काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तर्द्वन्द्व तर्फ जाने खतरा हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरू माथि धरपकड भइरहेको भन्दै एउटा अपराधी जस्तो व्यवहार गर्न थाले देश समझदारी तर्फ नभई अन्तर्द्वन्द्वतर्फ जाने खतरा हुने बताएका हुन् । उनले सरकारले कानुनसम्मत प्रक्रियाहरूलाई अपनाएर र अनुसरण गरेर मात्रै कुनै पनि कदम चाल्नु उचित हुने धारणा राखे ।
त्यस्तै खनालले अपरिपक्व ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढाए देश दुर्घटनातर्फ जानसक्ने बताए । संविधान बनेको १० वर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।
खनालले हचुवाका भरमा संविधान संशोधन गर्ने र विभिन्न संरचना खारेज गर्ने कार्य उचित नहुने धारणा राखे । उनले अहिले पनि संविधानको भाग ४ लगायत धेरै कुराहरू लागू नै हुन नसकेको भन्दै रास्वपा नेतृत्वको सरकारले यसमा गम्भीर ध्यान पुराउन सुझाव दिए ।
त्यसैगरि पूर्वप्रधानमन्त्री खनालले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी गरे । सम्भवतः बालेन शाह प्रधानमन्त्री भइसकेपछि व्यक्त गरेका अभिव्यक्तिहरू मध्ये सबैभन्दा कच्चा अभिव्यक्ति सीमा सम्बन्धी भएको उनको भनाइ छ ।
खनालले चितवनमा गएर प्रधानमन्त्रीले ’मेरो राष्ट्रियता माथि शंका गर्नु पर्दैन’ भनेको अवस्थामा संसदमा आएर रेकर्डबाट हटाउन स्वयं प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने बताए । प्रधानमन्त्री आफैले माग गरेर उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाए सारा देशले प्रधानमन्त्रीलाई समर्थन गर्ने उनको भनाई छ ।












प्रतिक्रिया