सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ? « Khabarhub

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

'प्रधानमन्त्रीले सहमति र संवादको पहल गर्नुपर्छ'


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै नेकपा संयोजक प्रचण्डले यस्तो संवेदनशील समयमा राजनीतिक दलहरूले परिपक्वता, संवाद र उच्च जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिएका हुन्।

विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् या संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, मुलुकले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै उनले आज पनि त्यस्तै ऐक्यबद्धताको आवश्यकता रहेको बताए। राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्दै उनले गम्भीर प्रश्नसमेत उठाए। साथै, संवादका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए।

संयोजक प्रचण्डले सरकारलाई अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्न आग्रह गर्दै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर सर्वदलीय सहमतिको पहल गर्नुपर्ने बताए। संसद्‍मा पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी गर्दै उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पारे।

वार्ता, सहमति र राजनीतिक समझदारीमार्फत नै स्थितिलाई सहज बनाउन सकिने उल्लेख गर्दै उनले पार्टीले स्थानीय तहमा सद्भाव कायम राख्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिइसकेको जानकारी गराए। घटनास्थलमा स्थानीय नागरिक मात्र नभई बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वहरूसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्षलाई उच्च सतर्क रहन उनले आग्रह गरे।

अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। उनले सम्पूर्ण राजनीतिक दल, सरकार र सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भई अघि बढ्न आह्वान गरेका छन्।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : ३५ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल