भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ? « Khabarhub

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (बाढी पूर्वानुमान महाशाखा) ले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको भीषण बाढीको घटनाक्रम र समय अनुसारका तथ्याङ्क सार्वजनिक गरेको छ।

चीन (तिब्बत) तर्फ नदी थुनिएर बनेको ताल फुटेपछि उच्च जोखिम बनेको बाढी नेपाल प्रवेश गरेदेखि नारायणीसम्मको समयक्रम अनुसारको विवरण दिएको हो ।

एसएमएस पूर्वसूचनाले जोगियो मानवीय क्षति

तिब्बत-नेपाल सीमादेखि देवघाटसम्मको कुल दूरी १६८ किलोमिटर रहेको छ। बाढीको तीव्र गति र प्रभावका कारण रसुवाको भोटेकोशी, स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती र धादिङको मलेखुस्थित जलमापन केन्द्रका उपकरण तथा भौतिक संरचनाहरू बाढीले बगाएको महाशाखाले जनाएको छ।

संरचना ध्वस्त भए पनि महाशाखाले समयमै (बिहान ९:१५ बजेदेखि नै) मोबाइल नेटवर्कमार्फत तटीय क्षेत्रका झन्डै ७ लाख नागरिकलाई निरन्तर पूर्वसूचना र मेसेज पठाएका कारण थुप्रै नागरिकहरू समयमै सुरक्षित स्थानमा जान सफल भई ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्राविधिक प्रतिवेदनमा उल्लेख छ।

बिहान ८:३७ बजे: खानी तथा भूगर्भ विभागका अनुसार ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो।

बिहान ८:५० बजे: भोटेकोशी स्याफ्रुबेसी जलमापन केन्द्रबाट डाटा प्राप्त हुन बन्द भयो। उक्त केन्द्र बन्द हुनुअघि बिहान ८:४० बजे अन्तिम तथ्याङ्क १.६२ मिटर (चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर) रहेको थियो।

बिहान ९:०० बजे: भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना जिल्ला प्रशासन कार्यालय, रसुवा र बेत्रावतीमा रहेका जलमापन केन्द्रका कर्मचारीमार्फत बाढी पूर्वानुमान महाशाखालाई प्राप्त भयो।

बिहान ९:१५ बजे: महाशाखालाई भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको पुष्टि भयो। लगत्तै त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गर्दै रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रका नागरिकलाई नेपाल टेलिकम र एनसेल मार्फत ६ लाख ७९ हजार २ ९५ वटा ‘प्रारम्भिक पूर्वसूचना’ SMS पठाउन सुरु गरियो।

बिहान ९:२० बजे: बेत्रावती जलमापन केन्द्रबाट पनि डाटा प्राप्त हुन बन्द भयो। ९:२० बजेको अन्तिम तथ्याङ्क ३.५५ मिटर (चेतावनी तह ४.१ मिटर र खतरा तह ५ मिटर) थियो।

बिहान १०:२८ बजे: बाढी धादिङको गल्छी आसपास पुग्यो। केही घण्टामै बाढी मुग्लिन पार गर्ने अनुमान गरिएकाले पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ सडकखण्ड तथा त्रिशूली आसपासका बस्ती र बजार क्षेत्रलाई पुनः सतर्क रहन सूचित गरियो।

बिहान ११:२६ बजे: धादिङको फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्‍यो।

बिहान ११:४३ बजे: फुर्के जलमापन केन्द्रमा जलसतहले ‘खतराको तह’ पार गर्‍यो। त्यस लगत्तै फुर्के खोला केन्द्र र पुल बाढीले बगाउनुका साथै जलमापन केन्द्र पूर्ण रूपमा क्षति पुग्यो।

बिहान ११:५० बजे: बाढी मलेखु बजार आसपास पुग्यो। करिब आधा घण्टामा मुग्लिन पार गर्ने अनुमान गरिएकाले मुग्लिन-नारायणगढ तथा त्रिशूली नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरियो।

दिउँसो १:०० बजे: बाढीले मुग्लिन पार गरिसकेको जानकारी प्राप्त भयो। देवघाटसम्मका नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान पुनः अनुरोध गरियो।

दिउँसो १:२० बजे: चितवन-देवघाट बाढी मापन केन्द्रमा जलसतह ४.७६ मिटर पुग्यो। दिउँसो ३:३० बजेसम्म देवघाटमा बाढीको मुख्य बहाव पुग्ने र जलसतह करिब ३ मिटर बढेर ८ मिटर पुग्न सक्ने प्रारम्भिक आँकलन गरियो।

दिउँसो १:३५ बजे: चीनतर्फ प्राप्त सूचना अनुसार नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेको र जोखिम कायमै रहेको एसएमएसमार्फत पुनः सम्प्रेषण गरियो।

दिउँसो २:१४ बजे: कालीखोला जलमापन केन्द्रमा जलसतहले खतराको तह (१२.१ मिटर) पार गर्‍यो। सो केन्द्रमा उच्चतम जलसतह १२.३ मिटर मापन गरियो।

दिउँसो ३:२० बजे: बाढी नारायणी-देवघाट क्षेत्रमा पुग्यो र स्वचालित केन्द्रबाट प्राप्त जानकारी अनुसार जलसतह तीव्र गतिमा बढ्न थाल्यो।

अपराह्न ४:०० बजे: देवघाट जलमापन केन्द्रमा जलसतह उच्चतम विन्दु ६.५७ मिटर पुग्यो। त्यसपछि जलसतह क्रमिक रूपमा घट्न सुरु भयो।

साँझ ६:३० बजे: देवघाटमा बहाव सामान्य अवस्था करिब ४ मिटरमा फर्कियो। प्रारम्भिक आँकलन अनुसार देवघाटबाट पार भएको अतिरिक्त बाढीको आयतन करिब २ करोड घनमिटर (१९.९६ मिलियन घनमिटर) रहेको देखिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ५ : ४२ बजे

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा