काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् । पेशागत रूपमा नर्स रहेकी मेहता स्वास्थ्य सेवामा सक्रिय रहँदै राजनीतिक यात्रामा अघि बढेकी हुन् । समानुपातिकतर्फबाट सांसद बनेकी उनी सुनसरी इनरुवाकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध रहँदै आएकी उनी अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा पनि समेटिएकी थिइन् । त्यसबेला उनी सांसद बन्न सकिनन् । यसपटक उनी मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनिन् ।
३९ वर्षीया निशालाई सानैदेखि राजनीतिमा रुचि थियो । इनरुवामा जन्मिएकी उनी पेशाले नर्स हुन् । भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरिन् ।
निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र लिएपछि मात्रै उनले स्वास्थ्य सेवाबाट राजीनामा दिएकी थिइन् । स्वास्थ्य क्षेत्रमा गरेको सेवाले उनलाई सेवा प्रणालीका कमजोरी, पहुँचको असमानता र व्यवस्थापनका चुनौतीबारे नजिकबाट बुझ्ने अवसर दियो ।
सांसद बनेपछि उनले उक्त अस्पतालबाट राजीनामा दिँदै गर्दा यस पेशागत पहिचानबाट नीतिगत भूमिकातर्फ आफूलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशको प्रशासन सचिवका रूपमा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम र समुदाय केन्द्रित गतिविधिमा महत्वपूर्ण भूमिका खेलेकी छन् ।
संघलाई सक्रिय र चलायमान बनाउन उनको योगदान उल्लेखनीय मानिन्छ । यसले उनको नेतृत्व क्षमतासँगै संगठन सञ्चालन र समुदायसँग जोडिने दक्षता देखाउँछ ।

उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । पारिवारिक साथले नै उनको राजनीतिक यात्रामा महत्वपूर्ण भूमिका खेलेको उनी स्वीकार गर्छिन् । पतिले निशा पहिलेदेखि नै तयारीका साथ राजनीतिमा सक्रिय रहेको र त्यही निरन्तरताले संसद्सम्म पुर्याएको बताउँछन् ।
उनका अनुसार निशाको पहिलेदेखि नै समाज सेवामा रुचि थियो । मधेशी महिला र बालबालिकाका विषयमा अध्ययन गरेकी छिन् । त्यसकारण पनि उनी ती वर्गका मुद्दामा प्रभावकारी आवाज बन्न सक्ने सम्भावना बोकेकी कुशल पात्र हुन् ।
संघीय सांसदको प्रमाणपत्र लिँदै गर्दा निशा निकै भावुक बनेकी थिइन् । उनले ‘यो केवल उपलब्धि होइन, मेरो काँधमा आएको ठूलो जिम्मेवारी हो’ भन्ने प्रतिक्रिया दिएकी थिइन् ।
उनले आफ्नो सफलतामा परिवार, समर्थक र आमजनताको योगदानलाई स्वीकार्दै आभार व्यक्त गरेकी थिइन् । यसले उनको राजनीतिक शैलीमा नम्र र सामूहिकताको भावना देखाउँछ ।
अबको यात्रामा मेहताले समयअनुसारका मुद्दा संसद्मा उठाउने प्रतिबद्धता जनाएकी छन् । विशेषगरी प्रहरी कर्मचारीका समस्या, किसानका समस्या, मधेशी महिलाका अधिकार, स्वास्थ्य क्षेत्रका बेथिति जस्ता विषयमा आवाज उठाउने उनी बताउँछिन् ।
एकातिर उनी नयाँ अनुहार हुन् । जसलाई आफ्नो पहिचान स्थापित गर्नुपर्ने हुन्छ । अर्कोतिर उनीसँग स्वास्थ्य, समाज सेवा र सङ्गठनात्मक अनुभवको बलियो आधार छ । समानुपातिक सांसदका रूपमा उनको भूमिका केवल प्रतिनिधित्वमा सीमित हुँदैन ।
बरु नीतिगत बहसमा सक्रियता, जनताको आवाजलाई संस्थागत रूप दिने क्षमता र परिणाममुखी हस्तक्षेपमा निर्भर रहनेछ। सुनसरी सदरमुकाम इनरुवाको स्थानीय परिवेशबाट सुरू भएको निशाको यात्रा आज संघीय संसद् हुँदै मन्त्रीसम्म आइपुगेको छ ।
पहिलोपटकमै संसद् नबन्दा उनी निराश भइनन्, बरू अझ सक्रिय रुपमा लागिन् । उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा संगठनभित्र झन् सक्रिय रहिन् । यही निरन्तरता, धैर्य र पार्टीप्रतिको प्रतिबद्धताले अन्ततः उनलाई मन्त्रीसम्मको यात्रा तय गर्न गर्यो छ ।













प्रतिक्रिया