एजेन्सी– सन् २०२५ मा युरोपेली उपभोक्ताहरूका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी साधनहरू सबैभन्दा लोकप्रिय पावर विकल्पका रूपमा उभिएका छन् । मंगबार सार्वजनिक गरिएको तथ्यांकअनुसार हाइब्रिड कारहरूले विशुद्ध पेट्रोल–सञ्चालित कारहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन् ।
युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिइए) का अनुसार सन् २०२५ मा युरोपेली सङ्घ (ईयु) भर करिब १८ लाख नयाँ सवारी साधन दर्ता भएका थिए ।
यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतको वृद्धि हो । यद्यपि, एसिइएले जारी गरेको विज्ञप्तिमा नयाँ कार बिक्री अझै पनि कोभिड–१९ महामारीअघिको स्तरभन्दा धेरै तल रहेको उल्लेख गरिएको छ ।
समग्र बिक्रीमा सामान्य वृद्धि देखिए पनि उपभोक्ताहरूको रोजाइ स्पष्ट रूपमा वैकल्पिक ऊर्जा प्रविधितर्फ सरेको देखिन्छ । हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको माग निरन्तर बढिरहेको तथ्यांकले पुष्टि गरेको छ ।
गत वर्ष हाइब्रिड–इलेक्ट्रिक सवारी साधनको बिक्री १३.५ प्रतिशतले वृद्धि भई इयुको कुल नयाँ कार बिक्रीको ३४.५ प्रतिशत पुगेको छ । यसले हाइब्रिड कारलाई पेट्रोल कारभन्दा स्पष्ट रूपमा अगाडि राखेको छ । पेट्रोल कारको बजार हिस्सा २६.६ प्रतिशतमा सीमित रहेको थियो ।
यसैबीच, ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको बिक्री ३० प्रतिशतले बढेर समग्र बिक्रीको १७.४ प्रतिशत पुगेको छ । एसिइएले भने सन् २०२४ मा कमजोर आधारबाट सुधार आएको जनाउँदै इयुले तय गरेका सङ्क्रमण तथा वातावरणीय लक्ष्यहरू हासिल गर्न अझै तीव्र वृद्धि आवश्यक रहेको बताएको छ ।
प्लग–इन हाइब्रिड सवारी साधनको बिक्री पनि गत वर्ष बढेको देखिएको छ । तर, परम्परागत पेट्रोल र डिजेल सवारी साधनको बिक्री भने उल्लेखनीय रूपमा घटेको छ । पेट्रोल र डिजेल कारको संयुक्त बजार हिस्सा सन् २०२४ मा ४५.२ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ३५.५ प्रतिशतमा झरेको छ ।
कार निर्माताहरूको हिसाबले हेर्दा फक्सवागन समूहले सन् २०२५ मा आफ्नो बिक्री ५.५ प्रतिशतले बढाउँदै युरोपमा सबैभन्दा धेरै कार बिक्री गर्ने निर्माताको रूपमा आफ्नो अग्रता अझ बलियो बनाएको छ । फ्रान्सको रेनोले पनि समान स्तरको वृद्धि दर्ता गरेको छ ।
तर, प्युजो, फिएटलगायत थुप्रै युरोपेली ब्रान्डहरू समेटिएको स्टेलान्टिस समूहको बिक्री भने ४.७ प्रतिशतले घटेको छ । चिनियाँ कार निर्माता बिवाइडीले इयुमा आफ्नो बिक्री गत वर्ष तीन गुणासम्म बढाएको छ, यद्यपि यो वृद्धि तुलनात्मक रूपमा सानो आधारबाट भएको हो ।
एमजी ब्रान्डको स्वामित्वमा रहेको चीनको एसआईसी मोटरको बिक्री पनि करिब एक तिहाइले बढेको तथ्याङ्कले देखाएको छ । यसले युरोपेली बजारमा चिनियाँ ब्रान्डहरूको उपस्थिति विस्तार हुँदै गएको संकेत गरेको छ ।
यसको विपरीत, अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्री सन् २०२५ मा करिब ३८ प्रतिशतले घटेको छ । एसिइएका अनुसार कम्पनीका प्रमुख अर्बपति एलोन मस्कसँग जोडिएका राजनीतिक विवादहरूले युरोपमा टेस्लाको ब्रान्ड छविमा नकारात्मक असर पारेको छ ।
मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुका साथै जर्मनीको अति–दक्षिणपन्थी एएफडी पार्टीप्रति समर्थन जनाएपछि टेस्लाको प्रतिष्ठामा क्षति पुगेको विश्लेषकहरूको भनाइ छ ।













प्रतिक्रिया