काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न सरकारले अपिल गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयले बुधबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै बाढीबाट प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दीर्घकालीन रूपमा पुनःस्थापना गर्न पनि उत्तिकै आवश्यक रहेको जनाएको हो ।
बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाइएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् ।
बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको जनाएको छ । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्यसमेत जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक सहयोग जुटाउन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सर्वसाधारण तथा सम्बन्धित सबैमा अपिल गरेको छ ।
सरकारले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सक्दो सहयोग गर्न आग्रह गर्दै सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई सूचनामा उल्लेख गरिएका बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरेको छ ।












प्रतिक्रिया