काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि नै भारतसँग सरकारकै शैलीमा पत्राचार गर्दै सहयोग मागेको पत्र भाइरल भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउँदै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको पत्र भाइरल भएपछि विवाद भएको छ ।
पार्टीको तर्फबाट पठाइएको भनिएको उक्त पत्रमा भारतको स्वतन्त्रताको ७७औँ वर्षगाँठको अवसरमा भारत सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिइएको छ।
उनीहरूले नेपालमा सेप्टेम्बर ७ र ८ को जनआन्दोलन तथा त्यसपछिको राजनीतिक परिस्थितिमा शान्ति, स्थिरता, संवैधानिक निरन्तरता र विकासका लागि भारतले दिएको सहयोगप्रति आभार जनाएका छन्।
रास्वपाले आगामी मार्च ५ (फागुन २१)मा हुने आम निर्वाचनका सन्दर्भमा भारतबाट प्राप्त आर्थिक, भौतिक तथा राजनीतिक सहयोगको पनि प्रशंसा गरेको छ।
भारतको निरन्तर सहयोगले नेपालको स्थिरता, संस्थागत सबलता र दिगो विकासमा सकारात्मक योगदान पुग्ने विश्वास पत्रमा उनीहरूले व्यक्त गरेका छन्।
पत्रमा हालैको जेन-जी आन्दोलनका नेता तथा युवा प्रतिनिधिहरू रास्वपाअन्तर्गत संगठित भएको उल्लेख गर्दै पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा अघि सारेको जानकारी गराएको छ।
उनको नेतृत्वमा नेपाल–भारत सम्बन्ध अझ रचनात्मक र पारस्परिक रूपमा लाभदायक बन्ने अपेक्षा पार्टीले गरेको छ।
रास्वपाले नेपाल–भारत सीमा विवाद संवादमार्फत समाधान गर्नुपर्ने आफ्नो स्पष्ट धारणा दोहोर्याएको छ। ऐतिहासिक समझदारी र समकालीन यथार्थलाई ध्यानमा राखेर वार्ताबाट समस्या समाधान गर्नुपर्ने पार्टीको भनाइ छ।

सरकार गठन भए द्विपक्षीय सम्बन्ध सुदृढ गर्न परिणाममुखी कदम चालिने पनि पत्रमा उल्लेख छ। सुशासन संस्थागत गर्न व्यापक सुधार कार्यक्रम अघि बढाइने र त्यसका लागि भारतसहित अन्य साझेदार देशको सहयोग आवश्यक रहने रास्वपाले जनाएको छ।
रास्वपाले संवैधानिक तथा कानुनी सुधार, पूर्वाधार विकास, आर्थिक सुदृढीकरण, रोजगारी सिर्जना, औद्योगिकीकरण, निर्यात विस्तार, कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा भारतको निरन्तर सहयोगको अपेक्षा गरेको छ।
पत्रमा विगतमा नेपाल–भारत सम्बन्धमा केही सीमितता देखिएको स्वीकार गर्दै बाह्य सम्बन्धको प्रभावकारिता आन्तरिक सुशासनसँग जोडिएको उल्लेख गरिएको छ।
सुशासन स्थापना गर्न असंगत कानुनहरूको पुनरावलोकन, संघीय संरचनाको समीक्षा तथा आवश्यक परे संवैधानिक सुधार गर्ने नीति पनि पार्टीले अघि सारेको छ।
रास्वपाले नेपालको परराष्ट्र नीति सन्तुलित र दूरदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता राख्दै सबै छिमेकी देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने जनाएको छ।
नेपालले आफ्ना कदमले भारतका वैध हितमा प्रतिकूल असर नपरोस् भन्नेमा सचेत रहने पनि पत्रमा उल्लेख छ।
प्रतिक्रिया
रास्वपा विदेश विभाग प्रमुख शिशिर खनालले भने उक्त पत्र सही नभएको जनाएका छन् ।
बालेन र रवि लामिछानेले भारतीय प्रधानमन्त्री मोदीलाई पठाए भनिएको पत्र आधिकारिक नभएको उनको भनाइ छ । ‘त्यो पत्र झुटो हो । आधिकारिक होइन’, उनले भनेका छन् ।
यता काठमाडौंस्थित भारतीय दूतावासका एकजना अधिकारीले पनि उक्त व्यहोराको पत्राचार नभएको अस्वीकार गरेका छन् । ती अधिकारीले यो पत्रलाई उनले ‘फेक’को संज्ञा दिएका छन् ।













प्रतिक्रिया