मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार « Khabarhub

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ । जसमा रक्षा तथा उद्योग तथा वाणिज्य मन्त्रालय प्रधानमन्त्री शाहले नै राखेका छन् । शाहको मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको अर्थव्यवस्था बुझेका नेता हुन् । पञ्चायती व्यवस्था ढाल्दै बहुदलीय शासन ल्याउन २०४७ सालमा भएको आन्दोलनमा होमिँदै उनले नेपाली कांग्रेसबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए ।

कांग्रेसको अर्थ समितिमा रहेर काम गरेका उनी महासमिति सदस्यको भूमिकासम्म निभाएका पात्र हुन् । २०७९ को निर्वाचनमा सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि असन्तुष्ट बनेका उनी २०८० को उपनिर्वाचनमा भने रास्वपाबाट तनहुँ–१ को उम्मेदवार बने ।

सोही निर्वाचनमा उनी पहिलोपटक लोकप्रिय मतसहित सांसद प्रवेश गरेका थिए । फालगुन २१ गतेको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित बनेका हुन् ।

नाइट क्लबमा डिजेका रुपमा काम गर्ने सुदन गुरुङ सामाजिक अभियन्ता हुँदै तेस्रो वरियतासहित पहिलो पटक सदनमा पुग्दै गर्दा गृहमन्त्री बनेका छन् । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा पानी बाँड्न पुगेका गुरुङ अगुवा बनेपछि चम्किएका पात्र हुन् ।

पार्टीमा विदेश विभाग सम्हालेका शिशिर खनाललाई रास्वपाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको छ । मन्त्रीमा उनको यो दोस्रो कार्यकाल हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गते उनी पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका थिए । सो समयमा उनी १९ दिन मात्रै मन्त्री बने ।

नागरिकता मुद्दामा रास्वपाका सभापति तथा तत्कालीन उपप्रधानमन्त्री रवि लामिछानेको पद गुमेसँगै रास्वपा सरकारबाट बाहिरिनु परेको थियो ।

खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । यस्तै, ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक उर्तीण गरेका उनले पार्टीको विदेश मामिला हेर्दै आएका थिए ।

यस्तै, शाह काठमाडौँ महानगरपाका प्रमुख हुँदा उनीसँग निकट भएका सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् । ३५ वर्षीय लम्साल पेशागत रूपमा दक्ष मानिन्छन । उनले पूर्वाधार विकास, सहरी योजना तथा सुशासनका क्षेत्रमा काम गरेको अनुभव राख्छन् ।

महानगरको सचिवालयमा रहँदा उनले पूर्वाधार र सहरी योजनासम्बन्धी काममा सक्रिय भूमिका खेलेका थिए । उनको पनि यो पहिलो संसदीय यात्रा हो ।

विवेकशील साझा अभियानबाट राजनीतिमा चेत कमाएका विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् । प्रदेश सभा सदस्य समेत बनिसकेका उनको यो प्रतिनिधि सभामा सदस्य र मन्त्रीसमेत दोस्रो पटकको भूमिका हो ।

श्रेष्ठले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा केही समय युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सो समय खेलकुद क्षेत्रको सुधार र खेलाडीहरूको मनोबल बढाउन महत्वपूर्ण पहल गरेका उनलाई सोही निर्णयले पुनः लोकप्रिय मतसहित निर्वाचित बनायो ।

२०७४ सालको निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट बागमती प्रदेश सभा सदस्य बनेका थिए । सो समय उनले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन भूमिका खेलेका थिए । गुठी विधेयकविरुद्ध सडक र सदन दुवै ठाउँबाट सशक्त आवाज उठाउँदै उनले नेवा समुदायको भावनाको प्रतिनिधित्व गरे ।

‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गरेका श्रेष्ठ २०७२ को भूकम्पपछि समाजसेवामा सक्रिय पात्र हुन् । उनी गत २ निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन् ।

यस्तै पर्यटनमन्त्रीको जिम्मेवारी पाएका खड्कराज पौडेल (गणेश), शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि बालेन टिमबाट नियुक्त भएका छन् ।

यस्तै, मधेसी समुदायलाई प्रतिनिधित्व गराउँदै रास्वपाले स्वास्थ्यकर्मी निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनाएको छ । इनरुवामा जन्मिएकी उनी पेशाले नर्स हुन् ।

भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरिन् । पार्टीको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएकी उनी आएकी अघिल्लो निर्वाचनमा पनि समानुपातिक सूचीमासमेटिएकी थिइन् ।

तर सांसद बन्न नसकेकी उनलाई यसपटक पार्टीले पाएको जनमतले सांसद हुँदै मन्त्री बनाएको हो । पहिलोपटक संसदीय यात्रा तय गरेका डा. विक्रम तिमिल्सिनालाई रास्वपाले सञ्चारमन्त्री बनाएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाँटारमा जन्मिएका उनी सामान्य कृषि कर्ममा संलग्न परिवारमा हुर्किएका हुन् । गाउँकै इन्द्रायणी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

उच्च शिक्षा अध्ययनका लागि भने उनी अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालय गएका थिए । शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील उनी एक दशकअघि रेडियो सगरमाथाको कार्यक्रम उत्पादक तथा प्रस्तोता थिए ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएपछि उनले त्यहीँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ नामक कार्यक्रमका कार्यकारी सम्पादक र सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयूको सम्पादकीय सल्लाहकार थिए ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रममन्त्रीको र सोबिता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् । रावल र साह भने पहिलो पटक सांसद बनेसँगै मन्त्री नियुक्त भएका हुन् ।

कानुनमा स्नातक गरेकी गौतम सञ्चारकर्मसँगै भाषणशैलीमा समेत अब्बल मानिन्छिन् । उनी संसदको दोस्रो इन्ट्रीमा मन्त्री बनेकी हुन् ।

यस्तै यो मन्त्रिपरिषदमा पहिलोपटक वादी समुदायबाट सीता वादी महिला, बालबालिकामन्त्री बनेकी छन् । गैरसरकारी संस्थाको भरमा जीविकोपार्जनसँगै अध्ययन गर्दै आएकी उनी समानुपाितकतर्फबाट सांसद बनेकी हुन । सांसदमा पहिलोपटक पुगेकी उनलाई रास्वपाले पिछडिएको समुदायको प्रतिनिधित्व गराउँदै मन्त्री बनाएको हो ।

संविधानले तोकेबमोजिम महिलाको ३३ प्रतिशत सहभागिताको हक समेत यो मन्त्रिपरिषदले पालना गरेको छ । १५ सदस्यीय मन्त्रिपरिषमा ५ जना महिलाको प्रतिनिधित्व हुनुलाई सकारात्मक चर्चाको विषय समेत मानिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : ०७ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई