बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर अरूको नक्कली भिडियो तथा आवाज तयार गर्नेमाथि कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्। रियालिटी शो ‘बिग बोस २०’ को ‘वीकेन्ड का वार’ मा सामाजिक सञ्जालमा हुने ट्रोलिङको विषय उठेपछि सलमानले एआईबाट तयार हुने नक्कली सामग्रीप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
सलमानका अनुसार अहिले एआईको प्रयोग गरेर मानिसको आवाज नक्कल गर्नेदेखि वास्तविकजस्तै देखिने भिडियो तयार गर्नेसम्मका काम भइरहेका छन्। अझ चिन्ताको विषय त के भने, यस्ता भिडियोमा सम्बन्धित व्यक्तिले वास्तविक जीवनमा नगरेका काम गरेको देखाउन सकिन्छ।
आफ्नै उदाहरण दिँदै सलमानले आफूलाई कहिलेकाहीँ नक्कली भिडियोमा पबमा रहेको देखाइएको बताए। भिडियो हेर्दा आवाजसमेत वास्तविकजस्तै सुनिने भएकाले आफू स्वयं आश्चर्यमा पर्ने गरेको उनको भनाइ थियो।
“एआईको पनि दुरुपयोग भइरहेको छ। कसैको एआई आवाज बनाएर अरूलाई गाली गर्न सकिन्छ। धेरै मानिसका एआई भिडियो बनिरहेका छन्। म स्वयं पनि त्यस्ता भिडियोमा हुन्छु,” सलमानले कार्यक्रममा भनेका छन्।
‘एक–दुई जना जेल गएपछि मात्र रोकिन्छ’
एआईबाट बनाइएका यस्ता सामग्रीले व्यक्तिको छवि र प्रतिष्ठामा असर पार्न सक्ने भन्दै सलमानले यसलाई सामान्य रूपमा लिन नहुने धारणा राखे। उनका अनुसार यस्ता नक्कली भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाउनेमाथि कानुनी कारबाही हुनुपर्छ।
उनले यस्ता गतिविधि रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताए। “एक–दुई जना जेल नगएसम्म यो रोकिनेवाला छैन,” भन्ने उनको भनाइ थियो।
सलमानले सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्ने व्यक्तिलाई आफ्नो अभिव्यक्तिप्रति जवाफदेही बनाउने संयन्त्र आवश्यक रहेको पनि बताए। उनका अनुसार सामाजिक सञ्जालमा जे लेखे पनि हुने र जसको बारेमा जे सामग्री बनाए पनि हुने अवस्थाले समस्या थपिरहेको छ।
सामाजिक सञ्जालबाट आम्दानी गर्ने इन्फ्लुएन्सरको कामलाई उनले रोजगारीको दृष्टिले सकारात्मक रूपमा हेरे पनि त्यसको नाममा अरूको प्रतिष्ठा वा व्यक्तिगत सीमामाथि खेलबाड गर्न नहुने संकेत गरे।
सामाजिक सञ्जालबाट आम्दानी गर्ने इन्फ्लुएन्सरको कामलाई उनले रोजगारीको दृष्टिले सकारात्मक रूपमा हेरे पनि त्यसको नाममा अरूको प्रतिष्ठा वा व्यक्तिगत सीमामाथि खेलबाड गर्न नहुने संकेत गरे।
एआईपछि पापाराजीको प्रसंग
कार्यक्रममा फिल्म ‘हुंकार’ को प्रचारका लागि पुगेकी अभिनेत्री फातिमा सना शेखले पापाराजीसँग सम्बन्धित विषयमा सलमानले उठाएको मुद्दाको समर्थन गरेकी थिइन्।
त्यसपछि सलमानले केही महिला कलाकार पापाराजीले खिच्ने तस्बिरका कारण असहज भइरहेको आफूले लामो समयदेखि देख्दै आएको बताए। उनका अनुसार कतिपय अवस्थामा वास्तविक पापाराजी नभएका व्यक्तिसमेत मोबाइल वा क्यामेरा बोकेर सेलिब्रिटीको तस्बिर खिच्न पुग्ने गरेका छन्।
विशेषगरी महिला कलाकार गाडीबाट ओर्लिँदा वा चढ्दा शरीरका संवेदनशील भागलाई लक्षित गरेर तस्बिर खिच्ने प्रवृत्तिप्रति सलमानले आपत्ति जनाए। यस्ता तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर “चिन्नुहोस्, यी को हुन् ?” जस्ता क्याप्सन राख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाएका छन्।
सलमानले अभिनेत्री सई मांजरेकर, नेहा धूपियालगायतका कलाकार तथा आफ्नी भान्जीको उदाहरण दिँदै महिलालाई यस्तो व्यवहारबाट असहज हुने गरेको बताए।
ट्रोलिङप्रति पनि आक्रोश
सलमानले पछिल्लो समय सामाजिक सञ्जालमा कलाकारलाई ट्रोल गर्ने प्रवृत्तिको पनि आलोचना गर्दै आएका छन्। अघिल्लो ‘वीकेन्ड का वार’ एपिसोडमा उनले अभिनेत्री कट्रिना कैफको तौल, आफ्ना भाइ सोहेल खानको अनुहार र अभिनेता सनी देओलको जुत्तालाई लिएर गरिएका ट्रोलमाथि प्रश्न उठाएका थिए।
कलाकारको कुनै तस्बिर, शरीर, पहिरन वा अनुहारलाई लिएर सामाजिक सञ्जालमा मजाक बनाउनु कति उचित हुन्छ भन्ने प्रश्न उनले उठाएका थिए।
आफ्नै अनुभव सुनाउँदै सलमानले आफूलाई समेत विभिन्न समयमा सामाजिक सञ्जालमा ट्रोल गरिएको बताए। केही समयअघि आफ्नो कपालको लुकलाई लिएर आलोचना गरिएको प्रसंग सुनाउँदै उनले त्यो आफ्नो आगामी फिल्मका लागि तयार गरिएको लुक भएको स्पष्ट पारे। त्यस क्रममा आफूले एक साथीसमेत गुमाएको उनले बताएका थिए।
समर्थन गर्ने पनि, प्रश्न उठाउने पनि
सलमानको पछिल्लो अभिव्यक्तिपछि बलिउडका केही कलाकारले उनको समर्थन गरेका छन्। अभिनेत्री नेहा धूपियाले पापाराजीले खिच्ने ‘ब्याक सट’ प्रति यसअघि नै असन्तुष्टि जनाउँदै आएकी थिइन्। सलमानको अभिव्यक्तिपछि उनले सामाजिक सञ्जालमा उनको समर्थनमा प्रतिक्रिया दिएकी छन्।
अभिनेता वरुण धवनले पनि भिडियोमार्फत सलमानको भनाइलाई समर्थन गरेका छन्। निर्देशक कुणाल कोहलीले समेत ट्रोलिङ, सामाजिक सञ्जालको व्यवहार र पापाराजीको गतिविधिबारे सलमानले उठाएको विषय महत्त्वपूर्ण रहेको बताएका छन्।
अभिनेत्री ऋचा चड्ढाले पनि सलमानको भनाइको समर्थन गर्दै मानिसले अनावश्यक ट्रोलिङलाई महत्त्व दिन नहुने धारणा व्यक्त गरेकी छन्। उनले विशेषगरी महिलाको शरीर र रूपरंगलाई लिएर गरिने आपत्तिजनक टिप्पणीप्रति प्रश्न उठाएकी छन्। तर, सबै प्रतिक्रिया समर्थनमा भने छैनन्।
‘बिग बोस ७’ की पूर्वप्रतियोगी तथा मोडल–अभिनेत्री सोफिया हयातले सलमानको अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्। उनले सलमानको पुरानो भिडियो क्लिप सेयर गर्दै आफू ‘बिग बोस’ मा सहभागी हुँदा सलमानले आफ्नो शरीर र अनुहारबारे टिप्पणी गरेको आरोप लगाएकी छन्। उनले सलमानको पछिल्लो भनाइलाई ‘पाखण्डी’ व्यवहारसँग तुलना गरेकी छन्। यसले सलमानको पछिल्लो अभिव्यक्तिलाई समर्थन र आलोचना दुवैतर्फबाट बहसमा ल्याएको छ।
सलमानको पछिल्लो भनाइलाई ‘पाखण्डी’ व्यवहारसँग तुलना गरेकी छन्। यसले सलमानको पछिल्लो अभिव्यक्तिलाई समर्थन र आलोचना दुवैतर्फबाट बहसमा ल्याएको छ।
बहस एआईमा मात्र सीमित छैन
सलमानले उठाएको विषयको दायरा एआईबाट बनेका नक्कली भिडियोमा मात्र सीमित छैन। उनको अभिव्यक्तिले अहिलेको डिजिटल संसारमा कुन सामग्री वास्तविक हो र कुन नक्कली हो भन्ने छुट्याउने चुनौती, व्यक्तिको आवाज तथा अनुहारको दुरुपयोग र सामाजिक सञ्जाल प्रयोगकर्ताको जवाफदेहिताजस्ता प्रश्नलाई पनि अगाडि ल्याएको छ।
प्रविधि तीव्र रूपमा विकसित हुँदै जाँदा केही सेकेन्डमै वास्तविकजस्तो देखिने आवाज र भिडियो बनाउन सकिने अवस्था बनेको छ। यस्तो अवस्थामा मनोरञ्जनका लागि बनाइएको सामग्री र कसैको प्रतिष्ठामा असर पार्ने गरी तयार गरिएको नक्कली सामग्रीबीचको सीमा अझ महत्त्वपूर्ण बन्दै गएको छ।
सलमानले यही बदलिँदो डिजिटल परिवेशमा कानुनी नियमन र सामाजिक सञ्जाल प्रयोगको जिम्मेवारीबारे प्रश्न उठाएका हुन्। तर, उनको आफ्नै अभिव्यक्तिमाथि उठेका आलोचनाले अर्को प्रश्न पनि थपेको छ- अरूको व्यवहारबारे बोल्ने सार्वजनिक व्यक्तिले आफ्ना विगतका अभिव्यक्ति र व्यवहारलाई कसरी हेर्नुपर्छ ?
यसैले ‘बिग बोस २०’ मा सलमानले उठाएको विषय एउटा सेलिब्रिटीको व्यक्तिगत गुनासोमा मात्र सीमित नभई एआईको दुरुपयोग, डिजिटल जवाफदेहिता, पापाराजी संस्कृति र सेलिब्रिटीको निजी अधिकारबीचको जटिल बहसका रूपमा अगाडि आएको छ।














प्रतिक्रिया