एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट बैंकमा सैन्य कारबाही तीव्र बनाएको छ । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ ।
इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनीलाई विस्थापित गराएको भोलिपल्ट यस्तो घोषणा गरिएको हो । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापित बासिन्दालाई घर फर्कन नदिइने बताएका छन् ।
शुक्रबार प्यालेस्टिनी सहरनजिकैको जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । हमासले आक्रमणको जिम्मेवारी नलिए पनि त्यसको प्रशंसा गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा संलग्न पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले सन् १९६७ मा इजरायलले वेस्ट बैंक कब्जा गरेयताकै ठूलो स्तरको सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका छन् ।
इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकस्थित इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ । अक्टोबर २७ मा हुने निर्वाचनका दिन भने सबै स्थल मार्ग बन्द गरिनेछ ।
यसैबीच, प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ ।
इजरायली सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० स्थानमा कारबाही गरेको जनाएको छ । सेनाका अनुसार हमास र इस्लामिक जिहादजस्ता सङ्गठनसँग आबद्ध व्यक्तिसहित करिब ४० जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ ।
हेब्रोनको एन देर बहा क्षेत्रमा सैनिकहरूले राति लाउडस्पीकरमार्फत बासिन्दालाई घर खाली गर्न निर्देशन दिएका थिए । स्थानीय ७० वर्षीय पसल सञ्चालक हिगाजी शावर अल–तमिमीका अनुसार उनकी ९० वर्षीया बिरामी सासूलाई समेत बोकेर सुरक्षित स्थानमा लैजानुपरेको थियो ।
इजरायलका दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गोलीकाण्डपछि अवैध संरचना भत्काउने आदेश दिएको बताएका छन् । उनले आक्रमणमा संलग्न पक्षले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
इजरायली सेनाले सैन्य कारबाही केही दिनसम्म जारी रहने जनाएको छ । नेतान्याहुको पछिल्लो अभिव्यक्तिले वेस्ट बैंकमा थप व्यापक सैन्य अभियान हुन सक्ने सङ्केत गरेको छ ।














प्रतिक्रिया