रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन « Khabarhub

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा विद्युत संरचनामा कार्यरत १३३ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीपछि जिल्लाका विभिन्न जलविद्युत आयोजना, प्रसारण तथा वितरण संरचनामा कार्यरत कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा विदेशी कामदारसमेत रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् ।

त्यस्तै, चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र आसपास रहेका एक जना सम्पर्कमा छैनन् । चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रही त्रिशूली–३ बी आयोजनाको निर्माणस्थलमा खटिएका थप ११ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

रसुवागढी जलविद्युत केन्द्रमा भने ५१ जना कर्मचारी तथा कामदार सम्पर्कमा रहेको र अन्य केही सम्पर्कविहीन रहेको जनाइएको छ । यस्तै, त्रिशूली–३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन भएका छन् ।

प्राधिकरणका त्रिशूली र देविघाट जलविद्युत केन्द्रमा कार्यरत एक–एक जना कर्मचारीसमेत सम्पर्कबाहिर छन्। रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना र गोटागन्ती क्षेत्रमा मिटर रिडिङ गर्ने एक जना कर्मचारी पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, त्रिशूली–२२० केभी प्रसारण लाइनको ३ बी हबमा ठेकेदार कम्पनीको तर्फबाट कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मतसम्भार तथा निर्माण कार्यमा खटिएका २९ जना पनि सम्पर्कविहीन छन् ।

बाढीपछि कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै हराइरहेकाहरूको खोज तथा उद्धारका लागि प्राधिकरणको टोली परिचालन गरेको छ ।

श्रेष्ठका अनुसार जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली पनि स्थानीय क्षेत्रमा परिचालन गरिएको छ ।

सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचनामा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । त्यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय भइरहेको छ ।

सम्पर्कविहीन कर्मचारी तथा कामदार र प्रभावित कार्यक्षेत्रमा रहेकाहरूको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ । बाढीले जलविद्युत आयोजनाका संरचनासमेत प्रभावित पारेपछि विद्युत उत्पादन तथा प्रसारण प्रणालीमा परेको असरबारे पनि प्राधिकरणले अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ८ : ३७ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार