वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब ६ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको ६ महिनामा ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ ।
त्यस्तै १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।













प्रतिक्रिया