मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरदेखि कोरला नाकासम्मको सडकमा ठाउँठाउँमा पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात भएपछि आवागमन रोकिएको हो ।
वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प भएको छ । सयौँ कन्टेनर भन्सार यार्डमै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गएरातिको भारी वर्षा र हिमपातले काभ्रेभीरदेखि कोरला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी–मुस्ताङ सीमाना काभ्रेभीर क्षेत्रमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण थासाङ गाउँपालिका–४ घाँसा क्षेत्रमा पनि कतिपय ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको उनले बताए ।
उनका अनुसार तल्लो घाँसा, घाँसा चेकपोस्ट नजिकलगायत स्थानमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिकैको फाराम खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । बाढीका कारण सडक अवरुद्ध भए पनि भौतिक क्षति नभएको उनले बताए । गाउँपालिकाले डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोरला नाका जोड्ने जोमसोम–पान्डा खोला सडकमा गएरातिको वर्षाले सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार कागबेनीदेखि वारागुङ–३ चैलेसम्मको सडक पनि अवरुद्ध भएको छ ।
कोरला नाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढी आएपछि सडकको ट्र्याक पूर्ण रूपमा क्षति भएको बस्यालले बताए । कागबेनीदेखि चैलेसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक संरचनामा क्षति पुगेको उनले उल्लेख गरे ।
यसैगरी, मुस्ताङमा गएराति भारी वर्षा भइरहँदा लोमान्थाङ र कोरला नाका क्षेत्रमा भारी हिमपात भएको छ । लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ९बीओपी०का इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका र भन्सार क्षेत्रमा गएराति भारी हिमपात भएको हो ।
हिमपातका कारण कोरला नाकाको दशगजा क्षेत्रमा पाल टाँगेर बस्ने स्थानीय व्यापारी समस्यामा परेका छन् । भारी हिमपातले स्थानीय व्यापारीले टाँगेका आधा दर्जनभन्दा बढी पाल भत्किएका छन् । कोरलाबाट लोमान्थाङ आवतजावत गर्ने राष्ट्रिय राजमार्ग सडक पनि हिउँले पूर्ण रूपमा अवरुद्ध भएको धितालले बताए ।
कोरला नाका क्षेत्रमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण नेपाल–चीन निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित भएको छ । धितालका अनुसार कोरला नाकास्थित मुस्ताङ भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर अलपत्र परेका छन् ।
भन्सार जाँचपास भइसकेका र सीमापारि मालवस्तु लिन जाने खाली कन्टेनरसमेत यथास्थानमा रोकिएको उनले बताए । कोरला नाका क्षेत्रमा एक फिटभन्दा बढी हिउँ परेको धितालले जानकारी दिए ।
त्यस्तै, भारी वर्षाका कारण विद्युत् सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । जोमसोम विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीका अनुसार घरपझोङ र थासाङ गाउँपालिकाको सीमाना चोखोपानीमा २४० किलोवाट क्षमताको जलविद्युत् गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको हो ।
वर्षाका कारण गएरातिदेखि म्याग्दीको दानादेखि कोवाङसम्मको ३३ केभी प्रसारण लाइनको सम्पर्क विच्छेद हुँदा मुस्ताङको विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले गएरातिको वर्षाले पुर्याएको क्षतिको विवरण संकलन गर्न सञ्चार सम्पर्कमा समस्या भइरहेको जनाएको छ ।
उत्तर–दक्षिण जोड्ने बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पनि गएरातिको भारी वर्षाले दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।














प्रतिक्रिया