घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष भेट नभएका आफन्तलाई घरपूजाले भेट जुराएको थियो । घरभरी रौनक थियो । लाखबत्ती बाल्ने, हवन गर्ने र भजन उत्तिकै रमाइलो थियो । रातिको ११ बजेपछि सबैलाई निद्राले गलाउँदै लग्यो । छिमेकी आ–आफ्नो घर गए । नजिकैका आफन्त पनि गए । तर जो टाढाबाट अथवा पहाडतिरबाट आएका पाहुना थिए । उनीहरुलाई सुत्ने बन्दोबस्त गरिएको थियो ।
स-साना केटोकटीसँग आएका पाहुना अर्थात् महिला दिदीबहिनीलाई घरको कोठाकोठामा विस्तारा लगाइएको थियो । पुरुष पाहुनालाई घरको छतमा सुत्ने व्यवस्था गरिएको थियो । कसैलाई गल्लीमा पनि विस्तारा लगाइएको थियो । दाइ र म पाहुनाको सहजताको लागि लागिपर्यौं । सबैको व्यवस्था मिलाएपछि खाली ठाउँ भनेको बैठक कोठा मात्रै रह्यो ।
उक्त कोठामा एउटा सानो लो–बेड थियो । एकजना मात्रै सुत्न मिल्ने । दाइले मलाई भुइँमा आफूलाई विस्तारा लगाइदिन भन्नुभयो । सबैको व्यवस्थापन गर्दागर्दै घडीले १२ बजाइसेकेको थियो । बिहान पनि चाँडै उठ्नुपर्ने भएकाले मैले कति पनि हतार नगरी दाइलाई भुइँमा विस्तारा लगाइदिएँ ।
अब मज्जाले सुत्छु भनेको मेरो मन गरुङ्गो हुँदै गयो । भुइँमा सुतेको दाइ चलबलाउँदा पनि झसङ्ग भएँ । घरको भित्तातिर फर्किएर पल्टेको म सोडा हालेको पिठोभन्दा बढी फुल्न थालेँ । आफ्नै दाइले बलात्कार गरेका समाचार बन्द आँखा अगाडि सलबलाउन थाले । आफ्नै बुवा र काकाले बलात्कार गरेको समाचारले दुःख दिन थाले । आफ्नै दाइमाथि शंकाको घेराले मलाई बैचन बनायो ।
दाइ मज्जाले निदाउँदा म एक झिमिक निदाउन सकिन । करिब साढे ४ बजे दाइ उठेर कोठाबाट निस्कनुभयो । दाइको सधैँ उठ्ने समय त्यही थियो । दाइ निस्केपछि मैले आफूलाई हलुका पाएँ । मनमनै आफैंलाई धिक्कारेँ र माफी मागेँ । देउता जस्तो दाइमाथि शंका गरेँ भन्ने कुराले आत्मा पोल्यो । तर पनि एकैछिनमा निदाएँछु ।
बिहान ७ बजे दाइले चिया लिएर मलाई उठाउन आउनुभयो । दाइले मेरो खुट्टामा हातले स्पर्श गर्दै नानी उठ्, अब उठ् भन्दै हुनुहुनुथ्यो । म विस्तारै उठेँ र चियाको कप समातेँ । मेरो ‘वेड टी’ खाने बानी थियो । त्यही भएर दाइले विस्तारामै ल्याइदिनुभएको थियो । निद्रा त खुल्यो तर मैले रातभर दाइमाथि गरेको शंकाले नजर मिलाउन सकिन ।
सानो छँदा दाइले आमाले भन्दा धेरै हेरचाह गर्नुभयो । मलाई नुहाइदिने, तेल लगाइदिने, कपाल कोरीबाटी गरिदिने, क, ख लेख्न सिकाउने सबै दाइले गर्नुभएको हो । तर त्यही दाइमाथि मनमा पापी शंका उब्जियो । त्यो शंकाले लगभग मलाई बिरामी जस्तो बनायो । शायद यस्तो धेरैलाई हुन्छ ।
बलात्कारसम्बन्धी समाचार आइपुग्ने बित्तिकै हामी घरकै पुरुष सदस्यमाथि दोषारोपण गर्न थाल्छौं । त्यो घटना वा त्यसखाले समाचारले महिलालाई मानसिक रुपमा ठुलो र नकारात्मक प्रभाव पार्छ ।
जब बलात्कार र बलात्कारपछि हत्या भएका घट्ना आउँछन्, तब हामी घरकै पुरुष सदस्य बुवा, दाइ, काका, मामामाथि शंका गर्न थाल्छौँ । बलात्कारसम्बन्धी समाचार आइपुग्ने बित्तिकै हामी घरकै पुरुष सदस्यमाथि दोषारोपण गर्न थाल्छौं । त्यो घटना वा त्यसखाले समाचारले महिलालाई मानसिक रुपमा ठुलो र नकारात्मक प्रभाव पार्छ ।
फागुन २३ गते सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भयो । वीरेन्द्रनगरमा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्ने उनी आफ्नै ‘क्लासमेट’बाटै बलात्कृत मात्र भइनन् ज्यानसमेत गुमाउनु पर्यो । शनिबार छुट्टीको दिन आमालाई झूट बोलेर जुन साथीहरु भेट्न गएकी थिइन् , उनीहरुले नै ज्यान लिए ।
यस घटनापछि अभिभावक ‘छोराहरु’ माथि खनिन थाले । सूचना सरल र सहज पहुँचमा गइरहेको समयमा हरेकसँग मोबाइल हातहातमा छ । कुनै पनि ठाउँमा भएको घटना क्षणभरमा हरेक नागरिककोमा पुग्छ । अझ बलात्कारसम्बन्धी समाचार झनै द्रूतगतिमा फैलिन्छ । इनिसाको घटना घर–घरमा पुग्यो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनको बलात्कारपछि मृत्यु भएको पुष्टि गर्यो । प्रहरीले चारजनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्ने उमेरले १५, १६ र १७ वर्षका रहेका छन् । कानुनतः नाबालक भए पनि कडा भन्दा कडा कारवाहीको माग गर्दै सडकदेखि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
अभियुक्त नाबालक भएका कारणले यो घटनापछि घरघरका छोरामाथि अभिभावकले अर्को प्रहार सुरु गरेको देखिन्छ । भिडियो देखाएर छोरालाई ‘तँ पनि यस्तै हुने होला’, ‘आफ्नै साथीको बलात्कार गर्ने होला’, ‘साथीको लहैलहैमा लाग्दा के हुन्छ देखिस्’ लगायतका गाली फेसबुक तथा टिकटकमा बढी देखिएको छ । यो पनि अर्को हिंसाका स्वरुप हो । यो छोरामाथिको हिंसा हो ।
कतिपय महिला पीडितमाथि नै आरोप लगाएर बसिरहेका देखिन्छन् । तर उत्तिकै पुरुष पीडितको न्यायको लागि सडकमा चिच्याइरहेका हुन्छन् । सदियौंदेखि चल्दै आएको सतीप्रथाले चन्द्रशमशेरको हृदय छियाछिया पारेको थियो । तब न उनले महिलाले बाँच्न पाउनुपर्छ भनेर सतिप्रथाको विरोध गरे । पुरुष हुँदैमा अपराधी करार गर्नु पनि अर्को अपराध हो । जो हामीले गरिरहेका छौँ।
सदियौंदेखि चल्दै आएको सतीप्रथाले चन्द्रशमशेरको हृदय छियाछिया पारेको थियो । तब न उनले महिलाले बाँच्न पाउनुपर्छ भनेर सतिप्रथाको विरोध गरे । पुरुष हुँदैमा अपराधी करार गर्नु पनि अर्को अपराध हो ।
यस्तो किन हुन्छ ?
पितृसत्तात्मक संरचनामा पुरुषलाई बढी स्वतन्त्रता र शक्ति दिइएको छ । अर्को महिलालाई नियन्त्रण र मर्यादाभित्र राख्ने प्रवृत्ति देखिन्छ । धर्म, परम्पराका आधारमा महिलालाई मर्यादामा बाँध्ने गरिदै आएको छ । तर यही संरचनाले पुरुषमा ‘अधिकार सम्पन्न’ को भाव बढाइएको छ । जसले उनीहरुका कतिपय गलत व्यवहारलाई समेत सामान्य बनाइदिएको हुन्छ ।
त्यसैले जब बलात्कारजस्तो अपराध हुन्छ । मानिस सिधै पुरुषतर्फ औंला उठाउन थाल्छन् । अर्को जब यस्ता संवेदनशील र पीडादायक घटना सार्वजनिक हुन्छन् । मानिस भावनात्मक रूपमा आक्रोशित हुन्छन् । त्यो आक्रोश व्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम भनेको पुरुष लक्षित आक्रमण गर्नु हो । के सबै छोरा दोषी हुन् ? पक्कै पनि होइनन् । सबै पुरुषलाई एउटै रूपमा दोष दिनु अन्यायपूर्ण हुन्छ ।
त्यसकारण यो संरचना पुरुषका लागि पनि घातक छ । यसले सकारात्मक सोच भएका र जिम्मेवार पुरुषको योगदानलाई ओझेलमा पार्छ । त्यसैले समस्या पुरुष होइन । समस्या गलत सोच, खराब संस्कार र कानुनी डरको अभाव हो । सचेत गराउने र गर्ने तरिका यो पनि विल्कुल सहि होइन । बलात्कारको घटना प्रायः पुरुषबाटै हुँदै आइरहेको कारणले पनि घरका पुरुष सदस्य यस खालका शंकाको घेरामा पर्छन् ।
तर अपराध लिङ्गले गर्ने होइन, अपराधिक मानसिकता कुनै पनि लिङ्ग भएकोसँग हुन्छ । हामीले बिर्सन नहुने पक्ष के हो भने । बलात्कारपछि हत्या भएका पीडितका पक्षमा सडकदेखि सदनसम्म बुलन्द आवाज उठाउने पुरुषलाई बिर्सन हुँदैन ।
सिकाइको प्रभावकारिता
छोरालाई गाली गरेर बलात्कार कम हुँदैन । जसरी विभिन्न घटनाबाट छोरीलाई जोगिनको लागि सिकाइन्छ । त्यसरी नै अपराध हुन र गर्नबाट छोरालाई पनि सचेत गर्नुपर्छ । यसको लागि परिवार, विद्यालय र समाज सबैले मिलेर काम गर्नुपर्छ ।
घरमै सिकेको व्यवहार नै उत्तम सिकाइ हो । यो सिकाइ जीवनभर रहन्छ । घरभित्र पनि र घरभित्र पनि यो संस्कार जीवित रहन्छ । छोराले सबैभन्दा बढी सिक्ने ठाउँ घर हो । बाबु, दाजु वा घरका पुरुष सदस्यले महिलालाई कसरी व्यवहार गर्छन् । त्यही हेरेर बच्चाले सिक्छ । त्यसैले घरमा व्यवहारमै समानता देखाउनु जरुरी छ ।
छोरालाई गाली गरेर बलात्कार कम हुँदैन । जसरी विभिन्न घटनाबाट छोरीलाई जोगिनको लागि सिकाइन्छ । त्यसरी नै अपराध हुन र गर्नबाट छोरालाई पनि सचेत गर्नुपर्छ ।
छोरालाई सानैदेखि सही संस्कार सिकाउनुपर्छ । अरूको सम्मान गर्ने, महिला र पुरुष समान हुन् भन्ने सिकाउनुपर्छ । घरमा खुला संवादको वातावरण बनाउनुपर्छ । गलत कुरा कहाँबाट सिके भन्ने बुझेर सही जानकारी दिनुपर्छ । समाजमा ‘छोरा रुदैन’ ‘छोराले जे गरे पनि हुन्छ’ जस्ता सोच हाबी छन् । यस्ता सोचले हिंसात्मक व्यवहारलाई बढावा दिन सक्छ । संवेदनशील हुनु कमजोरी होइन भनेर बुझाउन सक्नुपर्छ ।
त्यसैगरी इन्टरनेटमा के हेर्ने र के नहेर्ने भन्ने मार्गदर्शन गर्नुपर्छ । अश्लील सामग्री र हिंसात्मक भिडियोले बालबालिकामा असर पार्छ । वास्तविक जीवन र कल्पनाबीचको फरक बुझाउन आवश्यक छ । अपराध गरेपछि सजाय हुन्छ भन्ने स्पष्ट सन्देश दिनुपर्छ । कानुन र सामाजिक उत्तरदायित्व बुझाउनुपर्छ ।
पीडितलाई दोष दिने संस्कार हटाउनुपर्छ आफैबाट हटाउनुपर्छ । हामी अभिभावक आफै सामाजिक सञ्जालमा पीडकलाई समर्थन गरिरहेका हुन्छौँ । त्यो कुरा बच्चाले सिकिरहेको हुन्छ । समस्या छोरा हुनु होइन । समस्या गलत सोच र कमजोर शिक्षा हो । गाली गरेर होइन, सही शिक्षा, राम्रो उदाहरण र खुला संवादबाट छोरालाई जिम्मेवार, संवेदनशील र असल नागरिक बनाउन सकिन्छ ।













प्रतिक्रिया