धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र–चतरातर्फ १५ जना यात्रु लिएर जाँदै गरेको ‘ओबीएम’ कम्पनीको जेटबोट आइतबार अपराह्न करिब २ बजे ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी (सुनसरी) को टोलीले उद्धार गरी चालकसहित १२ जनालाई उपचारका लागि चतरा अस्पताल पठाएको थियो ।
उपचारका क्रममा सुनसरी बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, अन्दाजी ६/७ वर्षीया बालिका र अन्दाजी ४०/५० वर्षका एक पुरुषको मृत्यु भएको छ । मृतक दुई जनाको नाम र थर खुल्न बाँकी छ ।
दुर्घटनामा परेकामध्ये झापा कन्काई नगरपालिका–४ का ७ वर्षीय शिवक मगर, सुनसरी बराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई नदीमा बेपत्ता छन् ।

सप्तकोशीमा बेपत्ता भएकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जनाको टोली घटनास्थलमा खटिएको छ ।
जेटबोटका चालक सुनसरी बराहक्षेत्र–१ का २४ वर्षीय सुमन मगरसहित अन्य ९ जना यात्रु भने उद्धारपछि सकुशल रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।















प्रतिक्रिया