चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक मोटरसाइकलमा आगलागी भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने अर्का चालक सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बा।प्र। ०३–००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र३–०३–००१ प २००० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनापछि बा प्र ०३–००३ प ००९४ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलका चालक भरतपुर–१३ निवासी ४६ वर्षीय सागर पौडेलको दुवै हातखुट्टा र छातीमा गरी शरीरको करिब ३६ प्रतिशत भाग जलेको छ।
घाइते पौडेललाई भरतपुरस्थित सरकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाका बेला उनले मादक पदार्थ सेवन गरेका थिए।
त्यस्तै, अर्को मोटरसाइकलका चालक भरतपुर–२२ निवासी १९ वर्षीय निसम बराल सामान्य घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया