काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाएको छ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले डा. शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको छ। शनिबार डा. कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको छ।
काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको हो। जसमा सात लाख ८३ हजार ८३६ सदस्य रहेको जानकारी दिइएको छ।
पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यले यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाइएको छ। यसका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलकाअनुसार यसपटक पाँच लाख ७३ हजार २६९ पुरानो नवीकरण र दुई लाख १० हजार ५६७ नयाँ गरी कुल सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ। उनले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताए।
निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिवद्ध रहेको बताए। उनले असोज १५ गते देशभरका वडामा अधिवेशन सुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए।
त्यस्तै, आगामी दिनमा सदस्यताका लागि आवेदन दिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।
कार्यक्रममा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले अत्यन्त छोटो समय चार दिनमै निर्माण गरिएको वेबसाइटमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको बताए। हाल वेबसाइट नयाँ सदस्यताका लागि लक्षित भए पनि भविष्यमा यसलाई थप व्यवस्थित गर्दै लगिने जनाइएको छ।













प्रतिक्रिया