शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम « Khabarhub

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत गर्न दिने घोषणा गरेसँगै मध्यपूर्वमा कूटनीतिक पहलहरू अघि बढेको संकेत देखिएको छ। 

तर, करिब एक महिनादेखि जारी द्वन्द्व पूर्ण रूपमा रोकिएको भने छैन, जसले क्षेत्रीय अवस्था अझै जटिल नै रहेको देखाउँछ । अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टनले तेहरानलाई शान्ति योजना पठाएको जनाएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्यतर्फ उन्मुख रहेको भन्दै आशावाद व्यक्त गरेका छन् ।

ट्रम्पले मंगलबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग अहिले पनि संवाद भइरहेको बताए। यद्यपि तेहरानले औपचारिक रूपमा कुनै वार्ताको पुष्टि गरेको छैन ।

उनले इरानले हालै गरेको कदमलाई ‘ठूलो संकेत’ का रूपमा उल्लेख गर्दै यसले सकारात्मक दिशा दिएको धारणा राखे। उनले उक्त कदमलाई ‘ठूलो उपहार’ का रूपमा व्याख्या गरेको भए पनि त्यसबारे विस्तृत खुलाएको छैन, तर यसलाई स्ट्रेट अफ होर्मुज खुला गर्ने निर्णयसँग जोडेर हेरिएको छ।

स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग हो, जहाँबाट विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्दछ । अमेरिका र इजरायलसँगको तनावपछि इरानले उक्त मार्ग अवरुद्ध गरेको थियो, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको थियो । 

तर, अहिले इरानले अन्तर्राष्ट्रिय सामुद्रिक संगठनमार्फत सन्देश जारी गर्दै ‘गैर–शत्रुतापूर्ण’ जहाजहरूलाई सुरक्षित मार्ग दिने जनाएको छ । यस कदमपछि कच्चा तेलको मूल्य करिब छ प्रतिशतले घटेको बताइएको छ र यसले विश्व बजारमा केही राहत ल्याएको छ ।

यसअघि इरानले आफ्ना मित्र राष्ट्रहरूलाई लक्षित नगर्ने बताएको भए पनि बीमा कम्पनीहरूले जोखिम उच्च भएको भन्दै जहाज सञ्चालनमा हिचकिचाहट देखाएका कारण धेरै जहाजहरू मार्गबाट टाढा बसेका थिए । पछिल्लो निर्णयले भने आपूर्ति शृङ्खला केही सहज हुने अपेक्षा गरिएको छ ।

कूटनीतिक पहलहरू अघि बढिरहेका बेला जमिनमा भने द्वन्द्व जारी नै छ । मंगलबार इरानबाट प्रहार गरिएको मिसाइलले इजरायलमा एक शिशुसहित एक दर्जनभन्दा बढी मानिसहरू घाइते भएका छन् ।

त्यसको जवाफमा इजरायलले इरानका विभिन्न क्षेत्रहरूमा ‘ठूलो लहर’ का रूपमा हवाई आक्रमण गरेको जनाएको छ । इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले आफ्नो देशको युद्ध योजना अपरिवर्तित रहेको र खतरा हटाउन कारबाही जारी रहने बताए।

द्वन्द्वको प्रभाव लेबनानमा पनि गहिरिँदै गएको छ । इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध कारबाही विस्तार गर्दै दक्षिणी लेबनानको लिटानी नदीसम्मको क्षेत्र नियन्त्रणमा लिने बताएको छ । हालसम्मका आक्रमणहरूमा लेबनानमा कम्तिमा एक हजार ७२ जनाको ज्यान गएको र १० लाखभन्दा बढी मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् । बेरुतका दक्षिणी उपनगरहरूमा बसोबास गर्नेहरूलाई सम्भावित आक्रमणको चेतावनी दिइएको छ ।

इरानले भने खाडी क्षेत्र नजिकको बुसेहरमा इजरायलले पुनः आक्रमण गरेको आरोप लगाएको छ । उक्त क्षेत्र ऊर्जा संरचनाका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । तेहरानकी एक स्थानीय महिलाले टेलिफोनमार्फत दैनिक रूपमा विस्फोट र मिसाइलको आवाज सुनिनु सामान्य जस्तै भएको बताउँदै ऊर्जा पूर्वाधारमाथि आक्रमण हुने चिन्ता बढेको उल्लेख गरे।

यसैबीच, नयाँ आणविक सम्झौताबारे कूटनीतिक पहलहरू पनि अघि बढिरहेका छन् । अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले अज्ञात अधिकारीहरूलाई उद्धृत गर्दै वासिङ्टनले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे प्रस्ताव पठाएको जनाएको छ । उक्त प्रस्तावमा युद्धविराम, संवर्धित युरेनियमको व्यवस्थापन, थप संवर्द्धनमा रोक तथा प्रतिबन्ध हटाउने विषय समेटिएको बताइएको छ ।

इजरायलको च्यानल १२ ले एक महिनाको युद्धविराम प्रस्तावसमेत अघि सारिएको उल्लेख गरेको छ, जसअनुसार इरानले आफ्नो संवर्धित युरेनियम हस्तान्तरण गर्ने र बदलामा दीर्घकालदेखि लागू रहेका आर्थिक प्रतिबन्धहरू हटाइने सम्भावना रहेको छ । साथै, नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकासमा सहयोग गर्ने विषय पनि छलफलमा रहेको जनाइएको छ ।

ट्रम्पले भने सम्भावित सहमतिको मूल आधार इरानलाई आणविक हतियार विकास गर्न नदिने रहेको दोहोर्‍याए । सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि उत्पन्न अविश्वासबीच नयाँ समझदारी खोज्ने प्रयास भइरहेको देखिन्छ ।

यद्यपि कूटनीतिक गतिविधि बढ्दै गए पनि सैन्य तयारी भने यथावत् छ । द वाल स्ट्रिट जर्नलका अनुसार संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा थप तीन हजार सैनिक पठाउने योजना बनाएको छ, जसले सम्भावित तनाव पुनः चर्किन सक्ने संकेत दिएको छ । 

क्षेत्रीय रूपमा पनि अस्थिरता फैलिएको छ । बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाले इरानतर्फबाट सम्भावित ड्रोन तथा मिसाइल आक्रमणहरू विफल बनाएको दाबी गरेका छन् । 

कुवेतको मुख्य विमानस्थलमा ड्रोन प्रहारपछि आगलागी भएको खबर आएको छ, जसले सुरक्षा चिन्ता थप बढाएको छ ।

यसरी, एकातर्फ इरानद्वारा जलमार्ग खुला गर्ने निर्णय र अमेरिकी शान्ति प्रस्तावले कूटनीतिक सम्भावनालाई अघि बढाएको देखिन्छ भने अर्कोतर्फ निरन्तर सैन्य गतिविधि, आक्रमण र अविश्वासका कारण मध्यपूर्वको अवस्था अझै संवेदनशील र अनिश्चित नै रहेको छ ।
 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज