सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित « Khabarhub

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म आफूले मेहनत गरेर हुर्काएका बोटहरु काट्नुपर्दा मन निरास भयो । कफीखेती कसरी जोगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ”, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवाकी कफी किसान कृषक माया भट्टराईले भनिन् ।

यो उनको मात्र पीडा होइन । कफीको जननी जिल्ला भनेर चिनिने गुल्मीसहित अर्घाखाँची र प्यूठानका सयौँ किसान अहिले यस्तै पीडामा छन् । रोगकीराको सङ्क्रमण, गुणस्तरीय बिरुवाको अभाव, प्राविधिक ज्ञानको कमी, सिँचाइ र बजार व्यवस्थापनलगायत चुनौतीले पछिल्लो समयमा कफी किसान चिन्तित बन्दै गएका हुन् । “गवारोले उठिबास लगायो । फल दिने बेलामा रुखै काट्नुपर्ने अवस्था आएको छ”, अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ का कफी किसान हरिलाल पौडेलले भने, “किसानको लगानी खेर जाने अवस्था छ, उत्पादन सुरक्षित हुने वातावरण छैन ।”

कफीको जिल्ला भनेर चिनिने गुल्मीमा उत्पादनका हिसाबले पनि इतिहास बोकेको छ । पछिल्ला वर्षमा यहाँका किसानले व्यावसायिक कफीखेतीलाई आयआर्जनको प्रमुख माध्यम बनाउँदै आएका छन् । तर, उत्पादन वृद्धि हुँदै जाँदा बोटमा देखिएका समस्या समाधान नहुँदा किसान निरास बन्न थालेका हुन् । यिनै समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले कफी विकास केन्द्र आँपचौर, गुल्मीले सदरमुकाम तम्घासमा कफी उत्पादक, निर्यातकर्ता तथा सहकारी संस्थासँग समन्वयमा समस्या समाधानार्थ कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आज आयोजित कार्यक्रममा गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लाका अगुवा कफी किसानको सहभागिता छ । कार्यक्रममा सहभागी किसानले कफीखेतीमा देखिएका समस्याबारे खुलेर आफ्ना अनुभव राखे । किसानले विशेषगरी सेतो गवारोको सङ्क्रमण अहिलेको सबैभन्दा जटिल समस्या बनेको बताए । यसबाहेक हिउँद याममा कफीका बेर्ना सुक्ने, बीउमा गुणस्तरको कमी हुँदा बिरुवा राम्रोसँग फस्टाउन नसक्ने, पातमा डढेलो जस्तो रोग लाग्ने तथा आवश्यक प्राविधिक ज्ञानको अभावले उत्पादनमा प्रत्यक्ष असर परेको किसानको भनाइ छ ।

पर्याप्त छहारी र सिँचाइको अभावले पनि कफीखेतीमा चुनौती थपिएको किसानको भनाइ छ । त्यस्तै, बजारीकरणमा एकरूपता नहुँदा उत्पादकले उचित मूल्य नपाउने र यसबाट किसानलाई आर्थिक घाटा हुने गरेको सहभागीहरूले बताए । कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, गुल्मीका प्रमुख नवराज पण्डित, कफी विकास केन्द्र आँपचौरका वरिष्ठ बागवानी अधिकृत राहुल पाण्डे, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल तथा जिल्ला सहकारी सङ्घ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाले किसानले उठाएका जिज्ञासाको जवाफ दिँदै कफी क्षेत्रका समस्या समाधानका लागि सबै सरोकार भएका निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।

उनीहरूले कफी उत्पादनदेखि प्रशोधन, बजारीकरण र निर्यातसम्मलाई व्यवस्थित बनाउन किसान, सहकारी, सरकारी निकाय, स्थानीय पालिका र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै उनीहरूले रोग तथा कीरा नियन्त्रण, गुणस्तरीय बिरुवा उत्पादन, प्राविधिक सेवा विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

नेपालमा व्यावसायिक कफीखेतीको सुरुआत भएको जिल्ला गुल्मीमा अहिले एक हजार ८०० भन्दाबढी किसान कफीखेतीमा आबद्ध रहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । बढ्दो रोग, कीराको सङ्क्रमण र बजार व्यवस्थापनका चुनौती समाधान हुन नसके कफीखेतीप्रतिको किसानको आकर्षण विस्तारै घट्नसक्ने चिन्ता सरोकार भएकाहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ७ : ४६ बजे

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा