चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये पहिचान हुन नसकेका २२९ शवको आजदेखि जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै संकलित २३३ शवमध्ये हालसम्म चारवटा मात्र पहिचान भएको जनाएको छ। बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका शव र शवका अवशेष सडगल्ने अवस्थामा पुगेका छन्।
तत्कालीन व्यवस्थापकीय प्रबन्धमा राखिएका शवबाट दुर्गन्ध फैलिन थालेको र यसबाट संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय रहेको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णय तथा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम पहिचान नभएका सबै शवको सुरक्षित, सम्मानजनक र कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको हो।
प्रशासनका अनुसार शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमुना संकलन गरिनेछ। प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरी सोही आधारमा अभिलेखसमेत राखिने जनाइएको छ।
शवहरू भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा आजैदेखि व्यवस्थापन गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
प्रशासनले शोकको विषम परिस्थितिमा बाध्यात्मक रूपमा गर्नुपरेको निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ। साथै, निर्णयबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ।













प्रतिक्रिया