रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो « Khabarhub

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढीको प्रारम्भिक कारणबारे नयाँ विवरण सार्वजनिक गरेका छन्।

नेपालतर्फ बुधबार बिहान गएको भूकम्पपछि हिमपहिरो र त्यसपछि पहिरो जाँदा भोटेकोशी र केरुङ-रसुवागढी सीमाक्षेत्रमा ठूलो क्षति भएको उनले बताएका छन् ।

सरकार नियन्त्रित एनटीभी वर्ल्डसँगको अन्तर्वार्तामा राजदूत चाङले प्रारम्भिक रूपमा उपलब्ध सूचनाअनुसार नेपालतर्फ गएको भूकम्पले हिमपहिरो निम्त्याएको र त्यसपछि माटो तथा ढुंगासहितको पहिरो खसेको बताए।

त्यसबाट नेपाल र चीन दुवैतर्फ मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको उनले जानकारी दिए।

प्राकृतिक विपद्बाट भएको क्षतिप्रति चीन गहिरो दुःखी रहेको उल्लेख गर्दै राजदूत चाङले चीनले कठिन परिस्थितिमा नेपालसँगै उभिएर सम्भव सबै सहयोग गर्ने बताएका छन् ।

उद्धारलाई चीनको उच्च प्राथमिकता

चिनियाँ राष्ट्रपति सी चिनफिङले विपद्बारे गम्भीर चासो राख्दै बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, घाइतेको तत्काल उपचार र मानवीय क्षति न्यून गर्ने कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका उनलेे बताए ।

राष्ट्रपति सीले विपद्को निरन्तर निगरानी र पूर्वसूचना प्रणाली बलियो बनाउन तथा वैज्ञानिक उद्धारमा जोड दिँदै दोस्रो चरणका विपद् रोक्नसमेत निर्देशन दिएको उनले बताए ।

बाढीपछि नेपालस्थित चिनियाँ दूतावासले तत्काल आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा चिनियाँ व्यवसायको अवस्थाबारे जानकारी संकलन गरेको राजदूत झाङले बताए।

दूतावासले नेपाली सरकार र सम्बन्धित निकायलाई उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गर्नुका साथै घटनास्थलमा कार्यदल पठाएर उद्धार तथा समन्वयमा सहयोग गरिरहेको उनले जानकारी दिए।

चीनतर्फको सीमावर्ती क्षेत्रमा पनि ठूलो क्षति भए पनि नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाइएको राजदूत चाङले बताए ।

चिनियाँ उपप्रधानमन्त्री तिब्बतमा

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा चीनको राज्य परिषद्का उपप्रधानमन्त्री झाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित तिब्बत पुगेको पनि राजदूत झाङले जानकारी दिए। उनले उद्धार तथा विपद् व्यवस्थापनको प्रत्यक्ष मार्गदर्शन गरिरहेको बताए।

चीनको विदेश मन्त्रालय, जलस्रोत मन्त्रालय, मौसम प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय तथा तिब्बत स्वायत्त क्षेत्रका सम्बन्धित निकायले नेपाली समकक्षीसँग समन्वय संयन्त्र स्थापना गरी विपद्को क्षति मूल्यांकन, खोजी तथा उद्धार र आगामी प्रतिक्रियाका विषयमा सहकार्य गरिरहेको राजदूत चाङले बताए।

उनले विपद्को अवस्थामा नेपाली सरकार र सम्बन्धित निकायले गरेको उद्धार तथा प्रतिकार्यको प्रशंसा गर्दै नेपाली जनताको धैर्य र प्रयासको पनि सराहना गरु।

विपद् न्यूनीकरणमा तीन क्षेत्रमा सहकार्य

भविष्यमा यस्ता प्राकृतिक विपद्को प्रभाव कम गर्न नेपाल र चीनले विपद् पूर्वतयारी, न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनमा सहकार्य थप विस्तार गर्नुपर्ने राजदूत चाङको भनाइ छ।

उनले मुख्यतः तीन क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए।

पहिलो, मौसम, जलविज्ञान र भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी तथा पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। सीमापार विपद्बारे सूचना आदानप्रदानको संयन्त्र सुधार गरी विपद्को प्रारम्भिक पहिचान, पूर्वसूचना र तत्काल प्रतिक्रिया सुनिश्चित गर्नुपर्ने उनले बताए।

दोस्रो, आकस्मिक विपद्का बेला संयुक्त उद्धार तथा प्रतिक्रिया प्रभावकारी बनाउन आपत्कालीन उद्धारसम्बन्धी सञ्चार, समन्वय र संस्थागत संयन्त्र थप मजबुत बनाउनुपर्ने उनले बताए।

तेस्रो, जनशक्ति प्रशिक्षण, प्राविधिक आदानप्रदान तथा आपत्कालीन राहत सामग्रीको व्यवस्थापनमा सहकार्य बढाउनुपर्ने उनको भनाइ छ। स्थानीय तहमा समेत विपद् रोकथाम, न्यूनीकरण तथा उद्धार क्षमताको विकास गर्नुपर्ने उनले बताए।

नेपाल र चीन हिमाल तथा नदीले जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै राजदूत चाङले आवश्यकताअनुसार नेपाललाई सक्दो सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १० : ४८ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन