काठमाडौं- विगत पाँच वर्षमा चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादकहरूको तीव्र प्रवेशका कारण दशकौँदेखि जापानी टोयोटा, होन्डा जस्ता ब्रान्डको वर्चस्व रहेको थाइल्यान्डको अटोमोबाइल क्षेत्रमा ठूलो हलचल पैदा भएको छ। बिवाइडी र ग्रेट वाल मोटर जस्ता चिनियाँ कम्पनीहरूले स्थानीय कारखाना स्थानान्तरण र निर्माण तीव्र पारेसँगै हाल थाइल्यान्डको कुल ईभी बजारको करिब ८५ प्रतिशत हिस्सा चिनियाँ ब्रान्डको नियन्त्रणमा पुगेको छ ।
यसका कारण जापानी सवारी उत्पादकहरूले उत्पादन घटाउनुका साथै सुजुकी र सुबारु जस्ता कम्पनीले आफ्ना थाइल्यान्डस्थित प्लान्टहरू नै बन्द गरेका छन् । सस्ता दर, आकर्षक प्रविधि र सरकारी छुटका कारण चिनियाँ ईभीको बिक्री ह्वात्तै बढे पनि यसले थाइल्यान्डको अर्थतन्त्र र श्रम बजारमा गम्भीर असर पारेको छ ।
चिनियाँ कम्पनीहरूले थाइल्यान्डका स्थानीय आपूर्तिकर्ताहरूसँग सहकार्य गर्नुको साटो मुख्य प्रविधि र पार्टपुर्जाहरू चीनबाटै आयात गर्ने क्लोज्ड इकोसिस्टम अपनाएका छन् । यसका कारण जापानी उद्योगमा निर्भर थुप्रै थाइ अटो-पार्ट्स कम्पनीहरू टाट पल्टिएका छन् ।
यसबाट करिब ७ लाख श्रमिकहरू जोडिएको आपूर्ति शृङ्खला सङ्कटमा परेको छ भने विज्ञहरूले आगामी पाँच वर्षमा ३ लाखसम्म रोजगारी गुम्न सक्ने चेतावनी दिएका छन् । साथै, चिनियाँ कम्पनीहरूमा थाइ श्रमिकहरूलाई अल्पकालीन करारमा राख्ने, युनियन गठन गर्न नदिने र बिना सेवा-सुविधा निष्कासन गर्ने जस्ता श्रम शोषणका उजुरीहरू बढेपछि थाइ सरकारले छानबिन अघि बढाएको छ ।
हालै मात्र थाइल्यान्ड सरकारले आयातित ईभीमा उच्च कर र स्थानीय पार्टपुर्जा प्रयोग गर्ने कम्पनीलाई सहुलियत दिने नयाँ कर नीति लागू गर्दै जापानी लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास थालेको छ । यद्यपि, घरेलु उद्योग र श्रमिकको हित संरक्षण गर्दै ईभी रूपान्तरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय थाइल्यान्डका लागि ठूलो चुनौती बनेको छ।














प्रतिक्रिया