‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’ « Khabarhub

अन्तर्वार्ता

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

सय दिनमा परिणाम नदिए सरकारमा गएका फिर्ता



काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन् । नेकपा एमालेका संस्थापक नेताकी छोरी स्थापनाकालबाटै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छिन् । लिमाको विचारमा अहिले एमाले ‘जनताको बहुदलीय जनवाद’को विचारभन्दा फरक बाटोमा हिँडेको छ । एमालेमा थुप्रै अवसर भए पनि उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्ष छिन् ।

पार्टी सभापति रवि लामिछानेको दृढता र परिपक्वताका कारण आफू उक्त पार्टीमा सरिक भएको बताउँदै उनी वैकल्पिक राजनीति यहाँसम्म आउनुमा सभापति लगायत नेताहरूले त्याग गरेको बताउँछिन् । लिमाले खबरहबसँगको कुराकानीमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पाँचै वर्ष प्रधानमन्त्री हुने बताइन् । यता पार्टी भने सभापति रविले चलाउने बताइन् ।

उनले अब पार्टीको ध्यान आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचन हुने उल्लेख गरिन् । उनका अनुसार यो पटकको मन्त्रिपरिषदमा महिला सहभागिता उल्लेख्य हुनेछ । उनी मन्त्रिपरिषदमा पठाउने अनुहारका विषयमा अहिलेसम्म शीर्षस्थ तहमा छलफल चलिरहेको र त्यो छलफल सचिवालय र केन्द्रीय समितिमा नआइपुगेको बताउँछिन् ।

पार्टीले सरकारमा पुगेपछि राखेका आफ्ना पूर्वशर्त र नागरिकसँग गरेका करारपत्र र वाचापत्रका आधारमा काम गर्ने उल्लेख गरिन् । पाँच वर्षसम्म जनताले दिएको म्यान्डेट अनुसार काम गर्ने र अर्को निर्वाचनमा जनताले सुसंस्कृत राजनीति अभ्यास गर्ने पार्टीका रुपमा रास्वपालाई सम्झिने लिमाको दाबी छ । उनी भन्छिन्, ‘प्रतिशोधको राजनीति गर्दैनौँ । रचनात्मक हिसाबले नेपाली जनताको भलो हुने र नेपाललाई उन्नति गर्ने किसिमको राजनीति गर्छौँ ।’

हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी कदम, सरकार निर्माणको तयारी, महिला सहभागिता र अन्य विविध विषयमा केन्द्रित रहेर कोषाध्यक्ष अधिकारीसँग कुरा गरेका छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्दैछ, तयारी कहाँसम्म पुग्यो ?

निर्वाचन परिणामलाई नेपालकै इतिहासमा ऐतिहासिक उपलब्धि मानेका छौँ । २०१५ सालमा नेपाली कांग्रेसले पाएको लोकप्रिय मत ३७ दशमलब २ प्रतिशत थियो । त्यसबेला कांग्रेसले १०९ मा कांग्रेसले ७४ सिट जितेको थियो । त्यसबेला उहाँहरूको बहुमतको सरकार बनेको थियो । त्यसपछिका धेरै निर्वाचन भए, तर यस्तो लोकप्रिय मत र सिट कसैले हासिल गरेको थिएन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक ४८ प्रतिशत मत प्राप्त गरेको छ भने प्रत्यक्ष र समानुपातिक गरेर १८२ सिटमा जित निकालेको छ । यसले हामीलाई एकदमै ठूलो जिम्मेवारी बोध गराएको छ । हामी नागरिकसँग चुनाव अगाडिको करारपत्र बाचापत्र र हाम्रा विगतका राजनीतिक प्रतिवेदन केलाएर त्यही अनुसार काम गर्छौँ । अब वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा बन्ने सरकारले विगतका हाम्रा प्रतिबद्धता र जनतासँगका करारपत्रका आधारमा काम गर्छ ।

हाम्रा राजनीतिक एजेन्डा कार्यक्रम र दिशामा हामी किन फरक छौँ भन्ने कुरा हामीले विभिन्न दस्तावेजमा प्रष्ट्याइसकेका छौँ । जनताले पाँच वर्ष हामीलाई ठूलो अपेक्षा राखेर मत दिनुभएको छ । आर्थिक समृद्धिदेखि जनताका जीवनस्तरमा हरेक दिन परिवर्तन गर्ने कुरालाई हामीले फोकस गरेका छौँ । युवा रोजगारको विषयलाई हामी प्राथमिकता दिन्छौँ । इन्धनमा अरू मुलुकसँगको परनिर्भरतालाई तोड्न पनि हामी प्रतिबद्ध हुनेछौँ ।

आत्मनिर्भर र उत्पादनमूलक अर्थतन्त्रको मोडालिटीमा जान्छौँ । ऊर्जामा खाद्यान्नमा लगायतका समस्या समाधान गर्नुपर्नेछ । यसका निम्ति हरेक क्षेत्रमा हाम्रो बाचापत्र र करारपत्र अनुसार डेलिभरी दिने व्यक्ति मन्त्रालयमा चाहिन्छ ।

नागरिकले कतै न कतै राहत र फरकपन यो सरकारबाट महसुस गर्नैपर्छ भन्ने धेरैले काममा खटेका छौँ । हामीले त्यहीअनुसार सक्षम र विज्ञ साथीहरूलाई मन्त्रिपरिषद् र सरकारमा पठाउने तयारी गरेका छौँ । म यतिचाहिँ ठोकुवा गरेर भन्न सक्छु कि बाचापत्र, नागरिक करारपत्र र हाम्रा प्रतिवेदन भन्दा एक इन्च तलमाथि नगई सरकारले काम गर्छ ।

हामीलाई नागरिकले यसपटक हेर्नुभएको छ । हामीले गर्न सकेनौँ भने अर्को पटकको निर्वाचनमा उहाँहरूले हामीलाई पार्टीको आकार कस्तो हो भनेर देखाइदिनुहुन्छ । त्यसकारण हामीलाई यो पाँच वर्ष सकेनौँ भन्ने छुट छैन ।

मन्त्रिपरिषद्मा विगतमा महिला सहभागिताको अवस्था दयानीय छ। अब के हुन्छ ?

जायज कुरा गर्नुभयो । यो त संविधानले नै निर्दिष्ट गरेको ३३ प्रतिशत सहभागिता भएकाले हामीले मन्त्रालयमा पनि त्यहीअनुसार पठाउने तयारी गरेका छौँ । हाम्रो पार्टी पुराना पार्टीभन्दा फरक र वैकल्पिक राजनीति शक्ति भएकाले त्योभन्दा बढी सहभागिता हुन्छ । पार्टीमा डेलिभरी दिन सक्ने सक्षम महिला नेतृ प्रशस्तै भएका कारणले योपटक जनताले फरक महसुस गर्नुहुनेछ । हाम्रो पार्टी सभापति शीर्ष नेता यसबारे सबै जानकार भएकाले फरक किसिमले काम गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

वरिष्ठ नेता र सभापतिले यहाँहरू जस्ता महिला नेतृलाई सोध्नुभयो कसरी अगाडि बढ्ने भनेर ?

हामी भर्खरै त्यो प्रक्रियामा अगाडि बढ्दैछौँ । १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुन्छ । महिला सहभागिता र पठाउने व्यक्तिहरूको विषयमा सभापति र वरिष्ठ नेताज्यूबीच निरन्तर छलफल भइरहेको छ । केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकमा उहाँले हामीसँग यसबारे छलफल गर्नुहुन्छ । प्रारम्भिक छलफल गर्ने छुट उहाँहरूलाई छ । निर्णय गर्ने भनेको पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकले हो । महिलाको विज्ञता र क्षमताका आधारमा सहभागिता गराउने विषयमा उहाँहरू सकारात्मक हुनुहुन्छ ।

अहिलेसम्म सरकारमा पठाउने व्यक्तिबारे चार नेताभन्दा बाहिर छलफल पुगेको छैन ?

हो । उहाँहरूले प्रारम्भिक चरणमा भएकाले आआफ्नो ढङ्गले अध्ययन र छलफल गरिरहनुभएको छ । प्रारम्भिक खाका बनाएपछि अरू नेताहरूसँग पनि छलफल गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।

उसोभए सरकारमा पठाउने व्यक्तिहरूका लागि आवश्यक अरू मापदण्ड के के छन् ?

उपसभापतिद्वय, वरिष्ठ नेता र सभापतिज्यूले हाम्रा सांसदहरू के कस्ता भूमिकाका आउनुभएको छ र उहाँहरूको दक्षता के हो भन्ने केलाइसक्नुभएको छ । हामीले कुनै साथीलाई सरकारमा पठाउनु छ, कुनै साथीलाई संसदीय समितिमा पठाउनु छ, कुनै साथीलाई पार्टी निर्माणमा पठाउनु छ ।

पार्टीलाई पनि मजबुत बनाउनुपर्ने दायित्व पनि छ । स्थानीय निर्वाचनको एक वर्ष पछाडि फेस गर्नुपर्ने भएकाले त्यो सबै कुरा मध्यनजर गरेर उपयुक्त अनुहार पठाउनेछौँ । हामीले अहिले सरकारमा पठाएका व्यक्तिहरूको गृहकार्यले गर्दा सरकारको पर्फमेन्सलाई असर नपरोस् भन्ने हेतुले दुई नेता बसेर मज्जाले छलफल गरिरहनु भएको छ ।

हाम्रा नेताहरू चर्चाभन्दा डेलिभरीमा केन्द्रित हुने भएकाले उहाँहरूलाई काम गर्न केही समय लागेको हो । १८२ जनाकै कुण्डली लिएर हेरिरहनुभएको छ । कुण्डली भन्नाले उहाँहरूको विगत, वर्तमान र पर्फमेन्सको कुरा गरेको हो । सरकारमा पठाउने अनुहारबाट तोकिएकै समयमा परिणाम आओस् भनेर नेताहरूले काम गर्दै हुनुहुन्छ ।

अब नयाँ सरकार आउँदैछ पाँचै वर्ष बालेन्द्र प्रधानमन्त्री हो कि आलोपालो हुन्छ ?

यसमा प्रश्न गर्नुपर्ने ठाउँ छैन । हाम्रो वरिष्ठ नेता बालेन्द्र शाह नै पार्टीको तर्फबाट प्रधानमन्त्री हो । नागरिकसँग हाम्रो प्रतिबद्धताअनुसार नै अगाडि बढ्छौँ । हामी निर्णयमा कहिले विचलित हुँदैनौँ । किनकि नागरिकसँग हामीले बाचा गरेका छौँ ।

पहिलो चरणमा बालेन्द्र शाह र दोस्रो चरणमा रवि लामिछानेको कुरा पनि उठेको छ रे ?

दोस्रो चरणको कुरा उठेकै छैन । अहिलेलाई बालेन शाह एकल हो ।

उसो भए पाँचै वर्ष उहाँ प्रधानमन्त्री हो ?

हजुर, हाम्रो प्रधानमन्त्री बालेन शाह हो । पाँचै वर्ष उहाँले चलाउनुहुन्छ भनेर हामीलाई जानकारी छ ।

पार्टी रविले हाँक्ने र सरकार बालेन्द्रले पाँचै वर्ष चलाउने विषयमा कुनै तलमाथि हुँदैन ?

हामीले र शीर्षस्थ नेताहरूले बसेर गरेको जुन सहमति र विषयहरू छन्, त्यसमै टेकेर काम गर्छौंँ । त्यसमा हामी तलमाथि गर्दैनौँ । कसैलाई तलमाथि हुन पनि दिदैनौँ र हामी आफू गर्दा पनि गर्दैनौँ । वरिष्ठ नेताले सरकार हाँक्ने र पार्टी सभापतिले हाँक्नेमा कुनै तलमाथि हुँदैन ।

एक वर्ष भए पनि रविलाई प्रधानमन्त्री दिनुपर्छ भन्ने कुरा उठेको छ रे ?

त्यस्तो कुनै कुरा भएको छैन । सबैतिर सकारात्मक रूपले नै छलफल भइरहँदा यी कुरा होइनन् । अहिले मन्त्रिपरिषदमा पठाउने नेता र सांसद भएका व्यक्तिले पनि राम्रोसँग काम नगरेको अवस्थामा पार्टीले रिकल गर्छ ।

हामीले सबैभन्दा महत्त्वपूर्ण काम नागरिकको समस्या समाधान गर्न नेता खोजेको हो । शक्तिशाली सरकारले यही काम गर्छ । पदको विषयमा कुनै रूपले विवाद छैन । पार्टी सभापति लामिछानेले यत्रो त्याग गरेर वरिष्ठ नेतालाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। यसलाई हामीले सम्मान गरौँ ।

१०० दिनमा सरकारमा गएका व्यक्तिहरूबाट नागरिकले फरकपन महसुस गर्नुभएन भने फिर्ता बोलाइन्छ भन्ने कुरामा त पार्टीले काम गरिरहेकै छ । काम गर्न नसकेको बेला पो यसबारे कुरा हुन्छ त अहिले काम गर्न दिनु न ।

विगतमा सरकारमा पुगेपछि पार्टीभित्रै शक्तिको लडाइँ हुने गरेको थियो । रास्वपामा नदोहोरिएला भन्ने आधार के छ ?

यो कदापि हुँदैन, अहिले हामी काम गर्ने मुडमा छौँ । हामी धेरै राजनीतिक कुरा गर्ने यो हुन्छ भोलि हुँदैन भन्ने हिसाबले अगाडि बढ्दैनौँ । हामी एकदम सकारात्मक ऊर्जा र काम गर्ने हुटहुटी लिएर आएका छौँ ।

नेपाली नागरिकले पनि ठूलो ऊर्जा र साथ दिनुभएको छ । पाँच वर्षसम्म नागरिकले हामीलाई हेर्नुहुनेछ । नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्नेछ । सत्ताको कुरामा दायाँबायाँ हुँदैन ।

पार्टीको विषयमा कुरा गर्दा पहिलो महाधिवेशन भएको छैन, कसरी अगाडि बढ्नुहुन्छ ?

हामी तोकिएको समयमा पार्टीको महाधिवेशन गर्छौँ । सरकार चलाउने व्यक्तिले सरकार चलाउनुहुन्छ, पार्टी चलाउने व्यक्तिले पार्टी चलाउनुहुन्छ । एकथरी साथीहरू पार्टी संगठनलाई देशैभर मजबुत बनाउँदै तल्लो तहसम्म कमिटी बनाउनतर्फ लाग्नुहुन्छ ।

स्थानीय तह निर्वाचनमा कसरी हामी अगाडि बढ्ने भन्ने योजनासहित संगठनलाई मजबुत बनाउँछौँ । अहिले सरकारमा जाने व्यक्तिहरूले गरेको डेलिभरीलाई स्थानीय तहको निर्वाचनमा परिणाम देखिने गरी काम गर्छौँ ।

संगठनलाई मजबुत बनाउने आफ्ना एजेन्डाहरू स्थापित गर्ने काम गर्छ । सरकार भनेको १०० दिनमै तपाईंहरूले फरकपनको महसुस गर्नुहुन्छ । म यो निर्धक्क भन्न सक्छु ।

प्रदेश संरचनाबारे यहाँहरूको बाचापत्रमा लेखिएबमोजिम नै अगाडि बढ्नुहुन्छ ?

हामीले बाचापत्रमा लेखेका छौँ, सरकार गठन भएको १०० दिनभित्रमा राष्ट्रिय सहमति कायम गर्ने हेतुले अगाडि बढ्छौँ । संविधान संशोधन र परिमार्जनलाई पनि कसरी अगाडि बढ्ने भनेर १०० दिनभित्र राष्ट्रिय सहमति कायम गर्न तलदेखि छलफल र समीक्षा गर्छौँ । संविधान संशोधनका प्रस्तावहरूबारे बहसपत्र तयार पार्छौँ भनेर हामीले १०० दिनभित्र गर्ने कामअन्तर्गत राखेका छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रारम्भिक रूपमा पेश हुने विषयहरूको अवधारणा पनि हामीले राख्नेछौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी पूर्ण समानुपातिक सांसद, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप भन्ने विषयलाई हामी प्राथमिकता दिएर काम गर्छौँ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ७ : ४१ बजे

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी

रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश