्ममा नायक–नायिकालाई सताउने कारण खलपात्रहरू दर्शकले आदर्शको रुपमा हेर्दैनन् । रिलको प्रभाव वास्तविक जीवनमा खेप्ने खलकलाकारहरू पनि छन् ।

अर्थात्, रिलमा देखिनेको उनीहरूको क्रुरता, अपराध र बेइमानी केही दर्शकलाई वास्तविक लाग्छ । सोहीकारण उनीहरू वास्तवमा देख्दा डराएको घटनाहरू पनि छन् । यसलाई दुई अर्थ लगाउन सकिन्छ ।

पहिलो– उनीहरूको जीवन्त अभिनय । दोस्रो– सामाजिक प्रतिष्ठामा नकारात्मक प्रभाव । अर्थात्, कलाकारिताको कारण केही दर्शक भ्रममै परे पनि उनीहरूको सामाजिक प्रतिष्ठामा प्रश्न उठ्यो ।

हुन पनि डेढ दशकअघि नेपाली फिल्मका खलनायकहरू पर्दामा डरलाग्दा देखिन्थे । डरलाग्दो कद, डरलाग्दो हेराइ, अनुहारको बनावट, अस्वभाविक हाँसो र डर लाग्दाे शारीरिक हाउभाउ उनीहरूको विशेषता हुन्थ्यो ।

नेपाली फिल्मका केही खलनायकलाई अहिले पनि ‘डरलाग्दा खलनायक’ भनेर परिचय दिने गरिन्छ । डेढ दशकअघिसम्म फिल्ममा तिनै डरलाग्दा खलनायकको रजगज थियो । फिल्ममा दोहोरिरहन्थे । अहिले भने उनीहरू फिल्मबाट टाढिएको जस्तो देखिन्छ ।

खलनायकहरू मध्ये पछिल्लो समय अलि सक्रिय सुनील थापा ‘राते काइला’ थिए । उनको केही महिनाअघि निधन भयो । निधनपछि पनि उनका दुई फिल्म ‘राम नाम सत्य’ र ‘पहाड’ प्रदर्शनमा आए । जुन हलमा प्रदर्शनरत छन् ।

के गर्दैछन् खलनायकहरू ?

पछिल्लो डेढ दशकयता नेपाली फिल्म निर्माणको धार परिवर्तन भए । यर्थाथवादी, आर्ट र कमेडी फिल्महरू बजारमा हाबी भएपछि खलनायकहरू पर्दामा देखिन छाडे । उनीहरूका समकालीन नायकहरू पनि फिल्मबाट टाढिए । पछिल्लो समय आफूहरूलाई फिल्मबाट प्रस्ताव आउन कम भएको बताउँछन् ।

राजीव मानन्धर ‘टार्जन’ : शारीरिक बनावट कारण ‘सबैभन्दा डरलाग्दो देखिने’ खलनायक राजीव मानन्धर सामाजिक सञ्जालमा कम सक्रिय छन् ।

उनी कोरानाकाल अघिको १२ वर्ष भारतमा फिल्मको कामले नै व्यस्त रहेको बताउँछन् । भोजपुरी, मराठी र दक्षिण भारतीय फिल्ममका कलाकारकै रुपमा आफूले काम गरेको उनले खबरहबलाई बताए ।

कोरोनाका कारणले नेपालमा रोकिएपछि भारतीय फिल्ममा पनि काम नगरेको बताउँछन् ।

नेपाली फिल्मबाट उनलाई पनि प्रस्ताव आउन कम भएको छ । तर, शून्य नै भने होइन । काम माग्न नजाने बानी र पारिश्रमिक चित्त नबुझ्दा नेपाली फिल्म नगरेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘आफैँ काम माग्न जाने मेरो कहिल्यै बानी बसेन । अहिले आएर झन् त्यो गर्ने कुरा नै भएन । अहिले नेपाली फिल्मबाट प्रस्ताव कम आउँछ । आएको प्रस्तावमा पनि पारिश्रमिकको कुरा मिल्दैन । सोहीकारण म नेपाली फिल्ममा कम देखिएको हुँ ।’

टार्जनको अभिनय रहेको फिल्म ‘नरसिंहा : अवतार’ हो । जुन गत वर्षको जेठमा प्रदर्शनमा आएको थियो । अहिले भने पारिवारिक कारणले प्रस्ताव आएको फिल्ममा पनि काम नगरेको उनीले बताए ।

सुशील पोखरेल : फिल्ममा कम देखिएकाले आफू विदेश पलायन भएको भ्रममा समेत केही दर्शक रहेको पाउँछन् । तथापि, आफू निरन्तर फिल्मकै काममा व्यस्त भएको बताउँछन्, तर फरक जिम्मेवारीमा ।

उनले भर्खरैको एक कार्यक्रममा पत्रकारहरूसँगको कुराकानीमा भनेका छन्, ‘यो क्षेत्रबाट टाढिएको भन्दिनँ । यो बाहेक मेरो काम व्यवसाय, उद्योग, जागिर केही नै छैन । सुरुदेखि अहिलेसम्म म सिनेमामा नै आश्रित छु । काम पाइरहेको छु त्यसकारण बाँचेको छु । तर, पर्दामा देखिने सवालमा कम भएको पक्कै हो । दर्शकले नदेखेपछि हराएछ वा छोडेछ भन्ने स्वभाविक नै हो ।’

अभिनयबाहेक पनि फिल्ममा जोडिएरै काम गरिरहेको उनी बताउँछन् ।

तथापि, पहिलाका तुलनामा अहिले फिल्ममा अभिनयका लागि प्रस्ताव निकै कम आएको उनी बताउँछन् ।

सुशीलको अभिनय रहेको फिल्म बर्सेनि प्रदर्शनमा आएका छन् । तर, उनको सहायक र छोटो भूमिकामा सीमित देखिन्छन् ।

मुकुन्द श्रेष्ठ : ०८१ सालमा १२ वर्षपछि मुकुन्द श्रेष्ठलाई पर्दामा फर्किए । १२ वर्षको विश्रामपछि उनले फिल्म ‘लाज शरणम्’ गरेका थिए । मुकुन्द कुनै समय पोस्टरमा अनुहार राख्दा फिल्म चल्ने स्टारडम भएका नायक हुन् ।

तर, एकै ढर्राका फिल्महरू बन्ने र त्यसबाट दर्शक वाक्क भएको महसुस भएपछि ‘कोहिनूर’पछि उनी पर्दाबाट टाढा भए ।
त्यो, समयमा आफू पूर्वमा व्यवसायिक कृषिमा आबद्ध भएको बताउँछन् ।

विश्राममको समयमा पनि उनको कलाकार सिताराम कट्टेल ‘धुर्मुश’सँग एक आयुर्वेद चिकित्सालयमा भेट भइरहन्थ्यो ।

धुर्मुशले उनलाई भन्थे, ‘एक फिल्म बनाउने तयारीमा छु । तपाईंले अभिनय गरिदिनुपर्छ ।’

सोहीकारण पनि धुर्मुशका भाइ कुमारले डेब्यू निर्देशन रहेकै फिल्म ‘लाज शरणम्’मा उनले अभिनय गरे ।

धुर्मुशकै कारण मात्रै उनी १२ वर्षपछि पर्दामा फर्किएका होइनन् । उनी भन्छन्, ‘पृथक कथा र च्यालेन्जिङ रोल भएकाले फिल्म गरेको हो । पछिल्लो समय फिल्म निर्माण व्यवसायिक र ढर्रा परिवर्तन भएको छ ।’

यो बीचमा फिल्मको प्रस्ताव आए पनि तर कथावस्तु मन नपरेर तयार नभएको बताए । उनले भने, ‘पुरानो ढर्राको फिल्म गर्दिनँ भनेरै बसेको हो । बरु पेसा परिवर्तन गरेँ ।’

४० वर्षे अभिनय करिअरमा पहिलो पटक ‘लाज शरणम्’मा वर्कसप लिएको उनको पृथक अनुभव पनि हो । अहिले उनी अर्को फिल्म ‘सन्तान’मा अनुबन्ध भएका छन् ।

राजेन्द्र खड्गी : अनुहार र शारीरिक बनावटकै कारण क्रुर र शक्तिशाली देखिने खनलायक राजेन्द्र खड्गी हुन् ।

सबैभन्दा बढी चर्चित खलनायकको सूचीमा पनि उनी शीर्षस्थान तिरै पर्छन् । तर, पछिल्लो ६ वर्षदेखि उनी फिल्ममा देखिएका छैनन्, चर्चामा भने रहेकै छन् । अर्थात्, भाइरल छन् । यौनका कुरा गरेका अन्तर्वार्ताले भाइरल बन्दा उनी दर्शकबाट टाढिएका छैनन् ।

मुकुन्द थापा : लामो समय फिल्मबाट टाढिने खलनायक मुकुन्द हुन् । अजंगको शरीर, लामो कपाल र डरलाग्दो हेराइले क्रुर देखिने खलनायक मुकुन्द दर्शकसँग टिकटकबाट जोडिइरहेका छन् । कुमुन्द अहिले हजुरबुबा भइसके । नाती र उनको टिकटक बेलाबेला चर्चामा आउँछ ।

फिल्मबाट टाढिए पनि मुकुन्द दर्शकबाट टाढिएका छैनन् । एक अन्तर्वार्तामा उनले आफूलाई फिल्मबाट प्रस्ताव आउनै कम भएको बताएका थिए । फिल्म निर्माणको धार परिवर्तन भएकाले आफ्नो डिमान्ड घटेको उनी स्वीकार गर्छन् ।

उनी भन्छन्, ‘हामीहरू फिट हुने सिनेमा बनेका छैनन् । बन्न लागेपछि प्रस्ताव आउँलान् ।’

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : ४९ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा