किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ? « Khabarhub

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?



काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३० अंकले घटेर बन्द भयो । आज नेप्से घट्दा नेप्सेको पुँजीकरण पनि ०.२० प्रतिशतले घट्यो ।

नेप्से आज मात्रै होइन, नेप्सेमा सेयर कारोबारको पछिल्लो २० दिनको विश्लेषण गर्दा ६ दिन मात्रै नेप्से बढेको छ भने १४ दिन नेप्से घटेको छ । साथै, अंकका आधारमा हेर्दा पनि नेप्से उकालो लाग्ने भन्दा पनि ओरालो लागिरहेको देखिन्छ ।

चैतको १२ गते नेप्से २९५०.१६ बिन्दुमा पुगेर बन्द भएको थियो । मंगलबारसम्म आइपुग्दा नेप्से ३५५.८९ अंकले घटेको छ ।

साथै, बालेनको नेतृत्वमा सरकार बन्नु अगाडि नेप्से ५० खर्ब ९ अर्ब ३८ करोड ३४ लाख १० हजार रुपैयाँको पुँजीकरण बराबरको भएकोमा मंगलबार घटेर ४४ खर्ब ६२ अर्ब ५० करोड ३० लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । अर्थात् ५ महिनाको अवधिमा ५ खर्ब ४६ अर्ब ८८ करोड ३ लाख ५४ हजार रुपैयाँ बराबरको पुँजी दोस्रो बजारबाट लगानीकर्ताले गुमाएका छन् ।

चैतको १३ गते बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएपछि भारी अंकले ओरालो लागेको र ओरालो लाग्ने प्रवृत्ति ग्रहण गरेको नेप्सेले ५ महिना अवधिमा उकालो लाग्ने प्रवृत्ति ग्रहण गर्न सकेको छैन ।

किन सुधार आउन सकेन नेप्सेमा ?

बालेन नेतृत्वको सरकार बनेपछि सेयर बजार सुधारको विषयमा धेरै नीतिगत र व्यवहारिक पहल गरेको छ । प्रधानमन्त्री स्वयंले पुँजीबजारको नियामक निकायदेखि ब्रोकरसँग छलफल गरेका थिए भने अर्थमन्त्रीले पनि गरेका थिए ।

साथै, पुँजीबजार सुधारको लागि पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले विभिन्न मार्जिन ऋण कारोबार नियमावली र ऋणपत्र दर्ता तथा निष्काशन नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ । साथै, प्राथमिक पुँजीबजार सुधार नीति, २०८३, नेपालको प्राथमिक पुँजीबजार विकास सम्बन्धी मार्गचित्र लगायतका नीतिहरू पनि जारी गरेको छ । साथै, सरकारको तर्फबाट लगानीकर्ताको लागि संरक्षण गर्नेगरी समय–समयमा प्रतिबद्धता पनि आइरहेका छन् ।

तर, पछिल्लो समयमा सेयर बजार किन निरन्तर ओरालो लाग्यो भन्ने विषयमा सम्बन्धित क्षेत्रका जानकारका फरक–फरक धारणा छन् । कसैले सरकारको कारणले सेयर बजारका लगानीकर्ता वा ट्रेडरमा आत्मविश्वास आउन नसकेको बताएका छन् भने केहीले सेयर बजारमा पनि राजनीतिक व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहने भएकाले नियतबस ओरालो लैजाने भूमिका खेलेको पनि बताएका छन् ।

सेयर कारोबारी तथा सेयर बजारका जानकार रितुजंग जिसीले सरकारले सेयर बजारसँग सम्बन्धित सकारात्मक पहल गर्दागर्दै पनि अहिले बजार घटिरहेको भन्दै यस्तो परिदृष्य सेयर बजारमा नै पहिलोपटक देखिएको टिप्पणी गरेका छन् ।

‘लगानीकर्तामा सकारात्मक मनोविज्ञान नै रहेको पाइँदैन’, उनले भने, ‘सबै विषय सकारात्मक भएर पनि बजार सकारात्मक हुन नसकेको सायद यो पटक नै होला ।’

किन यस्तो भयो होला भन्ने सन्दर्भमा उनले सरकारको पछिल्ला कदमको कारण केही ठूला व्यवसायी पनि हतोत्साही भएको हुनसक्ने तर, केहीले नियोजित हिसाबले पनि बजार घटाउने काम गरेको हुनसक्ने उनको भनाइ छ ।

‘ब्रोकरहरू राजनीतिकर्मीबाट निर्देशित छन् र कतिपय राजनीतिकर्मीकै लगानी छ’, उनले भने, ‘अहिलेको यो अवस्थालाई अझै धेरै क्रिटिकल र क्राइसेस निम्त्याएर मान्छेको सेन्टिमेन्ट डोमिनेट गरेर उनीहरू फेरि सडकमा आउन भन्ने उद्देश्यले पनि बजारलाई घटाउने काम भइरहेको छ ।’

उनले सरकारको तर्फबाट सेयर बजारको विषयमा अध्ययन गरेर कमजोरी के भइरहेको छ भन्ने पत्ता लगाएर कदम चाल्नुपर्ने बताए ।

‘सरकारले सबै कुरा राम्रो हुँदाहुँदै पनि बजार किन बढ्न सकेको छैन भन्ने कुरा फाइन्ड आउट गरेर गल्ति गर्नेहरूलाई निर्मम भएर कारबाही गर्नुपर्छ’, उनले भने, ‘सरकारले फोर्सफुल्ली जे गर्नपर्ने हो त्यो गर्नुपर्छ जस्तो देखिन्छ ।

तर, अर्का सेयर बजारका जानकार मुक्ति अर्यालले भने सरकारको कारणले नै बजारमा नकारात्मक प्रभाव परेको बताएका छन् ।

‘लगानीकर्ताको आत्मविश्वास घटेको अवस्था छ, सरकार, अर्थ मन्त्रालय, अर्थमन्त्री लगायतको सकारात्मक लक्षण केही नदेखिएर लगानीकर्ताहरू डराएर, त्रसित भएर यस्तो अवस्था आएको हो, उनले भने, ‘मैले सेयर बजारमा लगानी गरेँ भने मलाई कतै कारबाही पो हुने हो कि भन्ने जस्ता कुराहरूले हो ।’

धितोपत्रबोर्डले जारी गरेका प्रस्ताव र नियमनहरूले बजारमा सकारात्मक प्रभाव पार्ने अवस्था नदेखिएको उनले बताए ।

‘सर्ट सेलिङ जस्ता कुराहरू हाम्रो बजारले चाहिँदैन भन्ने संकेत दिएको छ’, उनले भने, ‘मैले भन्दा चाहिन्छ भन्छु, तर, त्यसको लागि आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।’

उनले सरकार र नियामको तर्फबाट सुरुवाती चरणमा साना–साना सुधारका काम गर्नपर्ने आवश्यकता रहेको ती सुधारका काम हुन नसकेको भन्दै बजारको सुधार गर्न साना सुधारबाट सुरु गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : ३२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह