नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित « Khabarhub

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

नेपालमा ४१ प्रतिशत क्षयरोगी उपचार बाहिर


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष मार्च २४ मा मनाइने यस दिवसले क्षयरोग (टीबी) अन्त्य गर्ने लक्ष्यसहित जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

दिवसको यस वर्षको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ तय गरिएको छ। नेपालमा अझै पनि ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको क्षयरोगबारे जनचेतना, उपचार पहुँच र नियन्त्रण रणनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। सरकारले सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य राखे पनि त्यसका लागि प्रभावकारी कार्यान्वयन, जनचेतना विस्तार, समयमै परीक्षण र नियमित उपचार अत्यावश्यक रहेको विज्ञ बताउँछन्।

नेपालमा क्षयरोगको अवस्था
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार देशभर हरेक वर्ष झन्डै ६७ हजार नयाँ क्षयरोगी थपिने गरेका छन्। तर कुल अनुमानित बिरामीमध्ये करिब ४१.६ प्रतिशत अर्थात् २७ हजार ८ सय ४९ जना अझै उपचारको दायराभन्दा बाहिर रहेको केन्द्रकी सूचना अधिकारी थुमा पुनले जानकारी दिइन्।

नेपालमा अझै पनि ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको क्षयरोगबारे जनचेतना, उपचार पहुँच र नियन्त्रण रणनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

तथ्याङ्कअनुसार नेपालमा क्षयरोगका कारण वार्षिक करिब १६ हजार जनाको मृत्यु हुने गरेको छ, जसले यसलाई मृत्युको प्रमुख कारणमध्ये एक बनाएको छ। साथै, कुल जनसङ्ख्याको झन्डै आधामा ‘सुसुप्त क्षयरोग’ को सङ्क्रमण रहेको अनुमान गरिएको छ।

महिलाको तुलनामा पुरुष धेरै
गत आर्थिक वर्षमा ३९ हजार १ सय ५१ जना क्षयरोगी उपचारका लागि दर्ता भएका छन्। दर्ता भएका बिरामीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन्। उमेर समूहअनुसार १५ देखि ६४ वर्षका व्यक्ति सबैभन्दा बढी प्रभावित (६८.७ प्रतिशत) देखिएका छन् भने ६५ वर्षमाथिका २५.६ प्रतिशत र १४ वर्षमुनिका ५.६ प्रतिशत बालबालिकामा क्षयरोग देखिएको छ। कुल बिरामीमध्ये ५८.२९ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग (पीबीसी) रहेको पाइएको छ।

औषधि प्रतिरोधी क्षयरोगको चुनौती
क्षयरोगको अर्को गम्भीर पक्ष औषधि प्रतिरोधी (डीआर-टीबी) को समस्या हो। केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हरेक वर्ष करिब २ हजार ४ सय नयाँ डीआर-टीबी बिरामी थपिने अनुमान गरिए पनि तीमध्ये ७३.९ प्रतिशत अर्थात् १ हजार ७ सय ७५ जना अझै स्वास्थ्य प्रणालीको सम्पर्कमा आएका छैनन्। यद्यपि, उपचार सफलता दर भने सकारात्मक छ। सामान्य क्षयरोग (डीएस–टीबी) का बिरामीमा ९२ प्रतिशत र डीआर–टीबीमा ७६ प्रतिशत उपचार सफल भएको केन्द्रले जनाएको छ।

मधेश प्रदेशमा सबैभन्दा धेरै बिरामी
प्रादेशिक रूपमा हेर्दा बिरामी दर्ता सङ्ख्यामा मधेश प्रदेश अग्रस्थानमा छ, जहाँ ९ हजार ५ सय ९६ बिरामी दर्ता भएका छन्। त्यसपछि बागमतीमा ८ हजार ९ सय ३३ र लुम्बिनीमा ७ हजार ८ सय ६२ बिरामी छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ बिरामी भेटिएका छन्। हाल सरकारले देशभर ६ हजार २ सय ४१ डट्स केन्द्र र ३१ डीआर–टीबी उपचार केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रादेशिक रूपमा हेर्दा बिरामी दर्ता सङ्ख्यामा मधेश प्रदेश अग्रस्थानमा छ, जहाँ ९ हजार ५ सय ९६ बिरामी दर्ता भएका छन्। बागमतीमा ८ हजार ९ सय ३३ र लुम्बिनीमा ७ हजार ८ सय ६२ बिरामी छन्।

के हो क्षयरोग?
चिकित्सकका अनुसार क्षयरोग एक किसिमको सूक्ष्म जीवाणुले लाग्ने रोग हो। यो शरीरका विभिन्न अङ्गमा जीवाणुको आक्रमणबाट लाग्ने गर्छ। प्रायः फोक्सोको क्षयरोगबारे धेरैलाई थाहा भए पनि यसले शरीरका अन्य भागमा पनि आक्रमण गर्छ। यो रोग गरिब तथा अल्पविकसित मुलुकमा अझै धेरै देखिएको छ। यसले मृत्युसमेत गराउने भएकाले यसलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा हेरिन्छ।

लक्षण र बच्ने उपाय
लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, साँझपख ज्वरो आउनु र राति अत्यधिक पसिना आउनु क्षयरोगका मुख्य लक्षण हुन्। छाती दुख्ने, भोक कम लाग्ने, तौल घट्ने र थकान महसुस हुने भएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकको सुझाव छ।

नेपाल सरकारले क्षयरोगको औषधि सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउँदै आएको छ। संक्रमित व्यक्तिसँग सम्पर्क हुँदा मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने र पोषिलो आहार सेवन गर्नाले यो रोगबाट बच्न र अरूलाई बचाउन सकिन्छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ८ : २३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको