काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने मोटामोटी अनुमान गरेर व्यवसायिक मेकरहरूले नायक–नायिकालाई पारिश्रमिक निर्धारण गर्ने अभ्यास पाइन्छ ।
तर, यो नै कलाकार अनुबन्धको अन्तिम र एक विषय होइन । कलाकारको अभिनय क्षमता, जनरा र कथाको माग अनुबन्ध गर्दा ख्याल राखिने महत्त्वपूर्ण पक्ष हुन् ।
स्टार कलाकारहरूलाई फिल्मा महँगो पारिश्रमिक तिरेर लिनुमा प्रचारको लोभ प्रमुख हो । यो व्यवसायिकतासँग जोडेर हेरिन्छ ।
उदाहरणका लागि प्राइम राजेश हमाललाई हेर्दा हुन्छ । उनीसँग सहकार्य गर्ने निर्माताहरू भन्छन्, ‘राजेशको अनुसार पोस्टरमा राख्यो भने फिल्म हिट हुन्थ्यो ।’
राजेशको अनुहारले दर्शकलाई हलमा तान्ने क्षमता राख्थ्यो र उनले आफ्नो मागअनुसारको पारिश्रमिक पाउथे ।
प्रचारमा चर्चित अनुहारको महत्त्वबारे फिल्म ‘लुट’ पनि एउटा घटना छ । लुटका शीर्ष नायक सौगात मल्ल दर्शकमाझ परिचित भइसकेका थिएनन् । दयाहाङ पनि संघर्षरत नै थिए ।
शीर्ष नायकको भन्दा मुख्य नायक कर्मा शाक्य ‘लुट’को पोस्टरमा हाबी थिए । कारण– कलाकारहरूमा कर्मा बढी परिचित भएकाले पोस्टरमा उनी बढी प्रयोग भए । जबकी शीर्ष नायक उनी होइनन् ।
कर्माले भने त्यस समय प्राइममा रहेकी नायिका नम्रता श्रेष्ठसँग लिड नायकका रुपमा सहकार्य गरिसेका थिए ।
नेपाली फिल्ममा नायकहरूलाई नै प्राथमिकतामा राखेर चयन गरिन्छ । तुलनात्मक रुपमा नायिकाभन्दा नायकलाई नै बढी पारिश्रमिक दिने अभ्यास पनि छ ।
तर, नायिका रेखा थापा त्यसको अपवाद थिइन् । नायिकाको भूमिकामा रहेरै पनि उनी नायकमाथि हाबी हुन्थिन् । त्यसैले रेखालाई हिरो ट्याग दिइएको हो ।
अर्थात्, नेपालको सन्दर्भमा नायक हाबी रहने नै फिल्म बन्ने गरेका छन् । औषतमा वार्षिक ६० फिल्म प्रदर्शनमा आउँदा नायिका एक लिड रहेको मुस्किलले तीन–चार वटा बन्छन् ।
यसले नायिकालाई एकल लिड भएको कथामा लगानी गर्न निर्माताहरू आजको मितिमा पनि कन्फिडेन्ट छैनन् भन्ने प्रष्ट पार्छ ।
तर, दशकअघिको तुलनामा अहिले नायिकालाई एक लिडमा अनुबन्ध गरेर फिल्म बनाउने क्रम बढ्दो छ । आर्ट विधाका फिल्ममा अझ यो बढी भएको पाइन्छ ।
केकीले रेकर्ड बनाइन्, स्वस्तिमा प्रमाणित गर्ने क्रममा
नायिका एकल लिड रोलमा रहेको सबैभन्दा हिट फिल्म ‘बोक्सीको घर’ हो । नायिका केकी अधिकारी यस फिल्मको नायिका र निर्माता दुवै हुन् ।
चलचित्र विकास बोर्डका अनुसार बक्स अफिसबाट मात्रै यस फिल्मले १० करोड व्यापार गरेको छ ।
यही फिल्मबाट केकीले नयाँ मानक स्थापित– नायिका एकल लिड भएको फिल्म हिट बन्छ र व्यापारको १० करोडभन्दा माथि पनि हुन्छ ।
नायिकालाई एक लिड लिन मेकरहरू कन्फिडेन्ट नभएको अवस्थामा केकीले आफैँँ फिल्म बनाएर बक्स अफिसमा रेकर्ड बनाइनन् ।
अब एउटा अर्को भाष्य बनेको छ– नायिका एकल लिड भएको हिट फिल्मले १०–१२ करोड ग्रस कलेक्सन गर्न सक्छ ।
त्यस्तै, नायिका स्वस्तिमा खड्का एकल लिड रहेको फिल्म ‘लालीबजार’ हलमा प्रदर्शनरत छ । सुरुवाती १६ दिनमा यो फिल्मले ५ करोड ७६ लाख ग्रस कलेक्सन गरेको छ ।
अहिलेका चल्तीका स्टार नायकहरू दयाहाङ राई, सौगात मल्ल र विपिन कार्की जस्ता नायकहरूको फिल्मसँग बक्स अफिस प्रतिस्पर्धामा पनि अब्बल देखिएको छ । ती नायकको फिल्मभन्दा ‘लालीबजार’ नै बक्स अफिसमा सशक्त देखिएको छ ।
दुई शुक्रबारमा तीन फिल्म
यो वर्षको सुरुवातमा नायिका एकल लिडमा रहेको तीन फिल्म प्रदर्शनमा आइसकेका छन् ।
ती हुन्– स्वस्तिमा स्टारर ‘लालीबजार’, सुरक्षा पन्त स्टारर ‘लाइफ ड्यामेज’ र आँचल शर्मा स्टारर ‘एक मुठ्ठी बादल’ ।
‘लालीबजार’ बक्स अफिसमा सफल रहँदा दुईको अवस्था भने दयनीय छ ।














प्रतिक्रिया