काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि नेपालका धेरैजसो भूभागमा वर्षा भइरहेको छ भने यो प्रणाली क्रमिक रूपमा पश्चिमतर्फ सर्दै जाने क्रममा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको यो प्रणालीका कारण नेपालका धेरैजसो स्थानमा वर्षा भइरहेको छ र आगामी दिनमा यसको प्रभाव विशेष गरी देशका पश्चिमी भूभागहरूमा बढी पर्नेछ ।
विगत २४ घण्टाको विवरण अनुसार देशका अधिकांश स्थानहरू, विशेष गरी कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका क्षेत्रहरूमा तुलनात्मक रूपमा अलि बढी वर्षा मापन गरिएको छ ।
त्यसैगरी पाल्पाको अर्चली मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ भने अन्य धेरै भूभागहरूमा भारी वर्षा भएको छ ।
निरन्तरको झरी र भारी वर्षाका कारण पहाडी क्षेत्रहरूमा पहिरो जान सक्ने तथा नदीहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकाले सर्वसाधारण र सम्बद्ध निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विभागले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान अनुसार आज असोज ९ गते तथा भोलि र पर्सि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढी रहनेछ । असोज १० गते शनिबारदेखि पूर्वी क्षेत्रहरू कोशी, मधेश र बाग्मती प्रदेशमा क्रमिक रूपमा वर्षा कम हुँदै मौसममा सुधार आउनेछ भने सोही दिन रातिदेखि पश्चिमी भूभागहरूमा वर्षाको प्रभाव अझ बढ्दै जानेछ ।
असोज ११ गते आइतबार पूर्वी नेपालको मौसममा उल्लेख्य सुधार आउनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा कायमै रहनेछ ।
त्यसैगरी असोज १२ गते सोमबार सुदूरपश्चिमका केही भूभागमा बिहान सामान्य वर्षा भए पनि दिउँसोदेखि मौसममा सुधार आउनेछ र असोज १३ गतेदेखि देशैभरिको मौसम सामान्य बन्दै जाने अनुमान गरिएको छ ।
हाल देशभर धान भित्र्याउने समय भएकाले मौसम विज्ञान विभागले विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका किसानहरूलाई आगामी एक–दुई दिन धान नकाट्न र मौसममा सुधार आएपछि मात्र कटानीको योजना बनाउन विशेष अनुरोध गरेको छ ।
आगामी दुई–तीन दिनसम्म बाढी र पहिरोको जोखिम रहने हुनाले उच्च सतर्कता अपनाउन अपिल गर्दै विभागले थप मौसमी सूचनाका लागि आफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज ‘नेपाल वेदर फोरकास्ट वा टोल-फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।













प्रतिक्रिया