काठमाडौं- नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको शपथ आगामी चैत १२ गते दिउँसो २ बजे हुने तय भएको छ । सपथ ग्रहणका लागि सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष तम्तयार छ ।
तथापि निर्वाचनअघि नै भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने सरकारको प्रयास भने पूरा भएको छैन । ‘नयाँ भवनमा प्रतिनिधिसभाको बैठकका लागि निर्माणधीन हल सम्पन्न हुने देखिएन ।
त्यसैले शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हल तयार गरेका छौँ,’ संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले भने ।
२०७६ असोज १ गते शिलान्यास गरिएको भवन निर्माणको काम ६ वर्षमा करिब ९०/९२ प्रतिशत मात्रै सम्पन्न भएको छ । जहाँ राष्ट्रियसभा तथा प्रतिनिधिसभाको बैठक हल, भीभीआईपी कक्ष, प्रधानमन्त्री र राष्ट्रपतिको कक्ष लगायत संरचना निर्माण हुँदैछ ।
निर्माण सुरु गर्दा ५ अर्ब ६७ करोड २७ लाख बजेट अनुमान गरिएको संसद भवनको लागत पाँच पटक म्याद थपिएपछि ६ अर्ब ३० करोड पुगेको छ । साजसज्जा र माइक प्रणालीका लागि थप २ अर्ब ३४ करोड खर्च हुने हुँदा कुल लागत ८ अर्ब ६४ करोड पुगेको छ ।
१२ गते ज्येष्ठ सदस्यका हैसियतमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले बाँकी सदस्यहरूलाई शपथ गराउने छन् । नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाउन उनले भने ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा शपथ लिनेछन् । उनले नेपाली भाषामा सपथ लिनेछन् ।
शपथ सम्बन्धी ऐन २०७९ ले सांसदहरूलाई मातृभाषामा शपथ लिने बाटो खुला गरिदिएको छ । ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा लिनु वा गराउनु पर्नेछ,’ ऐनको दफा ५ मा उल्लेख छ ।
सोही ऐनको दफा ५ (२) अनुसार मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लेखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैँले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
सचिवालयले तोकेको सोमबारसम्मको मितिमा ४५ सांसदले १७ मातृभाषामा शपथ लिने तयारी गरेका छन् । जसमा नेपाल भाषा (नेवारी) र मैथिलीमा सबैभन्दा बढी ६/६ जना सांसदले सपथ लिँदैछन् ।
नेपालमा कति भाषा प्रचलनमा छ ?
नेपालमा १२४ वटा मातृभाषा (पहिलो भाषा) बोलिने गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क छ । ०६८ को तुलनामा ०७८ मा १३ वटा नयाँ मातृभाषा थपिएका हुन् ।
जसमा नेपालीबाहेक मैथिली, भोजपुरी, थारु, र तामाङ, नेपाल भाषा (नेवारी), मगर ढुट, डोटेली सबै भन्दा बढी बोलिने भाषा मानिन्छन् । कुल जनसङ्ख्याको करिब ४४.९ प्रतिशतले भने नेपाली भाषा मातृभाषाका रूपमा बोल्ने गर्दछन् ।
भाषा आयोगको तथ्याङ्क अनुसार नेपालमा १३१ वटा मातृभाषा बोल्ने गरिएको छ ।
मातृभाषामा सपथ लिने प्रचलन ?
मातृभाषामा शपथ लिने अभ्यास पञ्चायतकालमै सुरू भएको पाइन्छ । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य पद्यमरत्न तुलाधरले पहिलोपटक मातृभाषामा शपथ लिएका थिए ।
२०४८ सालमा सप्तरी–२ बाट निर्वाचित नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले हिन्दी भाषामा शपथ लिएका थिए ।
गणतन्त्रपछि मातृभाषामा शपथ लिने क्रम उल्लेख्य रूपमा बढ्यो । ०६४ को संविधानसभा निर्वाचनमा २६४ जना निर्वाचत सदस्यले मैथिली, भोजपुरी, मगर, गुरुङ, थारू, नेवारी, तामाङ, राई, उर्दू , लिम्बु, शेर्पा लगायत २० बढी भाषामा शपथ लिएको तथ्याङ्क छ ।
सो समयमा उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएको विवाद अदालतसम्म पुगेको थियो । संसद् सचिवालयका अनुसार ०७० मा ३५, ०७४ मा ४६ र ०७९ मा २८ सांसदले मातृभाषामा शपथ लिएका थिए ।
संसदमा शपथ लिन कसरी उपस्थित हुनुपर्छ ?
शपथका लागि सचिवालयले तोकेबमोजिम कागजपत्र तथा पोसाकमा सांसदहरू उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।
नवनिर्वाचित सदस्यहरूले आयोगबाट प्राप्त प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजका दुई प्रति फोटो लिएर औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा निर्धारित समयभन्दा दुई घण्टाअगावै उपस्थिति हुनुपर्नेछ ।
यी हुन् मातृभाषामा शपथ लिने सांसदहरू
१. मैथिली भाषा
उज्ज्वलकुमार झा
दीपककुमार साह (महोत्तरी)
दीपककुमार साह (सुनसरी)
प्रमोदकुमार महतो
मातृकाप्रसाद यादव
सीताराम साह
अंकिता ठाकुर
मनिष झा
निशा मेहता
आशा झा
रामजी यादव
शम्भुकुमार यादव
शाहजन खातुन
तपेश्वर यादव
२. नेपाल भाषा (नेवारी)
अनुष्का श्रेष्ठ
कुलभक्त शाक्य
गंगालक्ष्मी अवाल
मदनकृष्ण श्रेष्ठ
रुकेश रञ्जित
विराजभक्त श्रेष्ठ
३. डोटेली भाषा
आकृति अवस्थी
दीपकराज बोहरा
हरिनादेवी कामी
४. भोजपुरी भाषा
कन्हैया बनियाँ
बुद्धिप्रसाद पन्त
रवीन्द्रकुमार पटेल
५. थारु भाषा
गीता चौधरी
प्रमिलाकुमारी गच्छदार
अशोककुमार चौधरी
अमरकान्त चौधरी
सुरेन्द्र चौधरी
६. राना थारु भाषा
कृपाराम राना
७. संस्कृत भाषा
खुश्बु ओली
८. मगही भाषा
जोगकुमार बरबरिया यादव
राजकिशोर यादव
९. अवधी भाषा
मोहम्मद इस्तियाक राई
१०. बान्तावा भाषा
ध्रुवराज राई
११. तामाङ भाषा
पर्शुराम तामाङ
१२. बझाङ्गी भाषा
ऐनबहादुर महर
१३. कटरिया थारू
करिश्मा कटरिया
१४. बजिका भाषा
नितिमा भण्डारी कार्की
राजेशकुमार चौधरी
१५. निश्कल राई
चाम्लिङ भाषा
१६. छन्त्याल
गंगा छन्त्याल
१७. मगर खाम भाषा
रेनुका काउचा













प्रतिक्रिया