बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै जिरिङ्ग हुने पुलमा दैनिक सयौँ पर्यटक आवतजावत गर्छन् । बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोडेको पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यो पुलबाट बञ्जी जम्प सञ्चालन भइरहेको छ । साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यका लागि चर्चित बन्दै गएको बञ्जीमा यतिबेला चहलपहल बढेको छ ।
कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दावी गरिएको बञ्जी २०७७ कार्तिकदेखि सञ्चालनमा आएको थियो । बञ्जी सञ्चालनमा आएपछि कुश्मा बजार र बलेवामा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । द क्लिफ प्रालिको करोडौँ लगानीमा संचालनमा आएको बञ्जीसँगै स्विङ, स्काइ साइक्लिङ, रिसोर्ट, मेघा ट्रोल संचालन गरिएको छ ।
बञ्जीले दुई जिल्ला जोडेको भएपनि ९० प्रतिशत बढी संरचना बागलुङमा बनेका छन् । बञ्जी सहितका संरचना निर्माण गर्दा हालसम्म ९० करोड बढी लगानी गरेको द क्लिफका म्यानेजर सफल थापाले जानकारी दिए । द क्लिफले बञ्जीसँगै अन्य संरचना बढाउँदै गएपछि पर्यटकको आकर्षण बढेको उनको भनाइ छ । पछिल्लो समय दैनिक ३ सय आसपास स्वदेशी तथा विदेशी पर्यट आउने गरेका छन् ।

दैनिक ५० जनालाई बञ्जी गराउन सक्ने क्षमता रहेको सुनाउँदै पर्यटक बढी हुँदा पालोअनुसार बञ्जी गराउनु परेको म्यानेजर थापाले बताए । उनकाअनुसार नेपालीसँगै भारती, बङ्गाली र यूरोपका विभिन्न देशबाट आउने पर्यटकको संख्या बढी छन् । ‘अहिले पनि दसैँको बिदा मनाउन पर्यटक यहाँ आएको पाएका छौँ । दैनिक सयौँको संख्यामा आउने पर्यटकले बञ्जी जम्पको पुल र रिसोर्ट क्षेत्र भरिभराउ नै हुन्छ । रिसोर्टमा बास बस्न आउनेको संख्या पनि ठूलो छ,’ उनले भने ।
२०७३ सालदेखि बञ्जीका लागि पुलको निर्माण सुरू गरिएको थियो भने २०७६ सालसम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । ५ सय २५ मिटर लामो पुल कालीगण्डकी नदीदेखि २ सय २८ मिटर अग्लो छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ ।
बञ्जी गर्ने युवादेखि वृद्धसम्म हुन्छन् । कतिपयले एकपटक बञ्जी गर्दा धित मार्छन् भने कतिपयले पटक–पटक गर्दा पनि धित नमरेको बताउँछन् । दक्षिण भारतबाट आएका भरत दासले यहाँको जत्तिको अग्लो बञ्जी आफूले अहिलेसम्म नदेखेको सुनाए ।
मुक्तिनाथ दर्शन गरेर फर्किएका दासले दुई दिन बञ्जीसहित बागलुङ पर्वतको विभिन्न क्षेत्रमा घुमेको सुनाए । ‘यो बञ्जी निकै खतरनाक छ । म त देख्दै अचम्मित भएँ । बञ्जी गर्ने आँट आएन तर अरुले निकै हिम्मतका साथ गरेको देख्दा मलाई निकै रमाइलो लाग्यो,’ दासले अनुभव सुनाए ।

काठमाडौँ बौद्धबाट घुम्न आएका राजु नगरकोटीले कालीगण्डकीको समिपमा बनेको बञ्जी जम्पले आफूलाई प्रफुल्लित बनाएको बताए । अरूले बञ्जी गरेको फोटो–भिडियो सामाजिक सञ्जालमा देखेको र आफूले गर्दा निकै रमाइलो अनुभव भएको उनले सुनाए ।
‘ढोरपाटनबाट फर्किएर यहाँ आएका हौँ, बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो । तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदो रहेछ । फेरि एक पटक बञ्जी गर्ने रहर लागेको छ,’ उनले भने ।
















तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया