काठमाडौं– अभिनेता सौगात मल्लले पर्दामा एउटै पात्रको २५ वर्षदेखि ८० वर्षसम्मको जीवन यात्रा प्रस्तुत गर्ने भएका छन् ।
निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ मा सौगातले यस्तो चुनौतीपूर्ण भूमिका निभाउन लागेका हुन्।
विराटनगरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ। एक्सन र ड्रामालाई मुख्य आधार बनाइएको फिल्मलाई निर्देशक सौरभ चौधरीले ठूलो क्यानभासमा निर्माण गर्ने तयारी गरेका छन् ।
फिल्मको छायांकन ७० दिनमा सक्ने लक्ष्य राखिएको छ भने अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ।
फिल्ममा सौगातसँगै दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा छन् ।
विशेषगरी सौगातको चरित्र फिल्मको महत्वपूर्ण आकर्षण बन्ने देखिएको छ । निर्देशक चौधरीका अनुसार एउटै पात्रको युवावस्थादेखि वृद्धावस्थासम्मको जीवन पर्दामा उतार्नुपर्ने भएकाले उनको भूमिका निकै चुनौतीपूर्ण हुनेछ ।
‘द राइज अफ साम्राज्य’ निर्देशक चौधरी र दयाहाङ राईको पहिलो सहकार्यसमेत हो । दुवैको पहिलो सहकार्य भएकाले फिल्मलाई लिएर थप चासो देखिएको छ ।
अर्कोतर्फ, सुशील श्रेष्ठसँग भने चौधरीको करिब ६ वर्षपछि पुनर्मिलन भएको हो। यी दुईले यसअघि चौधरीको निर्देशनमा बनेको फिल्म ‘लभ डायरीज’ मा सँगै काम गरेका थिए ।
फिल्मको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन फिल्म बनाउने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा प्रवेश चौधरी र निलादेव निर्माता छन् भने विश्वास बस्नेत सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। ठूलो कलाकार समूह, एक्सनप्रधान कथावस्तु र सौगातको लामो उमेर अवधिको चरित्रका कारण ‘द राइज अफ साम्राज्य’ ले नेपाली फिल्ममा फरक किसिमको प्रस्तुति दिने अपेक्षा गरिएको छ।













प्रतिक्रिया