काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म नेपालका प्रमुख नदी तथा जलाधार क्षेत्रमा वर्षा भई नदीको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको बाढी तथा अन्य जलजन्य जोखिम आकलनअनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुन सक्ने देखिएको छ ।
महाशाखाका अनुसार बुधबार देशभरका प्रमुख नदीमा जलसतह सामान्य अवस्थामा रहनेछ । कात्तिक १२ गते नारायणी, कोशी, बागमती, कमला, कन्काईलगायत नदी तथा जलाधारमा जलसतह सामान्य बढ्न सक्ने र बाढीको जोखिम न्यून रहने अनुमान छ ।
कात्तिक १३ गते कोशी र नारायणी नदीका साथै बागमती, कमला, कन्काई तथा आसपासका जलाधारमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ । यसका कारण नदीको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने भए पनि महाकाली, कर्णाली, पश्चिम राप्ती, बबई तथा तिनका शाखा नदीमा जलसतह सामान्य मात्र बढ्ने अनुमान गरिएको छ । उक्त दिन बाढीको जोखिम मध्यम रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, कात्तिक १४ गते कोशी, बागमती, कमला, कन्काई तथा आसपासका जलाधारमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । अघिल्ला तीन दिनको वर्षाका कारण प्रमुख नदीमा जलसतह उच्चतम् बिन्दुमा पुग्न सक्ने भए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको आकलन गरिएको छ । उक्त दिन पनि बाढीको जोखिम मध्यम रहनेछ ।
कात्तिक १५ गते कोशी, बागमती तथा नारायणी नदीका जलाधारका केही स्थानमा हल्का वर्षा हुन सक्ने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाले चक्रवातको सम्भावित प्रभावका कारण नदीको जलसतहमा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।















प्रतिक्रिया