काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका मन्दाना फेरि चर्चामा छन् । यस पटक उनीहरू कुनै नयाँ फिल्मका कारण नभई आफ्नो सम्बन्धबारे सामाजिक सञ्जालमा फैलिएका भनिएका भ्रामक सामग्री र अनलाइन दुर्व्यवहारका कारण चर्चामा आएका हुन् । करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा आफ्नो सम्बन्धबारे कुराकानी गरेपछि सुरु भएको विवादले अहिले साइबर अपराधसम्बन्धी निकायसम्मको बाटो तय गरेको छ ।
अभिनेता विजय र अभिनेत्री रश्मिकाको टिमले हैदराबादका साइबर अपराधसम्बन्धी अधिकारीसमक्ष औपचारिक उजुरी दिएको छ । टिमले जारी गरेको प्रेस नोटअनुसार उनीहरूका व्यवस्थापक पी निशान्त कुमारले उजुरी दर्ता गराएका हुन् । सामाजिक सञ्जालमा उनीहरूबारे नक्कली जानकारी फैलाउने, सम्पादन गरिएका स्क्रिनसट सार्वजनिक गर्ने, नक्कली पहिचान प्रयोग गर्ने र लक्षित रूपमा दुर्व्यवहार गर्ने गतिविधि भएको आरोप लगाइएको छ । अनुसन्धानका लागि आवश्यक लिंक तथा अन्य प्रमाणसमेत अधिकारीलाई बुझाइएको बताइएको छ ।
टिमले उजुरीको उद्देश्य अभिव्यक्ति स्वतन्त्रता रोक्नु वा वास्तविक आलोचनालाई दबाउनु नभएको स्पष्ट पारेको छ । बरु, प्रमाणित रूपमा गलत सूचना फैलाउने र कानुन उल्लङ्घन हुन सक्ने गतिविधिमा संलग्न व्यक्तिलाई जवाफदेही बनाउन खोजिएको जनाएको छ । साथै, अपुष्ट जानकारी साझा नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्दै आवश्यक परे कानुनी कदम चाल्ने चेतावनीसमेत दिएको छ ।
के भनेका थिए रश्मिका र विजयले ?
‘कफी विद करण ९’ को दोस्रो भागमा सहभागी हुँदा रश्मिकाले विमानस्थलमा विजयलाई ‘हामी विवाह गरौँ न’ भनेको प्रसंग सुनाएकी थिइन् । जसमा उनले “हुन्छ, तिमी मलाई १०० पटक सोध” भनी जवाफ दिएका थिए । त्यसपछि रश्मिकाले उनलाई एक वर्षभरि लगातार सोधिरहेको कुरा खुलाइन् ।
विजयले भने विवाहजस्तो ठूलो निर्णयअघि समय लिन चाहेको बताएका थिए । तर, केही दर्शकले उक्त संवादलाई रश्मिका सम्बन्धप्रति बढी प्रतिबद्ध रहेको र विजयको व्यवहार उचित नभएको अर्थमा लिए । त्यसपछि सामाजिक सञ्जालमा विजयलाई ‘रेड फ्ल्याग’ भन्दै आलोचना गरियो ।
अक्टोबर २६ मा दुवैले छुट्टाछुट्टै पोस्टमार्फत प्रतिक्रिया दिएका थिए । रश्मिकाले विजयलाई हजार पटक पनि रोज्ने बताउँदै उनको समर्थन गरिन् भने विजयले आफ्नो वैवाहिक जीवन ‘अत्यन्त खुसीपूर्ण’ रहेको उल्लेख गर्दै सम्बन्धबारे टिप्पणी गर्नेहरूप्रति असन्तुष्टि जनाए ।














प्रतिक्रिया