काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ ।
यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको हो ।
टोलीमा पुनः फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको आफ्नो दोस्रो यात्राका लागि आफू तयार रहेको बताए ।
‘सुदूरपश्चिम रोयल्समा पुनः फर्कन पाउँदा म निकै उत्साहित छु। पहिलो संस्करणमा टोलीसँग बिताएको समय र नेपालमा पाएको अनुभव विशेष थियो। फेरि यही टोलीबाट एनपीएल खेल्ने अवसर पाउनु खुसीको कुरा हो। टोलीलाई राम्रो नतिजा दिलाउन आफ्नो तर्फबाट सक्दो योगदान गर्नेछु’ म्याकमुलेनले भने ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले म्याकमुलेनलाई पुनः टोलीमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उनको अनुभव र क्षमताले टोलीलाई थप बलियो बनाउने बताए।
‘ब्रान्डनलाई फेरि सुदूरपश्चिम रोयल्सको परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। उनीसँग पहिलो संस्करणमै टोलीसँग खेलिसकेको अनुभव छ र उनको अलराउन्ड क्षमताले टोलीलाई महत्वपूर्ण योगदान दिने विश्वास लिएका छौं । तेस्रो संस्करणमा पनि उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौ’ खड्काले भने ।
सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुग्लेइन र इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।













प्रतिक्रिया