‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले « Khabarhub

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको नेपाली” हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। “एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ ” अर्थमन्त्री वाग्लेले भन्नुभयो।

प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उहाँको भनाइ छ। नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताउनुभयो।

“सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्नमा उल्लेखनीय सुरुवात गरेका छौँ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो।”

बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलेको भन्दै उहाँले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताउनुभयो। नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उहाँले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह गर्नुभयो।

“डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन्। तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो,” अर्थमन्त्रीले भन्नुभयो, “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो।”

सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको भन्दै उहाँले सरकारले थप के-के सहजीकरण गर्नुपर्छ, स्पष्टसँग भन्न पनि उहाँहरुलाई आग्रह गर्नुभयो। अस्ट्रेलियाको कुल जनसङ्ख्याको एक प्रतिशत हाराहारीमा रहनुभएका नेपालीहरू नेपालको समृद्धिका सम्पत्ति भएको भन्दै उहाँले देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न पनि सबैलाई आग्रह गर्नुभयो।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : ५४ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय