काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल समर्थकको ध्यान एउटा रोचक प्रतिस्पर्धातर्फ केन्द्रित भएको छ त्यो हो , गोल्डेन बुटको दौड। विश्वकपको उत्कृष्ट गोलकर्ता बन्ने होडमा अहिले तीन सुपरस्टार अगाडि देखिएका छन्। अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डले सुरुआती दुई खेलमै गोलको वर्षा गर्दै प्रतिस्पर्धालाई निकै रोमाञ्चक बनाएका छन्।
अहिलेसम्म मेसीले दुई खेलमा ५ गोल गरेका छन् भने एम्बाप्पे र हालान्डले समान ४–४ गोल गरेका छन्। अर्थात्, तीन खेलाडीले मात्र दुई खेलमा कुल १३ गोल गरिसकेका छन्। विश्वकप इतिहासमा दुई खेलपछि तीन खेलाडीले चार वा सोभन्दा बढी गोल गरेको यो केवल दोस्रो अवसर हो। यसअघि सन् १९५४ को विश्वकपमा मात्र यस्तो दृश्य देखिएको थियो।
३८ वर्षका मेसी अझै कीर्तिमानकै शिखरमा
धेरैले विश्वकप २०२६ लाई लियोनल मेसीको अन्तिम विश्वकपका रूपमा हेरिरहेका छन्। तर उमेर केवल संख्या मात्र हो भन्ने कुरा उनले फेरि प्रमाणित गरिरहेका छन्। अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका छन् र सर्वकालिक विश्वकप गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्।

मेसीको खेलमा अहिले पनि त्यही जादू, त्यही सन्तुलन र त्यही गोल गर्ने क्षमता देखिन्छ। उनले गोल मात्र गरिरहेका छैनन्, अर्जेन्टिनाको आक्रमणलाई पनि नेतृत्व गरिरहेका छन्। यही कारण अर्जेन्टिना उपाधि दाबेदार टोलीमध्ये एक मानिएको छ। तर मेसीको यो कीर्तिमान सधैंका लागि सुरक्षित भने छैन। किनभने उनको पछाडि छन् फ्रान्सका स्टार किलियन एम्बाप्पे।
एम्बाप्पे: मेसीको रेकर्डतर्फ तीव्र गतिमा
फ्रान्सका कप्तान किलियन एम्बाप्पे अहिले विश्व फुटबलका सबैभन्दा खतरनाक आक्रमणकारीमध्ये एक हुन्। उनले इराकविरुद्ध दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १६ पुर्याएका छन्। यससँगै उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोसेको कीर्तिमान बराबरी गर्दै विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्।
अहिले उनी मेसीभन्दा केवल दुई गोलले पछाडि छन्। मेसीको सम्भवतः अन्तिम विश्वकप भएकाले एम्बाप्पेका लागि भविष्यमा यो कीर्तिमान तोड्ने अवसर अझ धेरै रहनेछ।

एम्बाप्पे व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई प्राथमिकता दिन्छन्। संचारकर्मीसंग कुरा गर्दै गोल्डेन बुटको सम्भावनाबारे सोधिँदा उनले भनेका छन्, “म अहिले त्यसबारे सोचिरहेको छैन। मेरो ध्यान टोलीलाई मद्दत गर्नेमा छ। टोली सफल भयो भने गोल पनि आउँछन्।” उनको यही सोच र निरन्तर प्रदर्शनले फ्रान्सलाई उपाधिको बलियो दाबेदार बनाएको छ।
हालान्डको विस्फोटक आगमन
यदि मेसी अनुभवका प्रतीक हुन् भने एम्बाप्पे गति र कौशलका। तर शुद्ध गोल गर्ने क्षमताको कुरा गर्दा धेरैको रोजाइ एर्लिङ हालान्ड हुन्। नर्वेका स्टार स्ट्राइकर हालान्डले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो गोल संख्या ४ पुर्याएका छन्। विशेष कुरा के भने, उनले आफ्नो पहिलो दुई विश्वकप खेलमै सानदार खेल देखाएका छन्। विश्वकप इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने उनी केवल छैटौं खेलाडी बनेका छन्।
हालान्डको खेल शैली सरल तर घातक छ। अवसर पाए भने उनले गोल गर्न बिरलै चुक्छन्। त्यसैले धेरै विशेषज्ञले उनलाई अहिले विश्व फुटबलको उत्कृष्ट फिनिसर मान्छन्। नर्वेका प्रशिक्षक स्टाले सोलबाकेन पनि आफ्ना स्टार खेलाडीको खुलेर प्रशंसा गर्छन्। उनका अनुसार फ्रान्स वा अर्जेन्टिनाजस्ता बलिया टोलीका लागि गोल गर्नु अपेक्षाकृत सजिलो हुन सक्छ, तर नर्वेजस्तो टोलीका लागि लगातार गोल गर्नु अझ विशेष उपलब्धि हो।
ह्यारी केन पनि दौडमा
गोल्डेन बुटको चर्चा मुख्य रूपमा मेसी, एम्बाप्पे र हाल्यान्ड वरिपरि केन्द्रित भए पनि इङ्ल्यान्डका कप्तान ह्यारी केनलाई नजरअन्दाज गर्न सकिँदैन। उनले पहिलो खेलमै दुई गोल गरेका छन् र आगामी खेलहरूमा गोल संख्या थप्न सफल भए दौड अझ रोचक बन्न सक्छ। विश्वकपमा अनुभव र गोल गर्ने क्षमताका हिसाबले केन पनि बलियो दाबेदार मानिन्छन्।

नयाँ विश्वकप प्रारूपले बढायो गोलको सम्भावना
यसपटकको विश्वकपमा पहिलो पटक ४८ टोली सहभागी छन्। नयाँ प्रारूपका कारण खेल संख्या पनि बढेको छ। यसले स्टार खेलाडीहरूलाई थप गोल गर्ने अवसर दिएको छ।
कमजोर वरीयताका टोलीहरू थपिँदा बलिया टोलीका आक्रमणकारी खेलाडीहरूले गोल संख्या बढाउने सम्भावना बढी हुन्छ। त्यसमाथि उपाधि जित्ने टोलीले अघिल्ला संस्करणभन्दा बढी खेल खेल्नुपर्ने भएकाले गोलको रेकर्ड बन्ने सम्भावना पनि बढेको छ।
यही कारण फ्रान्सका जस्ट फन्टेनले सन् १९५८ मा एकै विश्वकपमा बनाएको १३ गोलको ऐतिहासिक कीर्तिमानसमेत यसपटक खतरामा पर्न सक्ने विश्लेषण भइरहेको छ।
कसले जित्ला गोल्डेन बुट ?
अहिलेको अवस्थालाई हेर्दा गोल्डेन बुटको दौड पूर्ण रूपमा खुला छ। मेसीसँग अनुभव र नेतृत्व छ। एम्बाप्पेसँग असाधारण गति र निरन्तरता छ। हाल्यान्डसँग घातक फिनिसिङ क्षमता छ। त्यसमाथि ह्यारी केनजस्ता स्टार पनि प्रतिस्पर्धामा छन्।
यही कारण विश्वकप २०२६ को गोल्डेन बुटको लडाइँ अहिले नै प्रतियोगिताको सबैभन्दा आकर्षक कथामध्ये एक बनेको छ। अब फुटबल समर्थक उत्सुकताका साथ हेर्दैछन् । गोल्डेन बुट अन्ततः मेसीको हातमा पुग्ला, एम्बाप्पेले कब्जा गर्लान् वा हाल्यान्डले सबैलाई पछि पार्लान्? विश्वकपको आगामी यात्रा यस प्रश्नको उत्तर खोज्ने रोमाञ्चक प्रतीक्षामा छ।

पोर्चुैगलका क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमा खरब प्रदर्शन गरे पनि दोस्रो खेलमा सानदार पुनरागमन गरेका छन् । उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै उनले जारी विश्वकप फुटबलमा आफ्नो गोलको खाता खोलेका छन् । मंगलबार राति भएको खेलमा उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ५–० को फराकिलो जित दिलाएका हुन् । रोनाल्डोको यो प्रदर्शनले उनलाईसमेत विश्वकपमा उत्कृष्ट अवार्डको सूचीमा राखेको छ ।












प्रतिक्रिया