काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला–पूर्णबहादुर खड्का पक्ष गरी तीन धारमा विभाजित छ । हालै सम्पन्न १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा चुनिएका छन् । अर्कोतर्फ पूर्वसभापति देउवा पक्षले चाहिँ २१ मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने शेखर कोइराला पक्ष भने अन्यौलमा देखिन्छ । आगामी अदालतमा आधिकारिकताको मुद्दा विचाराधीन रहेकाले तत्काल पार्टी एकताको सम्भावना देखिएको छैन ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहिसकेका एनपी साउद सुरुदेखि नै शेरबहादुर देउवाका साझेदार हुन् । उनी पहिलो पुस्तालाई सम्मानित स्थान दिँदै अबको नेतृत्व दोस्रो तहका नेताहरूलाई हस्तान्तरण गर्ने गरी सहमतिको महाधिवेशन गराउने तयारी भइरहेको बताउँछन् । कांग्रेसको विवाद र अबको बाटोबारे खबरहबले नेपाली कांग्रेसका नेता एनपी साउदसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुारकानीको सम्पादित अंश-
तपाईँहरू मंसिरमा महाधिवेशन गर्ने तयारीमा हुनुहुन्छ । प्रक्रिया कहाँसम्म पुग्यो ?
धेरै वटा वडामा अधिवेशनहरू सम्पन्न भइसकेका छन् । पालिका स्तरका अधिवेशन पनि केही सीमित ठाउँमा मात्रै बाँकी छन् । अरु पूरा भइसकेको छन् । प्रदेश सभा र क्षेत्रीय तहको अधिवेशन पनि अधिकांश तहमा भइसकेका छन् । एक जिल्ला निर्वाचन क्षेत्र भएका सीमित ठाउँमा पनि अधिवेशनहरू भइसकेका छन् ।
जिल्ला अधिवेशनका लागि कार्तिक १५ गतेसम्मको समय तोकिएको थियो । तर त्योभन्दा केही समय अगाडि नै केही जिल्लाहरूको अधिवेशन सम्पन्न हुने अवस्था छ ।
पार्टी कार्यालय नहुँदा समस्या भएको र कुनै ठाउँमा कार्यसमिति बनाउन नै मान्छे नपुगेको भन्ने खालका कुराहरू आइराखेका छन् नि ?
कतिपय वडामा एउटै कार्यालयमा अर्को पक्ष र हामी मिलेर काम गरिरहेका छौँ । कतिपय स्थानमा चौताराहरूमा पनि हामीले कार्यक्रमहरु गरेका छौँ । कञ्चनपुर जिल्ला कार्यालयमै मैले अस्ति जिल्ला अधिवेशन सम्पन्न गरेर आएको हुँ । जहाँसम्म तपाईँले मान्छे नपुगेको कुरा गर्नुभयो, धेरै ठाउँहरूमा यति धेरै कार्यकर्ताको चाप छ कि मेरै निर्वाचन क्षेत्रमा पनि १५ दिनमा क्षेत्रीय महाधिवेशन प्रतिनिधि छान्नका लागि सहमति जुटाउन सकेको छैन । त्यसकारण मान्छेहरु धेरै हुनुहुन्छ । आकांक्षीहरु धेरै हुनुहुन्छ ।
कति जति महाधिवेशन प्रतिनिधिहरू आउनुहोला ?
विधानले जे निर्देशन गरेको छ, उत्तिनै सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरू आउँछन् । एक निर्वाचन क्षेत्रमा ३५ जनाका दरले निर्वाचन प्रतिनिधिहरू आउँछन् । त्यसरी आउने प्रतिनिधिको सङ्ख्या ७ हजार ४ सय २५ छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा अदालतमै विचाराधीन छ । गगन थापा पक्षले महाधिवेशन गरिसक्नुभयो, तपाईंहरु पनि गर्दै हुनुहुन्छ । अब के हुन्छ ?
नेपाली कांग्रेसको एकताको महाधिवेशन भनेको १४औं महाधिवेशन हो । अहिले १४औं महाधिवेशनका साथीहरुले नै मंसिरमा १५ औं महाधिवेशन गर्न लाग्नुभएको छ । १४औं महाधिवेशनमा भाग लिएका सबै जनालाई हामी आफ्नो महाधिवेशनमा भाग लिन अनुरोध गर्छौँ । सबैलाई हामी स्वागत गर्न चाहन्छौँ । एकताको महाधिवेशन बनाउनका लागि तपाईँहरू मंसिरमा हुने महाधिवेशनमा सहभागी भइदिनुहोस् ।
तपाईँहरूले मंसिरमा गर्ने महाधिवेशन नै एकताको हुन सक्दैन ?
हामी १५औँलाई पनि एकताको महाधिवेशन बनाउन चाहन्छौँ । तर, गगनजीहरू यसमा आउने सम्भावना तत्कालै देखिँदैन । त्यसकारण हाम्रो अरु साथीहरूलाई समेट्ने कुराकानीमा छलफल भइरहेको छ ।

अहिले गगन थापा पक्षसँग पनि तपाईँहरू वार्तामा हुनुहुन्छ ?
उहाँले महाधिवेशन गरिसक्नुभयो । हामी अब अदालतको निर्णय पर्खिरहेका छौँ ।
डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासँग पनि यहाँहरूको विमर्श भइरहेको छ ?
सबैसँग छलफल, विमर्श, कुराकानी भइरहेको छ । हामी चाहिँ आफ्नो अधिवेशन सम्पन्न गर्नका लागि अगाडि बढेका छौँ ।
डा. शेखर कोइराला र पूर्णबहादुर खड्का यहाँहरुको महाधिवेशनमा सामेल हुने सम्भावना छ कि छैन ?
त्यो चाहिँ उहाँहरू सँगै सोध्ने कुरा भयो। हामीसँग अहिलेको कुराकानीमा आउने भन्ने पनि ठ्याक्कै भनिसक्नुभएको छैन । उता गगनजीहरुसँग नगएपछि हामीसँगै आउनुहुन्छ भन्नेमा विश्वस्त छौं । अदालतको निर्णय आइसकेपछि सबै कुरा मिल्छ ।
कांग्रेस दुईतिर लाग्दा बीचमा बसेका धारलाई चाहिँ समस्या भयो नि हैन ?
१४औं महाधिवेशनमा जो जो साथीहरू सामेल हुनुभएको थियो । उहाँहरुलाई आउनुहोस् महाधिवेशन गरौँ भनेर भनिरहेका छौँ । उहाँहरु आउने क्रम पनि जारी छ । हामीले १४औँ महाधिवेशनलाई आधार बनाएर नै अदालतमा न्यायका लागि गएका छौँ । अदालतको निर्णयबाट आधिकारिकता प्रमाणित हुनेछ ।
त्यसपछि राजनीतिक प्रक्रियाबाट एकताको सम्भावना बाँकी रहनेछ । कानुनी प्रक्रियाको कुरो अदालतले टुङ्गा लगाएर मात्रै राजनीति प्रक्रियामा अगाडि बढ्छौँ । हामी सबै साथीहरूलाई मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सहभागी हुन आग्रह गर्दछौँ ।
अदालतको निर्णयपछि मात्रै तपाईँहरूले महाधिवेशन गरेको भएपनि हुन्थ्यो नि है?
अदालतले कानुनबमोजिम निर्णय दिन्छ । हामीलाई आधिकारिकता दियो भने उहाँहरूलाई स्वागत गर्न हामी जहिले पनि तयारै छौँ । उहाँहरूको कुरो उहाँहरुले बताउनुहुन्छ । हामी चाहिँ यसमा स्पष्ट छौँ ।
के गर्दा चाहिँ कांग्रेस एक होला ? दुवै तर्फबाट के गर्नुपर्छ ?
अदालतले १४औं महाधिवेशनलाई मान्यता दियो भने … । १४औं महाधिवेशन सबैको साझा चौतारी थियो । त्यही चौतारीबाट छुट्टिने या छुटाउने कोसिस भएको छ । त्यही १४औं महाधिवेशनलाई मान्यता दियो भनेदेखि हामी एकै ठाउँमा रहन्छौँ ।
१४औं महाधिवेशनलाई मान्यता नदिएको अवस्थामा एक हुने ठाउँ हुँदैन ?
यहाँहरुलाई थाहा नै छ, १४औं महाधिवेशनलाई नै अदालतले मान्यता दियो भने मात्रै हामी एक हुन्छौँ । नत्र आ-आफ्नो बाटो लाग्न पनि सक्छौँ । पहिला अदालतको निर्णय आओस्, त्यसपछि को कता लाग्ने भन्ने कुराको निर्णय हुन्छ । अदालतको निर्णय नआएसम्म यसै भन्न सकिने अवस्था छैन ।
१५औँ महाधिवेशनका लागि के तयारी गर्दै हुनुहुन्छ ?
अहिले फाइनल भएको छैन । पहिला महाधिवेशन प्रतिनिधि चुनिन दिउँ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएकाले त्यसलाई अवलम्बन गरेर केहीको तयारी गर्न सक्छु । सहमतिका लागि कोसिस गर्छौँ, नत्र लोकतान्त्रिक प्रक्रिया अपनाउँछौँ ।
आगामी नेतृत्वको विषयमा पनि चर्चा हुने गरेको छ, शेरबहादुर देउवाले कसलाई अगाडि सार्नुहोला?
त्यसको विषयमा छलफल गरेरै अगाडि बढ्छौँ । सकेसम्म सहमतिको बनाउने प्रयत्न रहन्छ ।
अहिले संयोजक तोकेका डा. शेखर शशांक कोइराला आउने सम्भावना पनि रहन्छ ?
उहाँ आउने सम्भावना पनि रहन्छ । सकेसम्म सहमतिको महाधिवेशन बनाएर जान सक्छौँ । त्यसकारण नेतृत्वको विषयमा अहिले हामी प्रवेश गरिसकेका छैनौँ । तर उहाँको पनि सम्भावना उत्तिकै हुन्छ ।
शीर्ष नेताहरूका लागि कस्तो पद सिर्जना गरिन्छ, कस्तो ठाउँ दिइन्छ भन्ने कुराहरू पनि उठिरहेका छन् नि ?
पद सिर्जना गर्ने विषयमा चाहिँ पुगिसकेका छैनौँ । तर शीर्ष नेताहरूलाई सम्मानजनक ठाउँ दिने विषयमा हामी एकदमै सकारात्मक छौँ । शीर्ष नेताको सम्मान नगरी कुनै पनि पार्टी अगाडि बढ्न सक्दैन । त्यसकारण शीर्ष नेतालाई सम्मानपूर्वक ठाउँ हुन्छ । सिनियरदेखि युवासम्मकै कांग्रेसहरु एक ठाउँमा ल्याउने प्रयत्न हामीले गरिराखेका छौँ । शीर्षलाई सम्मान गर्नैपर्छ, पद राख्नै पर्छ ।
देउवालाई नै पुनः नेतृत्वमा त ल्याउनु हुन्न नि ?
त्यो सम्भावना छैन त्यसबारेमा उहाँले पनि इच्छा व्यक्त गर्नुभएको छैन । र, त्यो बाटोमा अब हामी जान पनि जाँदैनौँ । कांग्रेसको नेतृत्व दोस्रो पुस्ताले गर्छ । दाइहरूलाई हामी सम्मानित ठाउँमा राख्छौँ ।














प्रतिक्रिया