फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध « Khabarhub

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको खुट्टा भाँचिने गरी खराब ट्याकल गरेका कतारी खेलाडी आसिम मादिबोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ ।

गत बिहीबार भ्यानकुभरमा भएको खेलमा क्यानडाले कतारलाई ६–० ले पराजित गर्दा मादिबोले कोनेमाथि खराब ट्याकल गरेपछि सिधै रातो कार्ड पाएका थिए । फिफाको अनुशासन समितिले बुधबार उक्त घटनालाई ‘गम्भीर खराब खेल’ ठहर गर्दै मादिबोमाथि प्रतिबन्धको निर्णय सुनाएको हो । यद्यपि, यो निर्णयविरुद्ध पुनरावेदन गर्न पाइने फिफाले जनाएको छ ।

यो प्रतिबन्धसँगै मादिबोले कतारका बाँकी विश्वकप खेल गुमाउने भएका छन् । बुधबार नै सियाटल स्टेडियममा भएको खेलमा कतार बोस्निया एन्ड हर्जगोभिनासँग ३–१ ले पराजित भइसकेको छ ।

विश्वकपमा क्यानडाको पहिलो ऐतिहासिक जित कोनेको गम्भीर चोटका कारण खिन्नतामा बदलिएको थियो । खेलको ५१ औं मिनेटमा मादिबोले पछाडिबाट गरेको खराब ट्याकलका कारण मैदानमै ढलेका कोनेले पीडाले कराउँदै आफ्नो खुट्टा समातेका थिए । उनको बायाँ खुट्टाको घुँडामुनिको हड्डी भाँचिएको छ । मैदानबाट स्टेचरमा बाहिरिँदै गर्दा पनि कोनेले दर्शकदीर्घातर्फ हात हल्लाएर आफू ठिक रहेको संकेत गर्दा रंगशालामा उपस्थित दर्शकले उनको समर्थनमा ताली बजाएका थिए । उनको सफल शल्यक्रिया भइसकेको छ ।

कोनेको स्थानमा मैदान छिरेका नाथन सालिबाले क्यानडाका लागि चौथो गोल गरेपछि कोनेको जर्सी नम्बर ८ प्रदर्शन गर्दै उक्त गोल आफ्ना घाइते सहकर्मीप्रति समर्पित गरेका थिए ।

मैदानमै रोए मादिबो, ड्रेसिङ रुममै पुगेर मागे माफी
फाउल गरेपछि कतारी खेलाडी मादिबो आफैं पनि निकै भावुक बनेका थिए । मैदानमै रुँदै टाउकोमा हात राखेका उनलाई कतारी टोलीका अन्य सदस्यले सम्हालेका थिए । क्यानडाका प्रशिक्षक जेसी मार्सका अनुसार खेल सकिएलगत्तै मादिबो आफैं क्यानडाको ड्रेसिङ रुममा पुगेर कोनेसँग व्यक्तिगत रूपमा माफी मागेका थिए ।

त्यति मात्र नभई, मादिबोले कतारका खेलकुद मन्त्रीसहित अस्पताल पुगेर कोनेको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए । उनीहरूलाई क्यानेडियन सकर एसोसिएसनका अध्यक्षले स्वागत गरेका थिए । कतार फुटबल एसोसिएसनले उक्त भेटघाट खेलकुद भावनाको उत्कृष्ट उदाहरण भएको बताउँदै कोनेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा ह्विलचियरमा रहेका कोने र मादिबोले अंकमाल गरेको देख्न सकिन्छ ।

घाइते कोनेले इन्स्टाग्राममार्फत आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिँदै लेखेका छन्, “मलाई सम्झने र मेरो लागि प्रार्थना गर्ने सबैप्रति म कति आभारी छु, म शब्दमा व्यक्त गर्न सक्दिनँ ।” बुधबार भ्यानकुभरमा क्यानडा र स्विट्जरल्यान्डबीच भएको खेलमा कोने ह्विलचियरमै मैदानको छेउमा बसेर आफ्नो टोलीको समर्थन गरिरहेका देखिएका थिए । उक्त खेलमा क्यानडा २-१ ले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ८ : ४३ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान