ख्वप– हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको ।
दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ ।
आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ ।
धान काटेर भित्र्याउने समय सुरु भएसँगै भक्तपुरका किसानलाई धान सुकाउने, केलाउने र भण्डारण गर्न यतिखेर भने चटारो छ । विशेषगरी दसैँ तिहारको समयमा भक्तपुरका विभिन्न टोलका सडक तथा खुला ठाउँमा धान सुकाइरहेको देख्न सकिन्छ ।
सडकमा सुकाएको धानले यहाँको कृषि परम्परा, स्थानीय जीवनशैली र संस्कृतिलाई झल्काउँछ । भक्तपुरमा धान सुकाउँदै गरेकी मनिषा मचामसीका अनुसार दसैँ तिहारको समय बाटोमा धान सुकाउने दृश्य यहाँका लागि नयाँ नभएको बताइन् ।
पहिले भक्तपुरका अधिकांश घरमा झिँगटीको छाना हुने भएकाले घरको कौसीमा धान सुकाउन सम्भव नभएको उनले बताइन् । त्यसैले किसानले सडक, घर अगाडिको खुला ठाउँ तथा उपलब्ध खाली स्थानमा धान सुकाउने गरेको उनले बताइन् ।
‘झिँगटीको छाना हुने भएकाले सबैले खुला ठाउँमै धान सुकाउने गर्थे’, उनले भनिन्, ‘अहिले ढलान गरेका घर बनेका, कौशी भएका घरमा कतिपयले त्यहीँ धान सुकाउँथे ।’
भक्तपुरको परम्परागत बस्तीमा घरहरू एकअर्कासँग जोडिएका र खुला ठाउँ सीमित रहेकाले सडक नै धान सुकाउने महत्त्वपूर्ण स्थानका रूपमा प्रयोग हुँदै आएको छ ।
घाम लागेका बेला धान फिँजाएर सुकाउने र घाम अस्ताउन थालेपछि उठाएर सुरक्षित राख्ने चलन अझै कायम छ । स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले सडकमा धान सुकाउनसमेत पालो कुर्नुपर्ने अवस्था थियो । घरमा उत्पादन भएको धान सुकाउनका लागि उपयुक्त खुला ठाउँ पाउनु सजिलो थिएन ।
धान चोरी हुने डरले राति धानको थुप्रो कुरेर बस्नुपर्ने अवस्था रहेको उनले बताइन् । राति धान चोरी होला भन्ने डर हुन्थ्यो । त्यसैले राति धानको थुप्रोसँगै सुत्ने गरेका छौँ, उनले भनिन् । अहिले भने धान उत्पादन र सुकाउनुपर्ने परिमाण घट्दै गएको छ ।
सडक आसपासमा सिसी क्यामेरा जडान हुन थालेकाले धान कुरेर रात बिताउनुपर्ने अवस्था कम भएको छ । धान सुकाउने तरिका समयसँगै परिवर्तन भएको छ । पहिले सडकमा धान सुकाउनुअघि रातोमाटोले लिप्ने चलन थियो ।
सडकको सतह सफा गरी रातोमाटोले लिपेर त्यसैमाथि धान फिँजाउने गरिन्थ्यो । अहिले भने धान सफा राख्न बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याएर सुकाउने चलन बढेको छ ।
सडकमा धान सुकाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा भने असहज हुने गरेको छ ।














प्रतिक्रिया