ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस् « Khabarhub

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् ।

नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने बताएका हुन् । ‘२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग झन् बढेर गएको छ, समयसापेक्ष रुपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिनेछ,’ उनले भने ।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गरे । अन्तर मन्त्रालय समन्वय गरेर ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लागिने उनको भनाइ थियो । 

उनले पानीको अभावले खेतीयोग्य जमिन बाँझो हुने अवस्थाको अन्त्य गरिनुपर्ने बताए । मन्त्री श्रेष्ठले सहरी र ग्रामीण क्षेत्रमा पानीको ‘रिचार्ज सिस्टम’ निर्माणका लागि ‘टिम’ बनाएर अगाडि बढ्ने बताए । उनले वैकल्पिक ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई थप बलियो बनाउनुपर्ने उल्लेख गरे ।

मन्त्री श्रेष्ठले २१औँ शताब्दी भनेको अनुसन्धानको युग भएकाले ऊर्जा र सिँचाइ क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरे । उनले सुशासन ऐनलाई टेकेर मन्त्रालयमा सुशासन समिति गठन गरिने बताए । वित्तीय सुशासनलाई प्रभावकारी ढङ्गले अगाडि बढाइने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा आएको उजुरी र यहाँ भएका चुनौतीलाई अध्ययन गरेर समाधानमा लाग्नुपर्ने बताए । उनले मन्त्रालयमा भएका कामका बारेमा प्रत्येक हप्ता सञ्चारमाध्यममार्फत आम जनतासम्म लैजान कर्मचारीलाई निर्देशनसमेत दिए ।

विवेकशील साझा पार्टीका तर्फबाट विसं २०७४ सालमा, समानुपातिकतर्फबाट बाग्मती प्रदेशको प्रदेशसभा सदस्य बनेका श्रेष्ठ विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट विजयी भई युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।

प्रदेशसभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन मन्त्री श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए। ‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गरेका श्रेष्ठले होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरेका रूपमा काम गरेका थिए।

मन्त्री श्रेष्ठलाई मन्त्रालयमा ऊर्जा सचिव चिरञ्जीवी चटौत, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव दीनानाथ मिश्रले स्वागत गरेका थिए  । तीनैजना सचिवले मन्त्री श्रेष्ठलाई आफ्नो नेतृत्वमा मन्त्रालयमा भएका कामका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ४ : २१ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन