डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने « Khabarhub

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ ।

डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ ।

जलाशययुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।

विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने तीन सय २५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट क्षमताका दुईवटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ ।

डोल्पाको छार्का ताङसोङ गाउँपालिका– ४ र ५ तथा काईके गाउँपालिका– १ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका– ४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका– १ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण गरिनेछ ।

आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका– ५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजार रुपैयाँ बराबर रहनेछ । प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० बराबर रहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । झ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युतगृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।

आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९‍.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो । (रासस)

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : १४ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति