आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु « Khabarhub

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम जितबहादुर’ फ्लप भयो । प्रदर्शनको पाँच दिनमा आइपुग्दा दैनिक शो संख्या खुम्चिएर ५० भन्दा कममा झरिसक्यो ।

शनिबार र आइतबारको सार्वजनिक बिदामा पनि यो फिल्मका लागि हलमा दर्शकको चाप नगन्य देखियो । बिदाका दुई दिनमा जति दर्शक आए, उनीहरूबाट माउथ पब्लिसिटी नभएको मंगलबारको अकुपेन्सीले देखाउँछ ।

ढिलोमा पनि माउथ पब्लिसिटीको प्रभाव पहिलो मंगलबारको अकुपेन्सीमा देखिन्छ । तर, ‘आई एम जितबहादुर’को ग्राफ ओरालो यात्रामा छ ।

सोलो रिलिज पाएको र हलमा विदेशी फिल्मको पनि दबदबा नरहेका बेला ‘आई एम जितबहादुर’को शोमा ह्रास आउनु व्यापारिकरुपमा सुखद संकेत होइन ।

यो पनि : ‘म जितु नेपाल, भारी खेपेर स्कूल गएको मान्छे’

व्यापारको असर यो पटक जितुलाई दोहोरो पर्छ । उनी फिल्मको शीर्ष नायक मात्रै होइनन्, निर्माता पनि हुन् ।

‘फन्डा चलेन’

कलाकारितमै ‘कपाल फुलाएका’ जितुलाई फिल्म चलाउन प्रचारको आवश्यक छ भन्ने कुरा थाहा नुहुने कुरै भएन ।

उनी पहिलो पटक सोलो निर्माता भए पनि यसभन्दा अघि केही फिल्ममा सहनिर्माता बनिसकेका कलाकार हुन् । नायकका रुपमा धेरै फिल्मको प्रमोसनमा उनी हिडिसेकका छन् ।

जितुले यो पटक फिल्म प्रचारका लागि अन्तर्वार्तालाई मुख्य हतियार बनाउन खोजे । फिल्ममा हिरोइन नै नभए जसरी उनी एक्लै पनि अन्तर्वार्ता दिँदै हिडे ।

अन्तर्वार्तामा जितुले आफ्नो गरिबी देखाएर दर्शकको इमोसनसँग खेल्न खोजे । प्रचारको यो शैली दर्शकले थाहा पाइसके । ‘म गरिब थिएँ, संघर्षले कलाकार बनेँ’ भन्दा दर्शक त्यसलाई समान्य प्रक्रियाका रुपमा ग्रहण गर्न थालिसके ।

अझ जितुको हकमा कुरा फरक छ । उनी आम नेपालीको भन्दा विलासी जीवनशैलीमा रमाउन लागेको दशकौं भइसक्यो । उ बेलाका गरिबीको कथाले सुनाएर अहिलेका दर्शकले फिल्मको टिकट के काट्थे ?

जितुले फिल्म प्रचारमा नायिका नहिँडेर प्रचारमा असहयोग भएको आशयको अभिव्यक्ति दिएर कन्टोभर्सी गर्न पनि खोजे । यस्ता फन्डा दर्शकले थाहा पाइसके, वास्तै गरेनन् ।

जितुले फिल्म चलाउन आफ्ना सहकर्मीहरूको कुरा पनि काटे । उनले केदार घिमिरे ‘माग्ने बूढा’ र सिताराम कट्टेल ‘धुर्मुस’को उतिछो काट्न भ्याए ।

केदार र सितारामका व्यक्तिगत विषयलाई कोट्याएर कन्ट्रोभर्सीबाट उनले फिल्मको प्रचार गर्न खोजे । उनीहरूमा ‘स्टारडमको मात चढेको’ आशय अभिव्यक्ति जितुले दिए ।

केदार लामो समय अमेरिकामा बस्दा आफ्नो हातबाट एउटा फिल्म उम्किएको जितुले सुनाए । उनले केदारलाई लक्षित भनेका थिए, ‘नेपाल आएर पहिला लिएकै पारिश्रमिक लिएर फिल्म गरेको भए भइहाल्थ्यो नि । पहिला त्यही फिल्म गर्न मरिहत्ते, अहिले त्यही फिल्म गर्न गाह्रो ।’

त्यस्तै, धुर्मुशले जनताको भावनासँग खेल्न ‘गोहीका आँसु झारे’को अभिव्यक्ति दिन पनि उनीपछि परेनन् । ‘काम पाइनँ’ भनेर अन्तर्वार्ता दिने तर बोलाएर काम दिँदा नगर्ने धुमुर्श–सुन्तली जोडीको यो प्रवृति आफूले खेपेको उनले दाबी गरे ।

‘धुर्मुश नेपाल फर्कन्छु’ भनिरहेका बेला जितुले भनिदिए, ‘ऊ स्थायी बसोबासका लागि अमेरिका गएको हो ।’

कलाकारिताबाटै नेपालमा बिलासी जीवनको क्षमता राख्ने दुवै कलाकार लामो समयदेखि अमेरिकामा रहनु आश्चर्यको विषय रहेको समेत उनले भन्न भ्याए ।

पूर्वसहकर्मी र समकालीन कलाकारहरूको उछितो काटेर पनि उनले फिल्म चर्चामा ल्याउन खोजे । तर, दर्शकले यस्ता कन्ट्रोभर्सीमा इन्जोए गर्न चाहेनन् । जितुको प्रयास असफल नै भयो ।

सोलो फिल्म सबै फ्लप

पाँच वर्षअघि जितु हिट फिल्म दिइरहेको दीपकराज गिरी र दीपाश्री निरौला नेतृत्वको टिम ‘छक्का पञ्जा समूह’बाट बाहिरिए । दीपाश्रीसँगको लफडाले उनी त्यो टिमबाट निस्कनु परेको हो ।

त्यो टिमले निकालेको रिस जितुलाई अझैँ नमरेको देखिन्छ । अझैँ पनि फिल्म रिलिजताका उक्त टिमप्रति उनी रुखो अभिव्यक्ति दिन्छन् ।

हिट फिल्म दिइरहेको टोलीबाट बाहिरिएपछि प्रतिष्ठाका लागि पनि जितुले ठूलो पर्दामा अभिनय गर्नुपर्ने नै थियो ।

दीपक–दीपाको क्याम्पबाट बाहिरिएपछि जितुले साइन गरेको पहिलो फिल्म ‘ह्यारीको प्यारी’ हो । त्यसपछि उनले ‘ज्वाइँ साब’ र ‘कार्साङ’ गरे । अहिले आफैँले लगानी गरेर ‘आई एम जितबहादुर’ बनाए ।

‘कार्साङ’को सोलो नायक जितु होइनन् तर शीर्ष दुई मध्ये एक हुन् । गत ०८१ को दशैँमा जितुले दीपक–दीपाको ‘छक्का पञ्जा ५’सँग ‘ज्वाइँ साब’ जुधाएका थिए । तर, आफैँ पछारिए ।

‘कार्साङ’ छोड्ने हो भने जितु सोलो नायक रहेको तीन फिल्म प्रदर्शनमा आए । तर, सबै फ्लप भए । ‘कार्साङ’ पनि फ्लप फिल्म हो ।

सबै फिल्म फ्लप भएपछि उनको स्टारडममाथि प्रश्न उठेको छ । ‘हाइ प्रोफाइल कलाकार भए पनि उनले फिल्मलाई काँधमा राख्न नसकेको’ कोणबाट पनि चर्चा भएको छ ।

उनी सोलो नायकका लागि उपयुक्त कलाकार होइनन भन्ने चर्चा फिल्मीवृतमा चल्न थालेको छ ।

अब जितुको कुन फिल्म गर्लान् ? हिट खोजिरहेको उनको हातमा कस्तो स्क्रिप्ट पर्ला ? के जितुमाथि लगानी गर्न अझैँ निर्माता तयार छन् ? यी प्रश्नको उत्तर अब जितुको कामबाटै पाउन बाँकी छ । किनभने यिनै प्रश्नले उनको कलाकारिता यात्राको ग्राफ तय गर्छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ९ : ३३ बजे

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार