काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला « Khabarhub

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी बढेको छ । तर, यसपटक काठमाडौंका थुप्रै निर्वाचन क्षेत्रमा उम्मेदवारको रूपमा पुराना अनुहार देखिएका छैनन् भने थुप्रै नयाँ अनुहार चुनावी मैदानमा प्रवेश गरेका छन् ।

तर काठमाडौं ८ मा भने ०७९ मंसिरमा भएको निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका पात्रहरू नै यसपटक पनि चुनावी मैदानमा छन् ।

०७९ को निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले १० हजार ११२ मत ल्याएर विजयी भएका थिए । सो निर्वाचनमा पराजित भएका मुख्य प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार १७९ मत ल्याएका थिए ।

सो निर्वाचनमा प्रतिस्पर्धामा रहेका कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार जीवराम श्रेष्ठले भने सो निर्वाचनमा जम्मा ४ हजार ८८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले ४ हजार ३८८ र नेकपा (एमाले)का शिवसुन्दर राजवैद्यले ३ हजार ८९१ मत ल्याएका थिए । 

अन्य दलको तर्फबाट उठेका र स्वतन्त्र उम्मेदवारहरूले सो निर्वाचनमा एक हजार मत पनि कटाउन सकेका थिएनन् । जबकी सो निर्वाचन क्षेत्रमा १९ जना कुल उम्मेदवार रहेका थिए ।

फागुन २१ गते हुने निर्वाचनमा काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ र सुमन सायमी बाहेक अन्य मुख्य प्रतिस्पर्धी अनुहार अहिले नयाँ देखिएका छन् । तर, यसपटकको चुनावमा सायमी विगतमा जस्तै स्वतन्त्र नभएर नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् ।

यसपटक कांग्रेसले सपना राजभण्डारी र एमालेले राजेश शाक्य र राप्रपाले नवीन शाहीलाई टिकट दिएको छ । सबै ०७९ को निर्वाचनमा उम्मेदवार थिएनन् ।

सङ्गठनात्मक प्रभाव, व्यक्तित्व र माहोल बन्न सक्छ निर्णायक

सामान्यतया काठमाडौंका मतदाताहरूले स्वविवेकको आधारमा प्रत्येक निर्वाचनमा मत परिवर्तन गरिरहेको पनि पाइन्छ । यहाँका कतिपय निर्वाचन क्षेत्रमा चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई निर्वाचित गराउने गरेका छन् ।
०७९ को आधारमा तुलना गर्दा यसपटकको निर्वाचनमा काठमाडौं ८ को चुनावी परिणाममा परिवर्तन आउन सक्ने धेरै कारण छन् भन्न सकिन्छ । 

पहिलो, संगठनात्मक रूपमा हेर्दा अघिल्लो निर्वाचनमा विराजभक्तलाई स्वतन्त्र रूपमा नै टक्कर दिएका सुमन सायमी यसपटक नेकपाको तर्फबाट उम्मेदवार बन्दा उनको पक्षमा प्राप्त हुने मतमा परिवर्तन हुनसक्ने सहज अनुमान गर्न सकिन्छ ।

०७९ को निर्वाचनमा कांग्रेसको समेत समर्थन रहेको जीवराम श्रेष्ठले प्राप्त गरेको संगठनात्मक ४ हजार ८८१ मतको एउटा हिस्सा अर्थात् हालको नेकपाको हिस्साको मत यसपटक सुमन सायमीले प्राप्त गर्न सक्छन् ।

तर यसपटकको निर्वाचनमा सबै दलबीचमा गठबन्धन नभएकाले विराजभक्तले भने आफ्नै दलको एकल संगठनकै प्रभावका आधारमा मत प्राप्त गर्ने स्थिति छ । तर, पछिल्लो समयमा रास्वपाको पनि देशव्यापी संगठन विस्तार पनि भएको छ ।

चुनावी नतिजामा संगठनात्मक परिचालन पनि महत्वपूर्ण विषय बन्ने भएकाले विराजभक्त र सुमन मध्ये कसले कुशल ढंगले संगठन परिचालन गर्न सक्छन् त्यसले सम्बन्धित पक्षमा बढी मत प्राप्त गर्ने वातावरण तयार गर्नसक्छ भनेर अनुमान गर्न सकिन्छ ।

चुनावको नतिजामा महत्वपूर्ण प्रभाव पार्ने अर्को विषय व्यक्तित्व पनि हो । काठमाडौं ८ मा विगतको आधारमा मुख्य दुई प्रतिस्पर्धी विराजभक्त र सुमन दुवै जना स्थानीय नेवारी समुदायका लोकप्रिय व्यक्ति हुन् । समाजमा दुवैजना झण्डै समान रूपमा स्थापित छन् ।

सुमन सायमी उमेरले विराजभक्त भन्दा ८ वर्षले जेठा छन् । तर, काठमाडौंका विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका मुद्दामा उनीहरू दुवैको झण्डै समान योगदान रहेको देखिन्छ ।

विराजभक्त ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट निर्वाचित भएका थिए भने उनी ०७९ को निर्वाचनमा रास्वपाबाट निर्वाचित भएपछि केही समय युवा तथा खेलकुद मन्त्री पनि बनेका थिए ।

सुमन भने ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा पनि उम्मेदवारी थिए । सो निर्वाचनमा बालेनसँग पराजित भएपछि उनले बालेनलाई नै समर्थन गरेर सफलतापूर्वक काम गर्न सघाउने घोषणा पनि गरेका गरे । 

तर, पछि सार्वजनिक जग्गा अतिक्रमणको नाममा र नदी संरक्षणको नाममा महानगरले कतिपय वस्तीमा डोजर चलाउन लागेपछि भने उनी जनताको पक्षमा उभिएर अभियान सञ्चालन गर्न थाले ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयक र काठमाडौंका कतिपय मुद्दामा सँगै रहेका विराजभक्त र सुमन दोस्रो पटकको आमने सामनेमा भने झण्डै व्यक्तित्व टकराव पर्ने समान पर्ने देखिन्छ । यसपटक जनतासँग विश्वासको वातावरण थप कसले निर्माण गर्नसक्ने भन्ने विषयले नतिजामा थप फरक पर्नसक्ने अनुमान गर्न सकिन्छ ।

तेस्रो, चुनावी नतिजा बदल्नमा माहोलले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जुन कुराको अनुभव विगतका निर्वाचनले पनि प्रदान गरेको छ । अहिलेको निर्वाचनमा जर्बजस्ती नयाँ र पुरानोको भाष्य निर्माण गर्न खोजिएको छ । काठमाडौं ८ मा सो भाष्यले कसरी काम गर्छ भन्ने कुराले पनि मत परिमाण फरक पर्न सक्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १२ : २९ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको