अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो « Khabarhub

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयबाट उक्त स्थितिपत्र जारी गरेका हुन् ।

स्थितिपत्रले नेपालको अर्थतन्त्रको अवस्था सोचेभन्दा पनि कमजोर रहेको चित्रण गरेको छ। उक्त स्थिति पत्रमा भूमिका लेख्दै अर्थमन्त्री वाग्लेले नेपाल स्रोत, सम्भावना र सदिच्छामा समृद्ध भए पनि सोच, संकल्प र शासकीय सदाचारको संकटले गर्दा समुन्नत हुन नसकेको बताएका छन् ।

‘नेपालले राजनीतिक क्रान्तिका कैयन चरण त पार गर्‍यो, तर समग्र अर्थ-राजनीतिक संरचनाको सार्थक रूपान्तरणको मार्ग भने अपूर्ण रह्यो। बद्धमूल सामाजिक विभेद, दुर्बल शासन र शासकीय अस्थिरताका कारण मुलुकले अपेक्षित गति लिन सकेन’, उनले भनेका छन्।

उनले जनसांख्यिक लाभांशको समयमा युवा पुस्तामा बढ्दो असन्तुष्टि, क्षोभ र रोष विद्रोहमा परिणत भएको उल्लेख गर्दै अब नवीन सोचको पथचित्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

२०८२ फागुन २१ को निर्वाचनले विपुल मतादेशसहित वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई जिम्मेवारी दिएको भन्दै उनले साझा संकल्पका साथ समुन्नतिको यात्रा अघि बढाउने प्राथमिकता रहेको बताएका छन् ।

अर्थतन्त्रको संकटको जडबारे:

अर्थमन्त्री वाग्लेले नेपालको अर्थ-राजनीतिक संकटको जड विकृत प्रोत्साहन संरचनामा रहेको औंल्याएका छन्। महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोझिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन, पेशा र लगानीको माध्यम बनाएको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवाद फस्टाएको बताएका छन् ।

‘उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्तनमार्फत आर्थिक वृद्धि हुनुको सट्टा लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा राज्य-बजार सम्बन्धको विशेषता बन्न पुग्यो,’ उनले अगाडि लेखेका छन् ।

उनले राज्य र बजारको भूमिकाबारे गहिरो वैचारिक अन्योल, निजी क्षेत्रप्रति अविश्वास, वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसाएको बताए । स्रोतको अभाव मात्र नभई अवधारणागत अस्पष्टता, संस्थागत कमजोरी र फितलो कार्यान्वयन मुख्य चुनौती रहेको उल्लेख छ।

समाधानको बाटो:

निरपेक्ष उदारीकरण पर्याप्त नभएको भन्दै अर्थमन्त्री वाग्लेले बृहत् संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् ।

‘जसले प्रतिस्पर्धा प्रवर्द्धन गर्छ, नवप्रवर्तन र प्रविधि आत्मसात् गर्छ, नयाँ उद्यमीलाई अवसर दिन्छ र अर्थतन्त्रलाई ‘रेन्ट-सिकिङ’ बाट उन्नत रोजगारी केन्द्रित दिगो वृद्धितर्फ रूपान्तरण गर्छ’, उनले भनेका छन्।

मुलुक अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको भन्दै नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकता दिइएको उनले उल्लेख गरेका छन् ।

‘यो स्थितिपत्रले वर्तमान अवसर र चुनौतीहरूको स्पष्ट पहिचान गर्दै नीतिगत सुधार, सुशासन सुदृढीकरण तथा दिगो आर्थिक रूपान्तरणका लागि आवश्यक मार्गचित्र कोर्न बलियो आधार प्रदान गर्ने विश्वास लिएका छौं,’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लेखेका छन्।

यो स्थितिपत्रले आगामी बजेट तथा नीति निर्माणका लागि महत्वपूर्ण आधार दिने अपेक्षा गरिएको छ। सरकारले आर्थिक रूपान्तरण र सुशासनलाई प्राथमिकतामा राखेको सन्देश दिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : ५९ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक