काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम मानिन्छ । चर्चित परिवारमा जन्मिएका कलाकारले सुरुवातमै पाउने चर्चा र पहुँचलाई लिएर नातावाद (नेपोटिज्म) को बहस पनि निरन्तर चल्दै आएको छ ।
यही बहसको बीचमा अभिनेत्री सारा अली खानले आफ्नो पारिवारिक पृष्ठभूमि र करिअरबारे खुलेर बोलेकी छन् ।
अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी साराले फिल्म क्षेत्रमा प्रवेश गर्दा बुबाले कुनै निर्मातासँग काम मागिदिने वा सम्झौता मिलाइदिने काम नगरेको दाबी गरेकी छन् ।
बलिउडमा आठ वर्ष बिताइसकेकी उनले पारिवारिक नामका कारण आफूले पाएको अवसरलाई स्वीकार गर्दै आफ्नो मेहनतलाई पनि बेवास्ता नगर्न आग्रह गरेकी छन् ।
सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट अभिनयमा डेब्यु गरेकी साराले उक्त फिल्मको निर्माणका क्रममा विवाद उत्पन्न हुँदा आफूले नै समस्या समाधान गर्ने प्रयास गरेको बताएकी छन् ।
फिल्मको छायाङ्कनमा ढिलाइ भएपछि निर्मातासँग विवाद भएको र क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दासमेत पुगेको थियो । त्यसबेला बुबा सैफले विवाद मिलाइदिएको भन्ने समाचारको खण्डन गर्दै उनले आफूलाई त्यतिबेला कसैले सहयोग नगरेको बताएकी छन् ।
पछि निर्देशक रोहित शेट्टीले सुटिङको तालिका मिलाउन सहयोग गरेपछि फिल्मको छायाङ्कन पूरा भएको थियो।
यद्यपि, साराले आफ्नो पारिवारिक पृष्ठभूमिले अवसरका ढोका खोलेको कुरालाई अस्वीकार गरेकी छैनन् । आफूले अभिनेत्री बन्नुअघि नै पहिचान, पहुँच र प्रसिद्धि पाएको स्वीकार गर्दै उनले त्यसलाई लुकाउनु उचित नहुने बताएकी छन् ।
तर, नातावादको आरोपले कलाकारको वास्तविक मेहनतलाई ओझेलमा पार्ने गरेको उनको गुनासो छ । उनले जाह्नवी कपूर र अनन्या पाण्डेको पनि बचाउ गर्दै आफूहरू कुन परिवारमा जन्मिने भन्ने कुरा रोज्न नसक्ने बताएकी छन् । यस वर्ष सारा अभिनेता आयुष्मान खुरानासँग ‘पति पत्नी और वो दो’ र ‘उडता तीर’ मा देखिँदै छिन् ।














प्रतिक्रिया