काठमाडौं – राष्ट्रिय सभा गृहमा आज ‘सम्यक् महादान मूल समारोह समिति’को सचिवालय स्थापना भएको छ। महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमितिका काममा सहजीकरण गर्ने तथा सरोकारवाला र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्नेछ।
‘नेपाल मण्डलमा सम्यक् महादान दुई प्रकारले गर्ने गरिएको पाइन्छ। एउटा जसलाई इच्छा लाग्यो, उसले गर्न सक्छ। यसलाई ऐच्छिक सम्यक् भनियो। अर्को गुठीबाट गर्ने गरिएको सम्यक् हो, जसलाई गुठी सम्यक् भनियो। काठमाडौंमा गुठी सम्यक् तीन भिन्नाभिन्नै खलकले हरेक चार वर्षमा गर्ने गर्थे। पछि यी तीनवटै समूह मिलेर हरेक १२ वर्षमा एकपटक गर्दै आएका थिए,’ समितिका संयोजक तथा नेपाल बज्रयान महाविहार, लुम्बिनीका चक्रेश्वर प्रा। डा। नरेशमान बज्राचार्यले भने ।
उनका अनुसार गुठी सम्यक् नभएको २२ वर्ष र ऐच्छिक सम्यक् नभएको २५ वर्ष भएको छ। ‘यी दुवै सम्यक् लामो समयसम्म नभएकोले महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष सम्यक् आयोजना गर्न लागेको हो,’ उनले भने ।
सम्यक् सञ्चालन तथा व्यवस्थापनलगायतका नीतिगत काम गर्न असोज ८ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति घोषणा गरिएको थियो।
समितिको सहसंयोजकमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, महादान हुने वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महाविहार संघ, काठमाडौंका अध्यक्ष शुभकाजी शाक्य र उराय् समाज, काठमाडौंका सदस्य डा. सुमनकमल तुलाधर छन् । मूलश्री महाविहार, काठमाडौंका समज्वल बज्राचार्य मूल समारोह समितिका सदस्य सचिव छन्।
यस्तै, कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ। समितिको उपाध्यक्षमा प्रा। डा। नरेशमान बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विषयगत समितिका संयोजकहरूमा ईश्वरमान डंगोल, आशामान संगत, न्हुच्छेकाजी महर्जन, राजेशकुमार श्रेष्ठ, राजेन्द्र मानन्धर, मचाराजा महर्जन, विनोदकुमार राजभण्डारी, राजेश डंगोल र योगेश खड्गी छन् ।
यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख, महानगरपालिकाका प्रशासन विभाग, वित्त विभाग, स्वास्थ्य विभाग, वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलका प्रमुख सदस्य छन् ।
समितिमा शाक्य महाविहार संघ, काठमाडौंका अध्यक्ष शाक्य, उराय् समाज, काठमाडौंका सदस्य डा. तुलाधर, मूलश्री महाविहारबाट बज्राचार्य, मञ्जुश्रीरत्न बज्राचार्य, संघरत्न बज्राचार्य र डा। सुरेन्द्रमान बज्राचार्य सदस्य छन् ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने यस समितिमा प्रमुखले नौ जना सदस्य तोक्नुहुनेछ।
कार्यान्वयन समितिमातहत रहेर क्षेत्रगत काम गर्न १३ वटा उपसमिति गठन भएका छन्। यसमा मञ्जुश्रीरत्न बज्राचार्यको संयोजकत्वमा पूजा, दान, दाता उपसमिति, संघरत्न शाक्यको संयोजकत्वमा देवता निमन्त्रण उपसमिति तथा डा। सुरेन्द्रमान बज्राचार्यको संयोजकत्वमा अभिलेखीकरण तथा प्रकाशन उपसमिति गठन भएको छ।
अन्य उपसमितिमा सम्यक् भोजन व्यवस्थापन, स्थान व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात तथा ढुवानी, सांस्कृतिक, स्वास्थ्य, प्रचारप्रसार, आर्थिक, सुरक्षा तथा खाजा तथा खाना व्यवस्थापन उपसमिति छन्। यी उपसमितिका संयोजक तोक्न बाँकी छ।
मुख्य दुई दिन मनाइने महादानको पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा मनाउने परम्परा छ। काठमाडौंमा महादान २०६१ सालपछि मनाउन सकिएको छैन।
बौद्धहरूले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रूपमा समावेश हुन्छ। नेपालमा दान अभ्यासका लागि नियमित वार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान तथा निश्चित अन्तरालपछि गरिने महा सम्यक् दानहरू पर्वकै रूपमा मनाइँदै आएका छन्।
साथै, यी दानहरू निजी तजविजमा ऐच्छिक रूपमा समर्थवान् श्रद्धालु व्यक्तिहरूले आयोजना गर्ने गरेको विगतको अभ्यास छ।
यी विभिन्न प्रकारका दानचर्यामध्ये ‘सम्यक् महादान’ सबैभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ। महादानको मुख्य दिनमा सहरका सबै दीपङ्कर बुद्ध ९देवमूर्तिहरू० लगायत प्रायः सबै प्रमुख बौद्ध मन्दिरका देवदेवीहरूलाई निमन्त्रणा गरी विराजमान गराउनुपर्ने, पूजापाठ अर्पण गर्नुपर्ने, दानदक्षिणा चढाउनुपर्ने तथा राष्ट्र प्रमुखको उपस्थितिको अनिवार्य व्यवस्था गर्नुपर्ने परम्परा रहेको छ।
साथै, आएका नेपाल मण्डलका श्रद्धेय बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु तथा चैलक भिक्षुहरू सबैलाई उत्तिकै उत्साहका साथ निर्धारित उपयोगी वस्तुहरू पूर्ण तयारीका साथ दान अर्पण गर्नुपर्ने हुन्छ।
यो परम्परालाई निरन्तरता दिन तथा पुस्तान्तरण गर्न महानगरपालिकाले आर्थिक वर्ष २०८३र८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा काठमाडौं उपत्यकाको प्राचीनतम सांस्कृतिक महत्व बोकेको सम्यक् महादानजस्तो मानवीय, करुणामयी र व्यापक जनएकता गराउने कार्यक्रम सञ्चालन गर्ने योजना पारित गरेको छ।
यसले काठमाडौं महानगरवासी तथा उपत्यकाका अन्य बौद्धमार्गी नेवार समुदायलाई एकीकृत र सामूहिक कल्याणकारी कार्यमा सहभागिता गराउनुका साथै मानव जाति र समग्र चराचर जगतको कल्याणको कामना गर्ने पवित्र भावनालाई समेत संस्थागत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया