उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू « Khabarhub

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो ।
 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन् ।

सीमित जनशक्ति र स्रोतसाधनकाबीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्र्याज प्रणाली प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा उक्त सेवा बन्द गरेपछि बिमासम्बन्धी सेवा लिन आउने बिरामीको सङ्ख्या सरकारी अस्पतालमा उल्लेख्य रूपमा बढेको छ ।

निजी अस्पतालबाट रिफर भई आउने तथा सिधै बिमामार्फत सेवा लिन आउने सेवाग्राही थपिँदा प्रादेशिक अस्पतालमा बिरामीको चाप  बढेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका मेसु डा गौतमका अनुसार ट्र्याज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ । अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रातो सङ्केतमा राखी तत्काल उपचार सुरु गरिने उनले जानकारी दिए । 

त्यस्तै, मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो सङ्केतमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खँदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो सङ्केतमा वर्गीकरण गरिने उनले बताए ।

अस्पतालका अनुसार यस प्रणालीले आकस्मिक कक्षको व्यवस्थापन सहज बनाउनाका साथै गम्भीर बिरामीले समयमा उपचार पाउने सुनिश्चितता गर्नेछ । साथै उपचारको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने जोखिम पनि न्यून हुने अपेक्षा गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुनासोरहित बनाउन आवश्यक सबै प्रयास भइरहेको बताए । 

उनले उपलब्ध स्रोतसाधन र बढ्दो सेवाग्राहीको चापबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे । रासस
 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ११ : २५ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ