काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित भएको सरकार ठूला भ्रष्टाचारका प्रकरणहरूमा पछि हट्नु विडम्बनापूर्ण रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने र प्रधामनमन्त्री वालेन्द्र शाहको तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान न्यायिक प्रणाली र कानुन कार्यान्वयनको शैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्।
लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने भए पनि विद्यमान प्रणालीले साना र पहुँचहीनलाई मात्रै कारबाहीको दायरामा ल्याउने र ठूला दोषीलाई उन्मुक्ति दिने काम गरिरहेको उनको तर्क छ।
“झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएका सुकिलामुकिलाले सबुत नछोडी भित्ता फोरेर हिरा चोर्दा प्रमाण नपुगेर निर्दोष ठहर्ने हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?,” भट्टराईले प्रश्न गरेका छन्।
देशलाई निरन्तर रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषका गिरोहहरूलाई पहिले अन्त्य नगरेसम्म देशमा सुशासन र समृद्धिको सही सुरुवात हुन नसक्ने दाबीसमेत उनले गरेका छन्।














प्रतिक्रिया