धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारबीच आज पुनः वार्ता हुँदैछ ।
आइतबार करिब १२ घण्टासम्म चलेको छलफलमा सहमतिको मस्यौदा तयार भए पनि केही प्राविधिक विषय टुंगोमा पुग्न नसक्दा अन्तिम सहमति हुन सकेन ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.हेमराज पाण्डेको कार्यकक्षमा सरकारी वार्ता टोली र डा। केसीका प्रतिनिधिबीच लामो छलफल भएको थियो । सोमबार बिहान १० बजे पुनः निर्णायक वार्तामा बस्ने सहमतिसहित दुवै पक्ष राति ११ बजे मात्रै छलफलबाट उठेका थिए ।
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी व्यवस्थापन र निजी मेडिकल कलेजमा सिट संख्या बढाउने विषयमा केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेकाले सहमति तत्काल हुन नसकेको डा.केसीका सहयोगी डा.अमृत जैशीले बताए ।
उनका अनुसार अहिले वार्ताको सबैभन्दा जटिल विषय विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको जिम्मेवारीबारे बनेको छ । स्वार्थको द्वन्द्व हुने गरी नियुक्ति गरिएको आरोप लगाउँदै डा. केसीले दुवै पदाधिकारीलाई हटाउनुपर्ने अडान राखेका छन् । सरकार भने विश्वविद्यालयको काम प्रभावित नहुने गरी वैकल्पिक कानुनी व्यवस्था खोज्ने प्रयासमा रहेको बताइएको छ ।
सरकार पक्ष विवादमा रहेका रजिष्ट्रार डा.भीमबहादुर चन्दलाई जिम्मेवारीमुक्त गर्न सकारात्मक देखिएको छ भने उपकुलपति डा. सुनिलप्रसाद जोशीको विषयमा अझै छलफल जारी रहेको स्रोतको भनाइ छ । गेटामा चालु आर्थिक वर्षभित्र ३०० शैय्याको अस्पताल सञ्चालन र मेडिकल शिक्षाको अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले केही समय हालकै पदाधिकारीलाई निरन्तरता दिने वा तत्काल वैकल्पिक नेतृत्व नियुक्त गर्ने विकल्पमाथि पनि छलफल भइरहेको छ ।
डा. केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका स्वार्थपरक तथा गैरकानुनी नियुक्ति खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्डविनै सिट वृद्धि गर्ने निर्णय रोक्न, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्न तथा विगतका सरकारसँग भएका सहमति लागू गर्न माग गरेका छन् ।
यसका साथै सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार गर्न, भदौ २३ र २४ का हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न तथा विगतदेखि भएका उच्चस्तरीय भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् ।
गत बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन सुरु गरेका डा। केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ ।












प्रतिक्रिया