के सबै पुरुष ‘बलात्कारी’ हुन् ? « Khabarhub

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

सामाजिक सञ्जालमा बढ्दो व्यभिचार



घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष भेट नभएका आफन्तलाई घरपूजाले भेट जुराएको थियो । घरभरी रौनक थियो । लाखबत्ती बाल्ने, हवन गर्ने र भजन उत्तिकै रमाइलो थियो । रातिको ११ बजेपछि सबैलाई निद्राले गलाउँदै लग्यो । छिमेकी आ–आफ्नो घर गए । नजिकैका आफन्त पनि गए । तर जो टाढाबाट अथवा पहाडतिरबाट आएका पाहुना थिए । उनीहरुलाई सुत्ने बन्दोबस्त गरिएको थियो ।

स-साना केटोकटीसँग आएका पाहुना अर्थात् महिला दिदीबहिनीलाई घरको कोठाकोठामा विस्तारा लगाइएको थियो । पुरुष पाहुनालाई घरको छतमा सुत्ने व्यवस्था गरिएको थियो । कसैलाई गल्लीमा पनि विस्तारा लगाइएको थियो । दाइ र म पाहुनाको सहजताको लागि लागिपर्‍यौं । सबैको व्यवस्था मिलाएपछि खाली ठाउँ भनेको बैठक कोठा मात्रै रह्यो ।

उक्त कोठामा एउटा सानो लो–बेड थियो । एकजना मात्रै सुत्न मिल्ने । दाइले मलाई भुइँमा आफूलाई विस्तारा लगाइदिन भन्नुभयो । सबैको व्यवस्थापन गर्दागर्दै घडीले १२ बजाइसेकेको थियो । बिहान पनि चाँडै उठ्नुपर्ने भएकाले मैले कति पनि हतार नगरी दाइलाई भुइँमा विस्तारा लगाइदिएँ ।

अब मज्जाले सुत्छु भनेको मेरो मन गरुङ्गो हुँदै गयो । भुइँमा सुतेको दाइ चलबलाउँदा पनि झसङ्ग भएँ । घरको भित्तातिर फर्किएर पल्टेको म सोडा हालेको पिठोभन्दा बढी फुल्न थालेँ । आफ्नै दाइले बलात्कार गरेका समाचार बन्द आँखा अगाडि सलबलाउन थाले । आफ्नै बुवा र काकाले बलात्कार गरेको समाचारले दुःख दिन थाले । आफ्नै दाइमाथि शंकाको घेराले मलाई बैचन बनायो ।

दाइ मज्जाले निदाउँदा म एक झिमिक निदाउन सकिन । करिब साढे ४ बजे दाइ उठेर कोठाबाट निस्कनुभयो । दाइको सधैँ उठ्ने समय त्यही थियो । दाइ निस्केपछि मैले आफूलाई हलुका पाएँ । मनमनै आफैंलाई धिक्कारेँ र माफी मागेँ । देउता जस्तो दाइमाथि शंका गरेँ भन्ने कुराले आत्मा पोल्यो । तर पनि एकैछिनमा निदाएँछु ।

बिहान ७ बजे दाइले चिया लिएर मलाई उठाउन आउनुभयो । दाइले मेरो खुट्टामा हातले स्पर्श गर्दै नानी उठ्, अब उठ् भन्दै हुनुहुनुथ्यो । म विस्तारै उठेँ र चियाको कप समातेँ । मेरो ‘वेड टी’ खाने बानी थियो । त्यही भएर दाइले विस्तारामै ल्याइदिनुभएको थियो । निद्रा त खुल्यो तर मैले रातभर दाइमाथि गरेको शंकाले नजर मिलाउन सकिन ।

सानो छँदा दाइले आमाले भन्दा धेरै हेरचाह गर्नुभयो । मलाई नुहाइदिने, तेल लगाइदिने, कपाल कोरीबाटी गरिदिने, क, ख लेख्न सिकाउने सबै दाइले गर्नुभएको हो । तर त्यही दाइमाथि मनमा पापी शंका उब्जियो । त्यो शंकाले लगभग मलाई बिरामी जस्तो बनायो । शायद यस्तो धेरैलाई हुन्छ ।

बलात्कारसम्बन्धी समाचार आइपुग्ने बित्तिकै हामी घरकै पुरुष सदस्यमाथि दोषारोपण गर्न थाल्छौं । त्यो घटना वा त्यसखाले समाचारले महिलालाई मानसिक रुपमा ठुलो र नकारात्मक प्रभाव पार्छ ।

जब बलात्कार र बलात्कारपछि हत्या भएका घट्ना आउँछन्, तब हामी घरकै पुरुष सदस्य बुवा, दाइ, काका, मामामाथि शंका गर्न थाल्छौँ । बलात्कारसम्बन्धी समाचार आइपुग्ने बित्तिकै हामी घरकै पुरुष सदस्यमाथि दोषारोपण गर्न थाल्छौं । त्यो घटना वा त्यसखाले समाचारले महिलालाई मानसिक रुपमा ठुलो र नकारात्मक प्रभाव पार्छ ।

फागुन २३ गते सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भयो । वीरेन्द्रनगरमा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्ने उनी आफ्नै ‘क्लासमेट’बाटै बलात्कृत मात्र भइनन् ज्यानसमेत गुमाउनु पर्‍यो । शनिबार छुट्टीको दिन आमालाई झूट बोलेर जुन साथीहरु भेट्न गएकी थिइन् , उनीहरुले नै ज्यान लिए ।

यस घटनापछि अभिभावक ‘छोराहरु’ माथि खनिन थाले । सूचना सरल र सहज पहुँचमा गइरहेको समयमा हरेकसँग मोबाइल हातहातमा छ । कुनै पनि ठाउँमा भएको घटना क्षणभरमा हरेक नागरिककोमा पुग्छ । अझ बलात्कारसम्बन्धी समाचार झनै द्रूतगतिमा फैलिन्छ । इनिसाको घटना घर–घरमा पुग्यो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनको बलात्कारपछि मृत्यु भएको पुष्टि गर्‍यो । प्रहरीले चारजनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्ने उमेरले १५, १६ र १७ वर्षका रहेका छन् । कानुनतः नाबालक भए पनि कडा भन्दा कडा कारवाहीको माग गर्दै सडकदेखि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

अभियुक्त नाबालक भएका कारणले यो घटनापछि घरघरका छोरामाथि अभिभावकले अर्को प्रहार सुरु गरेको देखिन्छ । भिडियो देखाएर छोरालाई ‘तँ पनि यस्तै हुने होला’, ‘आफ्नै साथीको बलात्कार गर्ने होला’, ‘साथीको लहैलहैमा लाग्दा के हुन्छ देखिस्’ लगायतका गाली फेसबुक तथा टिकटकमा बढी देखिएको छ । यो पनि अर्को हिंसाका स्वरुप हो । यो छोरामाथिको हिंसा हो ।

कतिपय महिला पीडितमाथि नै आरोप लगाएर बसिरहेका देखिन्छन् । तर उत्तिकै पुरुष पीडितको न्यायको लागि सडकमा चिच्याइरहेका हुन्छन् । सदियौंदेखि चल्दै आएको सतीप्रथाले चन्द्रशमशेरको हृदय छियाछिया पारेको थियो । तब न उनले महिलाले बाँच्न पाउनुपर्छ भनेर सतिप्रथाको विरोध गरे । पुरुष हुँदैमा अपराधी करार गर्नु पनि अर्को अपराध हो । जो हामीले गरिरहेका छौँ।

सदियौंदेखि चल्दै आएको सतीप्रथाले चन्द्रशमशेरको हृदय छियाछिया पारेको थियो । तब न उनले महिलाले बाँच्न पाउनुपर्छ भनेर सतिप्रथाको विरोध गरे । पुरुष हुँदैमा अपराधी करार गर्नु पनि अर्को अपराध हो ।

यस्तो किन हुन्छ ?
पितृसत्तात्मक संरचनामा पुरुषलाई बढी स्वतन्त्रता र शक्ति दिइएको छ । अर्को महिलालाई नियन्त्रण र मर्यादाभित्र राख्ने प्रवृत्ति देखिन्छ । धर्म, परम्पराका आधारमा महिलालाई मर्यादामा बाँध्ने गरिदै आएको छ । तर यही संरचनाले पुरुषमा ‘अधिकार सम्पन्न’ को भाव बढाइएको छ । जसले उनीहरुका कतिपय गलत व्यवहारलाई समेत सामान्य बनाइदिएको हुन्छ ।
त्यसैले जब बलात्कारजस्तो अपराध हुन्छ । मानिस सिधै पुरुषतर्फ औंला उठाउन थाल्छन् । अर्को जब यस्ता संवेदनशील र पीडादायक घटना सार्वजनिक हुन्छन् । मानिस भावनात्मक रूपमा आक्रोशित हुन्छन् । त्यो आक्रोश व्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम भनेको पुरुष लक्षित आक्रमण गर्नु हो । के सबै छोरा दोषी हुन् ? पक्कै पनि होइनन् । सबै पुरुषलाई एउटै रूपमा दोष दिनु अन्यायपूर्ण हुन्छ ।

त्यसकारण यो संरचना पुरुषका लागि पनि घातक छ । यसले सकारात्मक सोच भएका र जिम्मेवार पुरुषको योगदानलाई ओझेलमा पार्छ । त्यसैले समस्या पुरुष होइन । समस्या गलत सोच, खराब संस्कार र कानुनी डरको अभाव हो । सचेत गराउने र गर्ने तरिका यो पनि विल्कुल सहि होइन । बलात्कारको घटना प्रायः पुरुषबाटै हुँदै आइरहेको कारणले पनि घरका पुरुष सदस्य यस खालका शंकाको घेरामा पर्छन् ।

तर अपराध लिङ्गले गर्ने होइन, अपराधिक मानसिकता कुनै पनि लिङ्ग भएकोसँग हुन्छ । हामीले बिर्सन नहुने पक्ष के हो भने । बलात्कारपछि हत्या भएका पीडितका पक्षमा सडकदेखि सदनसम्म बुलन्द आवाज उठाउने पुरुषलाई बिर्सन हुँदैन ।

सिकाइको प्रभावकारिता
छोरालाई गाली गरेर बलात्कार कम हुँदैन । जसरी विभिन्न घटनाबाट छोरीलाई जोगिनको लागि सिकाइन्छ । त्यसरी नै अपराध हुन र गर्नबाट छोरालाई पनि सचेत गर्नुपर्छ । यसको लागि परिवार, विद्यालय र समाज सबैले मिलेर काम गर्नुपर्छ ।

घरमै सिकेको व्यवहार नै उत्तम सिकाइ हो । यो सिकाइ जीवनभर रहन्छ । घरभित्र पनि र घरभित्र पनि यो संस्कार जीवित रहन्छ । छोराले सबैभन्दा बढी सिक्ने ठाउँ घर हो । बाबु, दाजु वा घरका पुरुष सदस्यले महिलालाई कसरी व्यवहार गर्छन् । त्यही हेरेर बच्चाले सिक्छ । त्यसैले घरमा व्यवहारमै समानता देखाउनु जरुरी छ ।

छोरालाई गाली गरेर बलात्कार कम हुँदैन । जसरी विभिन्न घटनाबाट छोरीलाई जोगिनको लागि सिकाइन्छ । त्यसरी नै अपराध हुन र गर्नबाट छोरालाई पनि सचेत गर्नुपर्छ ।

छोरालाई सानैदेखि सही संस्कार सिकाउनुपर्छ । अरूको सम्मान गर्ने, महिला र पुरुष समान हुन् भन्ने सिकाउनुपर्छ । घरमा खुला संवादको वातावरण बनाउनुपर्छ । गलत कुरा कहाँबाट सिके भन्ने बुझेर सही जानकारी दिनुपर्छ । समाजमा ‘छोरा रुदैन’ ‘छोराले जे गरे पनि हुन्छ’ जस्ता सोच हाबी छन् । यस्ता सोचले हिंसात्मक व्यवहारलाई बढावा दिन सक्छ । संवेदनशील हुनु कमजोरी होइन भनेर बुझाउन सक्नुपर्छ ।

त्यसैगरी इन्टरनेटमा के हेर्ने र के नहेर्ने भन्ने मार्गदर्शन गर्नुपर्छ । अश्लील सामग्री र हिंसात्मक भिडियोले बालबालिकामा असर पार्छ । वास्तविक जीवन र कल्पनाबीचको फरक बुझाउन आवश्यक छ । अपराध गरेपछि सजाय हुन्छ भन्ने स्पष्ट सन्देश दिनुपर्छ । कानुन र सामाजिक उत्तरदायित्व बुझाउनुपर्छ ।

पीडितलाई दोष दिने संस्कार हटाउनुपर्छ आफैबाट हटाउनुपर्छ । हामी अभिभावक आफै सामाजिक सञ्जालमा पीडकलाई समर्थन गरिरहेका हुन्छौँ । त्यो कुरा बच्चाले सिकिरहेको हुन्छ । समस्या छोरा हुनु होइन । समस्या गलत सोच र कमजोर शिक्षा हो । गाली गरेर होइन, सही शिक्षा, राम्रो उदाहरण र खुला संवादबाट छोरालाई जिम्मेवार, संवेदनशील र असल नागरिक बनाउन सकिन्छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ३६ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६